निरन्तर वर्षा
दुई दिनमा बाढी पहिरोमा परी १४ को मृत्यु, ७ बेपत्ता

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा बाढी र पहिरोको संकट निम्तिएको छ । बाढी र पहिरोले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहिरोका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । यस्तै बागलुङमा पनि विपदमा परेर एक जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १८:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया