व्यवस्थापन गर्न जानेनौँ भने कोरोनाले शिक्षा क्षेत्रलाई खाल्डोमा पुर्छ : शिक्षाविद् कोइराला

तिव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व आतंकित बनेको छ । सबैजसो देशको आर्थिक तथा शैक्षिक गतिविधि ठप्प छ । नेपालमा पनि २०७६ चैत्रदेखि नै सबै शैक्षिक संस्थाहरू बन्द छन् । नेपाल सरकारले विद्यार्थीलाई दूर शिक्षा प्रणालीबाट शिक्षा दिने नीतिलाई पछ्याउँदै पठनपाठन क्रियाकलाप सञ्चालन गर्न थालेको छ । कोरोना महामारीबीच विद्यार्थी घरमै बसेको ६ महिना भइसकेको छ । लामो समय शैक्षिक संस्था बन्द हुँदा अब नेपाली शिक्षा कुन बाटोमा जान्छ ? यो सबैको चासोको विषय बनेको छ ।

शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालासँग यसको सिधा जवाफ छ, ‘हामीले जान्यौँ भने कोभिडले शिक्षालाई राम्रो बाटोतर्फ लैजान्छ, जानेनौँ भने खाल्डोमा हाल्छ’, कसरी ? कोइराला भन्छन्– कोरोना महामारीको समय ७ महिनासम्म विद्यार्थीहरूले आफ्नो अभिभावकसँग समय बिताएका छन् । यही समय विद्यार्थीले आफ्नो परिवार र जीवनसँग धेरै सिक्ने मौका पाएका छन् । त्यो सिकेको कुरालाई सरकारको पाठ्यक्रमसँग जोड्न जान्यो भने अझै केही बिग्रिँदैन । सरकारले व्यावहारिक जीवनका कुरा पाठ्यक्रमसँग जोड्ने पनि भनेको छ ।

यसमा व्यावहारिक जीवन मात्र नभएर रेडियो, टिभी, इन्टरनेट र शिक्षकले लकडाउनमा विद्यार्थीलाई पढाउन अपनाएको विधि यी सबै कुरा पाठ्यक्रममा जोड्न सकिन्छ । यसो गरेमा शैक्षिक सत्र खेर जाँदैन । तर, बुझ्नेले कसरी बुझेका छन् । शैक्षिक संस्था, शिक्षक र अभिभावकले कसरी बुझेका छन् भन्ने कुराले पनि ठूलो अर्थ राख्छ ।

फेरि यहाँ अर्को एउटा शिक्षक, अभिभावक, प्रशासनको जमात छ जो स्कुल खुलोस् भन्ने नै चाहँदैन । विभिन्न दलका नेता र शिक्षाविदले शैक्षिक सत्र जेठसम्म सञ्चालन गरौं भनिरहेका छन् । त्यसो गर्दा हरेक वर्ष शैक्षिक सत्र धकेलिँदै जान्छ र शैक्षिक व्यवस्थापन झन् भद्रगोल हुन्छ । त्यसैले यो शैक्षिक सत्र खेर जान नदिने उपाय भनेको विद्यालय तहका विद्यार्थीको झण्डै २ त्रैमासिकको पढाइ र क्याम्पस तहका विद्यार्थीको एक सेमेस्टरको पढाइमा उनीहरूले घरमा सिकेका कुरा खप्टिएर परीक्षा लिनु नै हो ।

यसरी व्यवस्थापन गर्न सरकारले सकेन भने आउँने वैशाखमा विद्यालयमा दुई तहका विद्यार्थी एउटै कक्षामा हुन्छन् । अनि स्कुल, कलेजले कसरी व्यवस्थापन गर्ने ? शिक्षक र कक्षाकोठा कहाँबाट ल्याउँने ? झन् ठूलो समस्या सिर्जना हुन्छ । सरकारले पछिल्लो समय घरमा सिकेका कुरा पनि समेटेर परीक्षा लिने निर्णय गरेको छ यसलाई म सरकारको कुबुद्धि भन्छु । किनभने निर्णय प्रकृयामा ढिलो भयो । सरकारले बेलैमा शिक्षकलाई पढाउने कला सिकाइदिने, प्रविधिसँग अभ्यस्त बनाइदिने, व्यावहारिक ज्ञानका कुरा पाठ्यक्रमसँग जोड्ने काम गर्नुपथ्र्यो । अब पनि त्यही नै गर्नुपर्छ ।

एकथरि मान्छेको भीडले दूर शिक्षा सबै विद्यार्थीका लागि सम्भव छैन भन्दै विरोध गरिरहेका छन् । दूर शिक्षाको अभ्यास नेपालमा नौलो हो यो सबैको पहुँचमा छैन भन्नु बाहानावाजी हो भन्ने मलाई लाग्छ । नेपालमा दूर शिक्षाको सामान्य अभ्यास विसं. २००८ सालदेखि सुरु भएको हो । सन् १९७८ मा दूर शिक्षा कार्यक्रम केन्द्रको स्थापना गरेर शिक्षकको योग्यता बढाउने तालिम सुरु गरिएको थियो । त्यसैले यो नयाँ अभ्यास पटक्कै होइन । यसको प्रभावकारिता माथि प्रश्न उठ्नु स्वाभाविक कुरा हो ।



नेपालमा दूर शिक्षाको राम्रो प्रभावकारिता देखिँदैन । त्यसैले कोभिड–१९ लाई दूर शिक्षा प्रभावकारी बनाउँने राम्रो अवसरका रूपमा लिन सकिन्छ । त्यसका लागि जहाँ इमेल तथा इन्टरनेटको पहुँच छ त्यहाँ विद्यार्थीलाई विषयवस्तु दिएर खोज्न र स्वाध्ययन गर्न लगाउँने जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ ‘अफ लाइन’ सेन्टरहरूको स्थापना गर्ने । यस्ता अफ लाइन सेन्टर जहाँ विद्यार्थीलाई चाहिने ज्ञानका कुराहरू भण्डारण गर्ने चाहे त्यो छापेको होस् या रेकर्डिङ गरेका कुराहरू होऊन् । हो, त्यही सामग्रीहरू शिक्षकको सहयोगमा सुरक्षित तरिकाले विद्यार्थीसम्म प्रवाह गर्ने । रेडियो सुन्ने टेलिभिजन हेर्ने कुरा त छ नै । फेरि अहिले प्रायः सबै मानिससँग मोबाइल फोन हुन्छ । त्यसलाई पनि ज्ञान लिनेदिने काममा प्रयोग गर्न सकिन्छ । यसमा सरकार, विश्वविद्यालय, स्कुल, केन्द्रीय सरकार र गाउँपालिकाहरू आक्रामक ढङ्गले लाग्नु पर्ने हो ।

हाम्रो सरकार जिम्मेवारी वहन गर्नभन्दा पनि काम टार्नतिर अग्रसर भइरहेको हुन्छ । यसले विद्यार्थीलाई मर्कामा पार्छ । आज एउटा राष्ट्रिय रेडियोमा गणित पढाउँने क्रममा ‘वर्ग’ शीर्षकको क्लास हुँदैछ भने त्यो पूर्वदेखि पश्चिमसम्मका विद्यार्थीले नबुझ्न सक्छन् । प्रवाह गर्नेले के भन्नु पर्यो भने ‘वर्ग’ भनेको चारपाटे आकृति हो जसको चार ओटै पाटा बराबर हुन्छन् । यसो भन्दा फेरि सहरका बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीले बुझ्दैनन् । उनीहरूलाई यही कुरा प्रवाह गर्दा ‘स्वाक्यर’ भनेर गर्नुपर्यो ।



त्यस्तै नेपालमा धेरै जातजाति, भाषाभाषीका मान्छेहरू बस्छन् । उनीहरूबीच भौगोलिक विविधता पनि छ । त्यसैले शैक्षिक कार्यक्रम प्रस्तुत गर्दा स्थानीय रेडियो र टेलिभिजनसँग सहकार्य गरेर स्थानीयस्तरकै भाषा र तरिकामा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । यसो गरेमा मात्र विद्यार्थीले सहज तरिकाले बुझ्छन् । यसरी दूर शिक्षालाई प्रभावकारी बनाउँदै लैजानुपर्छ । 

अर्को प्रविधिको मज्जा भेराइटिज हो भन्ने बुझ्नुपर्छ । प्रविधिले यति सजिलो बनाइदिएको छ कि एउटा शैक्षिक सामग्री इन्टेरनेटमा खोज्नु प¥यो भने कसको स्वरमा चाहिने, कति मिनेटको चाहिने सबै उपलब्ध हुन्छ । लिखित सामग्री आफ्नो सहजताअनुसार जुम गरेर हेर्न सकिन्छ । हामीलाई किताबमा त्यो सुविधा कहाँ हुन्छ र ? एउटै विषयबारे धेरैवटा वेबसाइट र गुगलमा खोज्न सकिन्छ ।

यसले हामीलाई तुलना गर्न, समानता र भिन्नता छुट्याउन मद्दत गर्छ । त्यसैले किताब पढेर र कक्षा कोठामा राखेर पढाउनु भन्दा मिडियाको माध्यमबाट पढ्दा सय गुणा बढी उपयोगी हुन्छ भन्ने मलाई लाग्छ । लकडाउन भयो, शैक्षिक संस्था बन्द भयो भन्दैमा सिक्ने, सिकाउँने क्रम रोकेर शैक्षिक सत्र खेर फाल्नै हुँदैन । व्यवस्थापन गर्दै लैजानुपर्छ ।

हिजोको दिनमा सधै शिक्षा सैद्धान्तिक भयो, व्यावहारिक शिक्षा चाहियो भन्ने हामी नै हौँ । जब अहिले विद्यार्थी खेतका फाँट, सुन्दर प्रकृति, गाउँले परिवेश, मकै फलेको, धान गोडेको हेरेर सिकिरहेका छन् भने विश्वविद्यालय र स्कुलको बोरिङ लेक्चर ठप्प छ भन्दैमा एक वर्ष नै किन खेर फाल्ने ? यी सबै कुरालाई समेटेर प्रश्न पत्र बनाएर सुरक्षित तरिकाले परीक्षा लिँदा हुन्छ । अनि कक्षा उकाल्दा केही फरक पर्दैन । विद्यार्थीले पढेर पास गर्नै पर्ने विषय अल्फा, बिटा, थिटा मात्र होइन । उनीहरूले जीवनको गणितको पनि परीक्षा दिनु पाउनुपर्छ र यो आवश्यक पनि छ । 

‘एसइई’ मा यो साल अचम्मको नतिजा आयो । अरू वर्षको तुलनामा धेरै विद्यार्थीले ए प्लस ल्याएर उत्तीर्ण भए । हामीले अब यही कुरालाई इस्स्यु बनाउनु जरुरी छैन । किनभने यो सालको ‘एसइई’ नभएर कक्षा १० को परीक्षा मात्र हो । यसमा आन्तरिक मूल्याङ्कन भएको छ जसलाई गलत भन्न मिल्दैन । कुरा यति मात्रै हो कि विद्यार्थीले जुन ग्रेड ल्याए पनि उनीहरूले पढ्न चाहेको विषयमा रोकावट हुनु भएन । यसो गरेमा कक्षा ११ मा भर्ना गर्न सजिलो हुन्छ ।

आफ्नो विषयमा विद्यार्थीले पनि राम्रो गर्न सक्छन् । त्यसैले कोभिडले हाम्रो शिक्षा क्षेत्रलाई चुनौती दिएको छ । हामी यो अवस्थामा टक्क रोकिने होइन चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्छ । प्लस टु, ब्याचलर्स र मास्टर्स लेवलका विद्यार्थीलाई पनि परीक्षा अड्काएर राख्नुहुँदैन । एउटा विषयवस्तु दिएर रिसर्च गर्न लगाएर परीक्षा लिनुपर्छ । यदि हामी गर्न नजानेर रोकियौँ भने शिक्षा क्षेत्र धरापमा पर्छ ।

मनीषा पौडेलसँगको कुराकानीमा आधारित

  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १८:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया