चुनाव हारे पनि सत्ता हस्तान्तरण नगर्ने ट्रम्पको संकेत
फरकधार / ८ असोज, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारे पनि शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन् । 

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा धाँधली हुने भन्दै ट्रम्पले चुनाव हारेपनि शान्तिपूर्ण सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका हुन् । 

उनले चुनावमा धाँधली हुने भएकाले आफू सर्वोच्च अदालतसम्म जाने बताउँदै पराजित भए पनि शान्तिपूर्ण सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका हुन् । 

नोभेम्बरमा हुने चुनावमा हुलाकबाट मतदान गर्ने तयारी छ । केही राज्यले कोरोना भाइरसको संक्रमणबाट जोगिन मेलबाट पनि मतदान गर्न सकिने बताएका छन् । 

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले डेमोक्र्याटिक  पार्टीका उम्मेद्वार जो बाइडनसँग चुनाव हार्ने, जित्ने वा बराबर भएको अवस्थामा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो संकेत गरेका हुन।   

ट्रम्पले मतपत्रको विषयमा आफूले गुनासो गरिरहेको र यो एउटा समस्या भएको बताएका छन् । 

 ‘हुलाक मार्फत हुने मतदान विपद हो । यसरी हुने मतदान बन्द गरिएमा सत्ता हस्तान्तरणको आवश्यकता नै पर्दैन’, पत्रकार सम्मेलनमा ट्रम्पले भनेका छन्, ‘के हुन्छ हामीले हेर्नुपर्छ ।’

सन् २०१६ मा पनि ट्रम्पले डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनसँग चुनाव लड्दा नतिजा स्वीकार नगर्ने बताएका थिए । हिलारी क्लिन्टनले भने यसलाई अमेरिकी लोकतन्त्रमाथि हमला भएको बताएकी थिइन् । मिडियाले गरेका विभिन्न सर्वेक्षण र अनुमानलाई गलत ठहर्याउँदै ट्रम्प चुनावमा विजयी भएका थिए । 

२०१६ को चुनावमा इलेक्ट्रोल कलेजमा विजयी भए पनि ट्रम्प पपुलर मतमा हिलारी भन्दा १० लाख मतले पछाडि परेका थिए । 
 

  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ११:०:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया