एकातिर विश्व अहिले कोरोनाभाइरससँग लडिरहेको छ । चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरसका कारण अहिले विश्व प्रताडित भएको छ । अर्कोतिर चीनमा उत्तर पश्चिमी क्षेत्रमा रहेको गैन्सु प्रान्तको लानजोउ सहरमा सयौँ मानिस अब अर्को नयाँ संक्रमणका कारण पीडित भएका छन् ।
यो संक्रमण फैलिनुको कारण हो, ब्रुसेलोसिस ब्याक्टेरिया । यसका कारण अहिले त्यहाँ सयौँ मानिसहरु संक्रमित भएका छन् ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गैन्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण ३ हजार २ सय ४५ जनाभन्दा बढी समस्या परेको जनाएको छ ।
गत सोमबार मात्र यसको परीक्षण भएको र यसका कारण हजारौँ मानिस संक्रमित भएको बताइएको छ । २१ हजार मानिसमा गरिएको परीक्षणमा अब ४ हजार ६ सय ४६ जना संक्रमित देखिएका छन् । त्यहाँका अधिकारीहरुले यो संख्या अझ बढ्न सक्ने बताएका छन् ।
यो पत्रिकाका अनुसार ११ सरकारी अस्पतालहरुलाई यो ब्याक्टेरियाविरुद्ध परीक्षण र उपचार गर्न तोकिएको छ ।
ब्रुसेलोसिस एक ब्याक्टेरिया हो जसले खासमा गाई, भैंसी, बाख्रा तथा कुकुरहरुमा समस्या देखिन्छ । यदि संक्रमित जनवारको सम्पर्कमा आएको खण्डमा मानिसमा पनि यो संक्रमण हुनसक्छ ।
संक्रमित पशुको उत्पादन खाँदा वा हावाबाट नै यो ब्याक्टेरिया फैलिन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार दूध र पनिरबाट पनि यो ब्याक्टेरिया मानिसमा सर्न सक्छ । तर, मानिसबाट मानिसमा यो ब्याक्टेरिया सर्ने सम्भावना अत्यन्त कम भएको स्वास्थ्य संगठनले जनाएको छ ।
तर, यसको उपचार अहिले सम्भव छ र यसको उपचारका लागि कम्तिमा पनि एक डेढ महिना लाग्न सक्ने बताइएको छ ।
संक्रमण भइसकेपछि यो ब्याक्टेरियाका कारण हुने लक्षण देखिन एक सातादेखि दुई महिनासम्म लाग्न सक्ने बताइएको छ । अधिकांशमा चाहिँ यसको लक्षण २ देखि ४ सातामा देखिएको छ ।
ज्वरो आउनु, अत्यधिक पसिना आउनु, थकान महसुस हुनु र तौल घट्दै जानु तथा मांसपेशीमा समस्या देखिनु यसका लक्षण हुन् ।
केही लक्षणहरु लामो समयसम्म रहन सक्ने र केही लक्षण तत्काल हराउन पनि सक्ने बताइएको छ ।
यो ब्याक्टेरिया गत वर्ष जुलाई तथा अगस्टमा एक फ्याक्ट्रीबाट फैलिएको चीनले मानेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।