फेसबुकमा भाइरल ‘च्यालेन्ज’

विश्वव्यापी रुपमै सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्ता वृद्धिसँगै फेसबुकमा नयाँ–नयाँ आयाम पनि थपिइरहेका छन् । फेसबुक आफ्ना​ फोटा अपलोड गर्न र च्याटमा मात्रै सीमित छैन । यसको दायरा व्यापक भएको छ । यो सूचना र ज्ञान आदान–प्रदानको सहज र सुलभ माध्यम बनेको छ ।  

अहिले विश्वका कतिपय देशमा सरकार गिराउनेदेखि कसलाई सरकारमा पुर्याउने भन्ने कुरामा फेसबुकलगायत सामाजिक सञ्जालको भूमिका अग्रणी देखिन्छ । फेसबुकको प्रयोग व्यक्तिगत वा संस्थागत लाभका लागि मात्र नभई सामाजिक काममा पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । 

नेपालमै पनि व्यापार व्यावसायको प्रचारप्रसार मात्र होइन,  फेसबुकबाटै व्यापार चलाउने, विभिन्न प्रतियोगिता गर्ने र ती प्रतियोगिताका विजयी छान्न फेसबुकमा लाइक, कमेन्टको उपयोग गर्ने प्रचलन बढ्दै गएको छ । कसैलाई रगत चाहिँदा सहयोग माग्ने होस् या कोही हराउँदा उसको खोजी कार्यसमेत फेसबुकका कारण सम्भव भएको छ । 

पछिल्ला केही वर्षयता फेसबुकमा नयाँ ट्रेन्ड सुरु भएको छ– च्यालेन्ज । कोही फेसबुक प्रयोगकर्ताले आफ्ना साथीहरुलाई आफूले भनेको काम गर्न फेसबुकमार्फत च्यालेन्ज गर्छ । च्यालेन्ज गर्ने मान्छेले त्यो काम आफूले पनि गर्नुपर्ने हुन्छ । उसको च्यालेन्जलाई स्वीकार गर्दै अन्य प्रयोगकर्ताले त्यसको अनुसरण गरिरहेको देखिन्छ । यस्तो च्यालेन्ज फगत मनोरञ्जनका लागि मात्र होइन, समाजको सकारात्मक परिवर्तनका लागि पनि वरदान सावित भएको छ ।



दुई वर्षअघि ब्यारोन ए रोमन नाम गरेका अमेरिकी नागरिकले फोहोरको डंगुर सफा गरेको फोटो फेसबुकमा च्यालेन्जका रुपमा सेयर गरेका थिए । पछि, त्यो च्यालेन्जलाई संसारभरका धेरै मानिसले पछ्याए र फोहोर ठाउँलाई सफासुग्घर पारेर फेसबुकमा पोस्ट गर्न थाले । यो च्यालेन्जमा एउटा मान्छेले फोहोर सफा गर्नुअघि र सफा गरिसकेपछिको फोटो फेसबुकमा पोस्ट गरिएको थियो ।  ‘थ्री ह्यासट्याग’ नाम दिइएको यो च्यालेन्ज विश्वभर लामो समयसमम्म अनुसरण गरिएको थियो ।  

नेपालमा अहिले केही दिनयता फेसबुकमा दुईवटा च्यालेन्ज व्यापक चलिरहेका छन् । ती हुन्, फर्स्ट इम्प्रेसन च्यालेन्ज र कपल च्यालेन्ज । फर्स्ट इम्प्रेसन च्यालेन्जमा पोस्ट गर्ने व्यक्तिले आफ्ना साथीलाई आफूसँग पहिलोपटक भेट्दा कस्तो लागेको थियो भनेर सोध्छ, अर्थात् आफूसँग पहिलोपटक भेट्दाको अनुभव लेख्न आग्रह गर्छ । 



दोस्रो च्यालेन्जमा फेसबुक प्रयोगकर्ताले आफ्नो श्रीमान् वा श्रीमतीसँगको ‘जोडी’ फोटो अपलोड गरेर अरुलाई पनि फेसबुकमा राख्न च्यालेन्ज गर्छ । यी दुई च्यालेन्ज अहिले फेसबुकमा निकै भाइरल छन् ।

यी दुई च्यालेन्जसँग केही दिनयता एउटा अर्को च्यालेन्ज पनि भाइरल भइरहेको छ । त्यो हो, डा. गोविन्द केसी च्यालेन्ज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै नौ दिनदेखि आमरण अनशनरत डा. केसीको पक्षमा हुनेले ह्यासट्यागमा आइएमविथ डा. जीकेसी लेख्ने गरिएको छ । यो च्यालेन्ज अहिले नेपाली फेसबुक प्रयोगकर्तामाझ चर्चित भइरहेको छ । 

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १७:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया