काङ्ग्रेसमा देउवालाई दबाब दिन विशेष अधिवेशनको चर्चा !

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अब फागुनमा हुन नसक्ने अनुमान कांग्रेसकै नेताहरुले गर्न थालेका छन् । पछिल्लो समय कोरोनाभाइरस महामारीका कारण पनि कांग्रेसको महाधिवेशन समयमा सुरु हुने वा समयमा गर्न सकिने सम्भावना टरेको धेरैले बताएका छन् ।

अर्कोतिर सम्भव भए पनि सभापति शेरबहादुर देउवा कांग्रेसमा महाधिवेशन गर्न तयार नभएको आरोप कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लगाउन थालेका छन् । 

अनि पौडेलले अब नयाँ अस्त्र बाहिर ल्याएका छन्– अब विशेष महाधिवेशन गरौँ, पार्टीलाई नेतृत्वविहिन बन्नबाट जोगाऔँ । 

वैधानिक रुपमा कांग्रेसले फागुनमा महाधिवेशन नगर्ने हो भने थप ६ महिना थप्न सक्ने प्रावधान रहेको छ । तर, समय थप गर्दा पार्टीलाई थप समस्या हुनसक्ने र आगामि निर्वाचनमा पनि असर पर्ने कांग्रेसका केही केन्द्रीय सदस्यहरुले बताउन थालेका छन् । 

‘हामीसँग अब नयाँ नेतृत्व चयन गर्नुको विकल्प छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘त्यसका लागि अरु कुनै उपायबाट महाधिवेशन गर्न नसक्ने हो भने अहिले सारिएको विशेष महाधिवेशनको प्रस्ताव निकै उपयुक्त हो ।’

कांग्रेसमा पछिल्लो समय सभापति देउवाले नियम मिचेर विभाग गठन गरिरहेका छन् भन्ने आरोप लगाउने समूहरुले विशेष महाधिवेशनको मागलाई अब चर्को रुपमा उठाउने तयारी गरेका छन् । 



स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनका लागि अर्का नेता कृष्णप्रसाद सिटौलालाई सहमत गराउन प्रयास सुरु गरिसकेका छन् । केही दिन यता पौडेलको सन्देश बोकेर केही नेताहरु सिटौलाकहाँ पुगिरहेका छन् । सिटौला पक्षधर केही नेतालाई पौडेलले बोलाएर अब महाधिवेशन गर्न नसकिने वातावरण बनेको खण्डमा तत्काल विशेष महाधिवेशनको आवाज उठाउन अनुरोध गर्न थालेका छन् ।

‘पार्टीलाई पूर्णरुपमा निस्क्रियजस्तो बनाउनुभन्दा विशेष महाधिवेशन नै गरेर भए पनि छोटो समयका लागि नेतृत्व ल्याउनु उचित र उपयुक्त हुन्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले फागुनमा महाधिवेशन गर्न नसक्ने हो र कहिले सार्ने भन्ने निश्चित छैन भने विशेष महाधिवेशन अहिलेका लागि उपयुक्त हो ।’



केही दिनअघि कांग्रेस नेता पौडेलले यसअघिका महाधिवेशन प्रतिनिधिहरुलाई नै प्रतिनिधि बनाएर विशेष महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेका थिए । अब विस्तारै कांग्रेसमा यो प्रस्तवामाथि बहस हुन थालेको छ ।

‘अहिलेका पदाधिकारीको कार्यकाल सकिएर महाधिवेशन नगरेर पार्टीलाई निर्जिव बनाउने हो भने उपयुक्त विकल्प नै यही हो,’ ती नेताले भने, ‘यसले कम्तिमा पनि देउवालाई महाधिवेशन गर्न दबाब सिर्जना गर्छ ।’

कांग्रेसमा पौडेल र सिटौला पक्षधर केही नेताहरु चाहिँ अहिले विशेष महाधिवेशनको आवाज उठ्दा देउवा महाधिवेशन गर्ने दबाबमा पर्ने मान्छन् । ‘एक वर्षका लागि भए पनि विशेष महाधिवेशनले पार्टीलाई नेतृत्व दिन्छ,’ कांग्रेसका ती नेताले फरकधारलाई भने, ‘त्यसले नयाँ महाधिवेशन गर्ने अवस्था पनि बन्छ । अनि यसरी विशेष महाधिवेशन गर्ने भनेर अगाडि बढ्दा देउवा महाधिवेशन गर्न तयार पनि हुनुपर्छ, उनले महाधिवेशनका लागि तयारी पनि सहज रुपमा सुरु गर्छन् ।’

  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १५:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया