आइपिएलको तेह्रौं संस्करण सेप्टेम्बर १९ बाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको छ र अन्य देशहरूमा जस्तै नेपालमा पनि यसको रौनक सुरु भइसकेको छ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सको टोलीमा समावेश भएकाले पनि नेपालमा यसलाई विशेष चासो दिइन्छ ।
उनी दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न लागे पनि अन्य फ्रेन्चाइज लिगहरूमा जस्तो आइपिएलमा भने मौका पाउन सकेका छैनन् । सन्दीपले
अघिल्ला दुई सिजनमा मात्र ८ खेल खेल्दा १३ विकेट लिएका छन् ।
सन्दीपले पाएका मौकामा आपूmलाई प्रमाणित गरिसकेका छन् तर दिल्लीको सुरुवाती खेलमा मौका भने पाउन सकेका छैनन् ।
दिल्लीले आइपिएलको पहिलो खेलमा गए राति किंग्स ११ पञ्जावसँग खेलिसेकेको छ । उक्त खेलमा सन्दीप टिममा पर्ने धेरैले अनुमान गरेका थिए । युएईको स्पिन सुहाउँदो पिच तथा भर्खरै सम्पन्न क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा उच्च प्रदर्शन गरेकाले सन्दीप मैदानमा उत्रन पाउनेमा धेरैले विश्वास लिएका थिए ।
जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले ११ खेलबाट १२ विकेट लिएका थिए तर सबैको अनुमान विपरीत दिल्लीले सन्दीपलाई बेन्चमा राख्दै लिगको सुरुवात गरेको छ । यसले सम्पूर्ण नेपाली तथा सन्दीपका समर्थकहरूलाई निरास बनाएको छ ।
यी कारणहरूले गर्दा सन्दीपले दिल्लीमा धेरै मौका नपाएको अनुमान लगाउन सकिन्छ ।
प्रशिक्षक तथा कप्तानले विश्वास नगर्नु
सन्दीपले अन्य लिगहरूमा जतिसुकै राम्रो प्रदर्शन गरे तापनि आइपिएलमा दिल्लीको सुरुवाती खेलमा मौका पाउन सकिरहेका छैनन् । अझै पनि प्रशिक्षक रिंकी पोन्टिङ्ग तथा कप्तान श्रेयस अयरले उनलाई विश्वास गरिरहेका छैनन् ।
हुन त दिल्ली युवा खेलाडीहरूलाई बढी मौका दिने टिमका रूपमा चिनिन्छ तर सन्दीपले भने खासै मौका पाउन सकिरहेका छैनन् । टिममा रविचन्द्रन आश्विन अमित मिश्रा जस्ता अनुभवी तथा राम्रा स्पिनर हुनाले पनि प्रशिक्षक तथा कप्तानको नजरमा सन्दीप पर्न सकेका छैनन् ।
विदेशी खेलाडीहरूबीच उच्च प्रतिस्पर्धा
दिल्लीमा सन्दीप लामिछानेभन्दा उच्चस्तरका विदेशी खेलाडीहरू छन् । आइपिएलको नियम अनुसार एक पटकमा मात्र ४ विदेशी खेलाडीलाई मैदानमा उतार्न पाइन्छ । त्यसैले पनि सन्दीपले विदेशी कोटाबाट सुरुवाती ११ मा पर्न निकै संघर्ष गर्नु परेको छ ।
दिल्लीमा कगिसो रावडा, मार्कस स्टोनिस, सिम्रन हिटमायर, किमो पल, डानियल साम्स जस्ता विश्वस्तरीय खेलाडी छन् । यी खेलाडीहरूलाई छाडेर दिल्लीले सन्दीपलाई मौका नदिएको हुनसक्छ ।
आगामी खेलमा सम्भावना कस्तो
दिल्ली दोस्रो खेल २५ सेप्टेम्बरमा चेन्नाइ सुपर किंग्सविरुद्ध खेल्दैछ । सन्दीपले यो खेलमा पनि स्थान बनाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । हिजोको खेलमा चोट बोकेका स्पिनर रविचन्द्रन आश्विनले आगामी खेल गुमाउने सम्भावना बढेको छ यसले सन्दीपलाई केही फाइदा पुग्न सक्छ तर दिल्लीले उनलाई भन्दा अमित मिश्रालाई मौका दिन सक्छ ।
त्यस्तै विदेशी कोटामा हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मार्कस स्टोनिस तथा कगिसो रावडाको स्थान सुरक्षित जस्तै छ । हिजोको खेलमा खासै राम्रो प्रदर्शन नगरेका सिम्रन हिटमायर तथा एनरिच नोर्टजेलाई दिल्लीले परिवर्तन गर्न सक्छ तर यी दुईको स्थानमा डानियल साम्स तथा किमो पलले मौका पाउने धेरै सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।