प्रधानमन्त्रीले किन भने नयाँ नक्सा भएको पुस्तक वितरण नगर्नू ?
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा समेटिएको पुस्तक वितरणमा रोक लगाउन निर्देशन दिएका छन् । नयाँ नक्सा समेटिएको पुस्तक अहिले तत्काल प्रकाशन पनि नगर्नु र वितरण पनि नगर्नु भन्ने प्रधानमन्त्रीको निर्देशनको व्यापक विरोध हुन थालेको छ ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तकमाथि प्रधानमन्त्रीले रोक लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठकमा यो निर्देशन दिएको भन्दै समाचारहरु आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक विरोध र आलोचना सामाजिक सन्जालहरुमा भइरहेको छ । 

आखिर प्रधानमन्त्री ओलीले किन दिए त यस्तो निर्देशन ? 

यसका लागि केही तथ्यहरु पहिले बुझ्नु जरुरी छ । नेपालको संसदले पनि पारित गरिसकेको र निशाना छापमा समेत समेटिएको नेपालको नयाँ नक्सा आएपछि भारतले यसको विरोध गर्दै आएको छ । लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको क्षेत्रलाई पनि समेटेर ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको कूल क्षेत्रफल पनि फेरिएको छ । यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । तर, अब नयाँ नक्सा जारी भएसँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१.२८ वर्ग किलोमिटर भएको छ । यसअघि नेपालको नक्सामा छुटेका नाबी, कुटी, गुन्जीलगायतका क्षेत्रलाई नयाँ नक्सामा समेटिएपछि यो क्षेत्रफल बढेको हो ।



७ जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा गरेको घोषणाअनुसार यो नयाँ नक्सा मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । 

३१ जेठमा संघीय संसदबाट निर्विवाद रुपमा यो नक्सा पारित पनि भयो । 



तर, यही नक्सा समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका हुन् । उनले यसमा रोक लगाएसँगै उनको राष्ट्रवादमाथि पनि टिप्पणी हुन सुरु भइसकेको छ ।

आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले किन यस्तो निर्णय गरे त ? 

‘नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अझै एकिन भइसकेको छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले फरकधारलाई बतायो, ‘क्षेत्रफल नै एकिन नभइसकेकाले पुस्तकमा क्षेत्रफल उल्लेख गरिएको छ, त्यसैले यसको वितरणले नयाँ भ्रम सिर्जना गर्न सक्छ भनेर यो पुस्तकको वितरणमा रोक लगाइएको हो ।’

स्रोतका अनुसार पहिले क्षेत्रफल एकिन भएपछि मात्र यो पुस्तकको थप प्रकाशन र वितरण गर्ने प्रधानमन्त्री ओलीको योजना छ । 

‘अर्कोतिर भारतसँग यस विषयमा अहिलेसम्म सकारात्मक छलफल पनि हुन सकेको छैन,’ परराष्ट्र मन्त्रलायका एक उच्चपदस्थ अधिकारी बताउँछन्, ‘कूटनीतिक रुपमा पनि भारत थप नचिढियोस् भनेर अहिले यसलाई रोकिएको हुनसक्छ ।’

प्रधानमन्त्रीसँग नजिक एक मन्त्रीका अनुसार चाहिँ यो पुस्तक प्रकाशन भएर बजारमा पठाउनुअघि नेपालले भारतसँग कूटनीतिक वार्ता गर्ने र नेपालको क्षेत्रफलबारे पनि एकिन हुन केही समय लाग्ने भएकाले यसलाई अहिले तत्कालका लागि रोकिएको हो ।

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १२:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया