हाेहल्ला गरेकाे आरोपमा कंगोमा सैनिक जवानमाथि हाकिमबाट कुटपिट भएकाे पुष्टि, छानबिन समिति गठन

नेपाली सेनाका एक जवान आफ्नै हाकिमबाट कुटिएको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । फोटोमा सैनिकलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको देखिन्छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले सेनाका हाकिमले जवान कुटेको भन्दै निकै आलोचना पनि गरिरहेका छन् । यसबारे खोजबिन गर्दा यो घटना सत्य भएको पाइएको छ । 

यो दुई दिनअघिको घटना हो । अर्थात्, यही असोज ८ गतेका दिन कंगोमा रहेको ज्वाला दल गणमा आफ्नो काम सकेर सैनिक जवान गण फर्केका थिए । 

रातिको समयमा ती गणमा होहल्ला भयो । सैनिक मर्यादाविपरीत किन होहल्ला भयो भनेर त्यस टोलीका अधिकृतहरु जवान बस्ने गणमा पुगे । 

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार अधिकृतहरुले होहल्ला हुनुको कारण बुझ्न थाले । यही क्रममा त्यहाँ रहेका केही जवान र ती अधिकृतबीच विवाद भयो । विवादकै क्रममा कुटपिटको घटना भएको जानकारी पाइएको सैनिक प्रवक्ता पौड्यालले बताए । सेनाका अनुसार कुटपिटमा परी सैनिक जवान नवराज माझी घाइते भएका छन् । उनीबाहेक अन्य पनि संलग्न रहेकाले यसमा विस्तृत अध्ययन भइरहेको प्रवक्ता पौड्यालले  जानकारी दिए । 

उनका अनुसार यस्तो घटना भएपछि त्यसको भोलिपल्टै नेपाली सेनाले घटनाको अनुसन्धान गर्न सिनियर मेजरको नेतृत्वमा पाँच सदस्यीय आन्तरिक छानबिन समिति (कोर्ट अफ इन्क्वाइरी) गठन गरेको छ । 



करिब ३–४ दिन भित्रैमा घटनाको प्रतिवेदन आउने नेपाली सेनाले जनाएको छ । घटनामा दोषी देखिएमा कसुरअनुसार सबैलाई कारबाही हुने सेनाले जनाएको छ ।अहिलेसम्म कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धिताल संलग्न रहेको जानकारी प्राप्त भएको नेपाली सेना बताउँछ । 

शान्ति स्थापनाका लागि एक वर्षअघि नेपाली सेनाबाट सात सय ५० जनाको टोली कंगोमा गएको हो । टोलीको समयावधि पनि सकिन लागेकोले उनीहरु यही महिनामा फर्किन लागेको समेत सेनाले जानकारी दिएको छ । 



  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १७:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया