फरकधार फलोअप
राजीनामा दिँदैछन् बैंक अफ काठमाण्डूका सिइओ पन्त

पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चुकेको बैंक अफ काठमाण्डूमा अब छिट्टै नेतृत्व परिवर्तन हुने भएको छ । सोमबार बैंकमा बसेको सन्चालक समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले आफू राजीनामा दिन तयार भएको बोर्डसामु बताएका छन् ।

तर, पन्तले कहिले राजीनामा दिने हुन् भन्ने टुङ्गो लागिसकेको छैन । 

पन्तमाथि चार वर्षअघि लुम्बिनी बैंक र बैंक अफ काठमाडौं मर्जर भएपछि बनेको नयाँ संरचनामा तत्कालीन बैंक अफ काठमाडौंबाट आएका उच्चपदस्थ अधिकारीमाथि लामो समयदेखि विभेद गरेको आरोप लाग्दै आएको थियो । आफूसँग सामान्य विषयमा पनि मतभेद भएका कर्मचारीलाई सिइओ पन्तले बर्खास्त समेत गरेका थिए । कतिपयलाई उनले अवैधानिक रुपमा सरुवासमेत गरेका थिए ।

यसबारे फरकधारले समाचार केही समयअघिदेखि फलो गर्दै आएको थियो । 

 

फरकधारमा यसबारे यसअघि छापिएका समाचार पढ्नुहाेस्:



बैंक अफ काठमाण्डूमा ‘गैरकानुनी’ कामः कर्मचारी सरुवा गर्न सिइओ पन्तले गरे अनाधिकृत रुपमा नियमावली परिवर्तन

बैंक अफ काठमाडौंका सिइओको बर्बरताः ​उच्चपदस्थ कर्मचारीलाई दुर्गम सरुवादेखि, बर्खास्तगीसम्म



​​मर्जरपछिका बैंकमा कर्मचारी व्यवस्थापन भाँडभैलो

‘सोमबारको बैठकमा पछिल्लो समय बैंकमा देखिएका यस्ता विवाद र राष्ट्र बैंक तथा श्रम अदालत र अन्य अदालतहरुमा परेका मुद्दाबारे छलफल भयो,’ बैंक अफ काठमाण्डूका एक सन्चालकले फरकधारसँग भने, ‘त्यही छलफलमा सिइओ पन्तले आफू राजीनामा दिन तयार भएको बताएका हुन् ।’

सिइओ पन्तको राजीनामा दिने यो निर्णयसम्म आइपुग्नका लागि बैंक अफ काठमाण्डूमा भएका केही घटनाहरुलाई बुझ्नु पर्ने हुन्छ । ती घटनाक्रमबारे चर्चा गरौँ । 

चार वर्षअघि लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्जर भएपछि तत्कालीन बैंक अफ काठमाण्डूका सिइओ अजय श्रेष्ठले नै सिइओमा निरन्तरता पाएका थिए । तर, ६ महिनामा नै उनको सन्चालक समितिसँग विवाद बढ्यो, उनले राजीनामा दिए । त्यसपछि मर्जरअघि लुम्बिनी बैंकका सिइओ रहेका शोभनदेव पन्तलाई सन्चालक समितिले बैंक अफ काठमाण्डूको सिइओमा नियुक्त गर्यो ।

केहीअघि फरकधारको सम्पर्कमा आएका बैंकबाट निकालिएका र बैंकमा आफूलाई अन्याय भयो भन्ने कर्मचारीहरुका अनुसार सिइओ पन्तले त्यसपछि बैंक अफ काठमाण्डूमा लामो समय तत्कालीन लुम्बिनी बैंकका कर्मचारीलाई मात्रै प्राथमिकतामा राखे । र, विस्तारै तत्कालीन बैंक अफ काठमाण्डूका कर्मचारीलाई दबाबमा बैंक छोड्न बाध्य पारे ।

पछिल्लो समय देशमा कोरोना महामारी बढिरहेको समयमा पनि पन्तका यस्ता गतिविधि रोकिएनन् । बैंकका एसिस्टेन्ट जनरल म्यानेजर पुष्पराज भण्डारी पनि पन्तको यही कोपभाजनमा परे । भण्डारीलाई बैंक अफ काठमाण्डौंको विनयमावली रातारात परिवर्तन गरेर पन्तले सुर्खेत सरुवा गरे । बैंक अफ काठमाण्डौंको कर्मचारी व्यवस्थापन विनियमवालीमा म्यानेजरभन्दा माथिको पदका कर्मचारीलाई बैंकको मुख्य कार्यालयबाट बाहिर सार्न नपाउने व्यवस्था गरिएको छ । 

आफूमाथि विभेद भएको भन्दै भण्डारी राष्ट्र बैंक पुगे, श्रम अदालत पुगे । उनले श्रम अदालत र राष्ट्र बैंकमा उजुरी दिँदा बैंक अफ काठमाण्डूकै प्रबन्धक सुदीप पौडेलले पनि उजुरी दिइसकेका थिए, त्यसमाथि श्रम अदालतको निर्णयको प्रतीक्षामा उनी थिए । (श्रम अदालतले सुदीप पौडेलको पक्षमा निर्णय गरिसकेको छ ।)

श्रम अदालत र राष्ट्र बैंकबाट बारम्बार प्रश्न सोध्न थालिएपछि, बैंकभित्र कर्मचारीहरुले विभेदविरुद्ध आवाज उठाउन थालेपछि र सन्चालक समितिले पनि बैंकको खस्कँदो अवस्थाबारे प्रश्न गर्न थालेपछि सिइओ पन्त राजीनामा दिन तयार भएका हुन् । 

सोमबार बसेको सन्चालक समितिको बैठकमा सिइओ पन्तले आफू बैंकको सिइओ पदबाट राजीनामा दिन तयार भएको तर त्यसका लागि केही दिन आफूलाई दिन अनुरोध गरेका बैंक अफ काठमाण्डू सन्चालक समितिका एक सदस्यले फरकधारलाई जानकारी दिए । ‘अहिलेकै अवस्थामा राजीनामा दिँदा गलत सन्देश जान्छ, दुईचार दिन दिनुहोस्, म आफैं राजीनामा दिन्छु,’ सिइओ पन्तलाई ती सन्चालक समितिका सदस्यले उद्धृत गरे ।

अर्कोतिर बैंक अफ काठमाण्डूको सुर्खेत शाखामा सरुवा गरिएका भण्डारीको पक्षमा राष्ट्र बैंक देखिएको छ । बैंकले ४ असोजमा मात्र यसबारे निर्णय गरेको छ । राष्ट्र बैंकले यसअघि पनि भण्डारीले उजुरी दिएपछि बैंक अफ काठमाण्डूलाई प्रष्टीकरण सोधेको थियो । यसको जवाफ सिइओ पन्तले पठाएका थिए । उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै राष्ट्र बैंकमा भएको निर्णय हिजो मात्र बैंक अफ काठमाण्डूमा पुगेको छ । 

तर, पन्तले सोमबार बसेको सन्चालक समितिको बैठकमा नेपाल राष्ट्र बैंकको जवाफबारे केही उल्लेख नगरेको ती सन्चालक समितिका सदस्यले बताए । उनले भने, ‘राष्ट्र बैंकबाट हामीले दिएको जवाफको कुनै प्रत्युत्तर आएको छैन भन्ने कुरा भयो ।’

उनका अनुसार अब केही दिनमा नै सिइओ पन्तले बैंक अफ काठमाण्डूबाट राजीनामा दिनेछन् ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ९:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया