मन्त्रिपरिषद् हेरफेर : कुन, कुन मन्त्री र मुख्यमन्त्री धरापमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन गठन गरिएको कार्यदलले दिएको प्रतिवेदनमा संघीय तथा प्रदेश सरकारको हेरफेर गर्ने सुझाव दिएको थियो ।

पार्टीले दिएको सुझावअनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुनाइसकेका छन् । जसअन्तर्गत पहिलो चरणमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने र दोस्रो चरणमा प्रदेश सरकार पुनर्गठन गर्ने ओली–प्रचण्डले तयारी गरेको स्रोतले बताएको छ ।

पार्टीभित्रको शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरू तथा प्रदेश सरकारका मुख्यमन्त्रीहरूको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने विषय नेकपाको सचिवालयमा केही समय पहिलेदेखि नै उठ्दै आएको थियो । पार्टीभित्र रहेको गुटको सन्तुलन मिलाउन समेत मन्त्रिपरिषद् हेरफेर हुने अनुमान गरिएको छ ।

नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच गत भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी चलाउने सहमति भएको थियो । स्रोतका अनुसार केही मुख्यमन्त्रीहरू समेत फेरबदल गर्ने तयारी भएको स्रोतको भनाइ छ । 

दुई वर्ष मन्त्री भइसकेका र राम्रो पर्फर्मेन्स देखाउन नसकेका केही मन्त्रीहरू परिवर्तन हुनसक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । मन्त्री र मुख्यमन्त्रीलाई बिदाइ गरेर नयाँ मुख्यमन्त्री नियुक्त गर्न ओली–प्रचण्डबीचमा सहमति समेत भइसकेको स्रोतको भनाइ छ । 

पार्टी विवाद समाधानका निम्ति नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको कार्यदलले पार्टीसँग समन्वय गरी मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गर्नसक्ने सुझाव दिएको थियो । 



अधिकांश मन्त्रीको पद जानसक्ने

कम्तीमा पनि १० वटासम्म मन्त्रीहरू परिवर्तन हुनसक्ने सम्भावना रहेकाले ओली सरकारका केही मन्त्रीहरूबाहेक बाँकी मन्त्रीहरूको पद जानसक्ने स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अबको क्याबिनेटमा सामेल नगर्ने बताएका छन् भने गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई नहटाउने भनेर अध्यक्ष प्रचण्डलाई भनिसकेका छन् । यद्यपि यसको विषयमा अन्तिम अवस्थासम्म के हुन्छ भन्ने बारेमा भने टुंगो लागिसकेको छैन । केही गरी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भइहालेमा उनको समूहबाट शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेलले बिदा लिनुपर्ने हुन्छ ।



सुरुमा मन्त्री बनेका सबैलाई हटाइने मापदण्ड बन्यो, भने कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे बाहेक सबैजना बिदा हुनसक्ने बताइएको छ । तर यसविषयमा प्रधानमन्त्री स्वयंले गृहमन्त्री थापा र रक्षामन्त्री पोखरेलको हकमा अडान लिएरै त्यो सम्भावनालाई धमिलो बनाइसकेका छन् ।

यी मुख्यमन्त्री जसको पद धरापमा छ

स्रोतका अनुसार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा छ । यी मुख्यमन्त्रीको पद धरापमा भएको हल्लासँगै यस क्षेत्रको केही नेताहरूको मुख्यमन्त्रीका लागि दौडधुप समेत गर्दै आएका छन् भने ती मुख्यमन्त्रीहरूको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको बताइएको छ । 

केही दिन अघि सञ्चारमाध्ययमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्रीले पनि पार्टीले चाहेको अवस्थामा परिवर्तन हुनसक्ने संकेत गरेका थिए । उनले भनेका थिए, ‘मेरो जिम्मेवारी पाँच वर्षका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिका हिसाबले प्रदेशसभामा छु । प्रदेशसभा दलको नेताको हैसियतमा म मुख्यमन्त्री छु । त्यो जिम्मेवारीलाई मैले आफ्नो कर्तव्य सम्झिएको छु । पार्टीले आवश्यकता ठान्दासम्म म प्रदेशको मुख्यमन्त्री हुँ ।’

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको निकट भनिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई पनि फेरबदलमा पर्नसक्छन् । तर राष्ट्रपतिको निकट भएका कारण राई बच्नसक्ने सम्भावना पनि देखिन्छ । 

मन्त्रीका आकांक्षीको घरदैलो 

नेकपाभित्र मन्त्रिपरिषद् परिवर्तन हुने कुरा आइतबार बस्ने सचिवालयको बैठकमा समेत छलफल हुँदैछ । नेकपाभित्रका धेरै नेताहरू छन्, जसले अहिले मन्त्री बन्ने दौडधुपमा रहेका छन् । 

मन्त्रिपरिषद् फेरबदल हुने हल्ला चलिरहँदा पूर्व एमालेका तर्फबाट नेकपा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायतका नेताहरू मन्त्री बन्ने लाइनमा छन् । त्यस्तै पूर्व माओवादीका तर्फबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा रहेको छ ।

नयाँको हकमा कसलाई ल्याउने र बाँकी कसलाई हटाउने भन्नेमा कुनै रिजर्भेसन नभएको र आफू यसमा खुला भएको प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई बताइसकेको स्रोतको भनाइ छ । मन्त्री परिवर्तन गर्ने हल्ला चलेसँगै नेकपाका केही नेताहरूले घरदैलो सुरु गरिसकेका छन् । 

असार १० बाट सुरु भएको नेकपाको आन्तरिक विवाद अहिलेका लागि समाधान भएको छ । पार्टी विवाद समाधान भएसँगै नेताहरू अहिले सरकारका मन्त्री परिवर्तन गर्ने कार्यमा लागिरहेका छन् । 

संविधानले २५ जनासम्म मन्त्री बनाउन सक्ने व्यवस्था गरेको छ । त्यसका कारण तीन राज्यमन्त्रीको सट्टा तीन मन्त्रालय अलग अलग पारेर तीनजना क्याबिनेट मन्त्री पठाउने तयारीमा बालुवाटार रहेको चर्चा चल्न थालेको छ । अहिले २२ मन्त्रालय अस्तित्वमा रहेका छन । राज्यमन्त्री हटाएर २५ वटा मन्त्रालय बनाउने तयारी रहेको बताइएको छ ।

  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १३:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया