शिक्षा मन्त्रालयले ल्यायो ‘होम स्कुलिङ’को आकस्मिक कार्ययोजना

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ ।

कोरोनाका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोरोनाका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवर्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ ।

भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए । शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए । 

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ । महामारीका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकाले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफलपछि कार्ययोजना निर्माण गरिएको हो । मन्त्रिपरिषद्को गत असोज १ को निर्णयबाट विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १८:१३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया