पर्यटन दिवसमा सुनसान ठमेल

‘४१ औं विश्व पर्यटन दिवस’नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर, कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । 

पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ ।

यसअघिका वर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकका विभिन्न सीमानाकामा र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याइ हुन्थ्यो । पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए । त्यस्तै, काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटकको अवसरमा छुट दिँदै आएका थिए । 

तर, यो वर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ । अघिल्ला वर्षको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भीड हुने गरेकोमा यो वर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् । विदेशी पर्यटक शून्य छन भने आन्तरिक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाइ छ ।

ठमेल क्षेत्रका व्यापारीहरूको मात्रै नभई मुलुक भरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हुँदा कतिपय व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।

हरेक वर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक मूल्य मान्यतालाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइँदै आएको हो । यस वर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । तर, यो वर्ष भने कोरोना प्रकोपका कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनु परेको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १८:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया