चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारमा माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि नागरिकहरुले सरकारसँग अपिल गरेका छन् । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै ३३ जना नागरिकहरुले सरकारसमक्ष अपिल गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीश, अधिवक्ता, संविधानविद्, पत्रकार, मानव अधिकारकर्मी, चिकित्सक लगायतका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको संयुक्त विज्ञप्तिमा सरकारले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गरेर डा. केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।
‘डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ । परीक्षणमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ हामी सरकारको ध्यानकर्षण गराउँछौँ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘यसैले डा. केसीको गिर्दो स्वाथ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्न सरकारसँग हामी हार्दिक अपिल गर्दछौं ।’
विज्ञप्तिमा संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत मानव अधिकारको विषय कार्यान्वयन गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने आवस्था आउनु दुःखद भएको उल्लेख गरिएको छ ।
डा. गोविन्द केसी १४ दिनदेखि अनशनरत छन् । उनी अहिले भदौ २९ देखि १९ औं अनशनमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।