नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लाखौँ कार्यकर्ता भए पनि पार्टी निर्जीवजस्तो भएको दुःखेसो पोखेका छन् । सहाना प्रधान स्मृति प्रतिष्ठानको छैटौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले आशा जगाउन नसकेको गुनासो गरेका छन् ।
जुममार्फत गरिएको भर्चुअल सम्बोधनमा उनले भने, ‘पार्टी सरकारमा छ, लाखौँ कार्यकर्ता छन्, यति ठूलो जनमत पाएका छौँ । तर, पनि पार्टी जीवन हराएजस्तो, ऊर्जा नभएजस्तो भविष्यप्रतिको आशा हराएजस्तो भएको छ ।’
सहाना प्रधान नेपाली कम्युनिष्ट आन्दोलनको एक शिखर व्यक्तिका रुपमा रहेको भन्दै अध्यक्ष दाहालले पार्टी र देशलाई गति दिन युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । आफू, मदन भण्डारी र सहाना प्रधानले युवा अवस्थामा नै कम्युनिष्ट आन्दोलनलाई गति दिएको उनको दाबी थियो ।
पार्टीमा देखिएको विवादका सम्बन्धमा बोल्दै उनले विवादबाट नै गतिशीलता जन्मिने बताए । नेकपामा पछिल्लो समय भएको वादविवाद पनि त्यसकै कडी भएको दाहालको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।