‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नुपर्दैन’

सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ–छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाब दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरे ।
    
लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ । 

उनले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु,’ उनले भने । 

जटिल बिरामी बढ्दै 

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमित सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको  भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । 

आठको मृत्यु



पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौंका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एक जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमित ०.६५ प्रतिशतको ज्यान गएको छ । 

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।



  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार २०:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया