स्थानीय सरकारलाई बेवास्ता गर्दै बञ्चरेडाँडामा फोहाेर फाल्ने तयारी
राज्यमन्त्री मानन्धर भन्छन्– रहरले वडा अध्यक्ष भएकासँग कुरा गर्न जरुरी छैन
फरकधार / ११ असोज, २०७७

‘हाम्रो कुरा के सुन्थ्यो र सिंहदरबारले ? हामीमाथि काठमाडौंले अमानवीय व्यवहार गर्दै फाइदा लिइरहेको छ ।’ ‘गाउँकै सिंहदरबार’का प्रमुखहरूको निरीह आवाज हो यो ।

काठमाडौं उपत्यकाबाट उत्पादन हुने ७५ प्रतिशतभन्दा बढी फोहोर थेगिरहेको नुवाकोटको सिसडोल वरिपरिका ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष केदार पौडेल र वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईंको साझा आवाज हो, यो । 

राजधानी काठमाडौंसँगै जोडिएको नुवाकोटको ककनी गाउँपालिकाका विभिन्न क्षेत्रहरू दुर्गन्धित छन् । काठमाडौंको ७५ प्रतिशतभन्दा बढी फोहोर थेगिरहेको नुवाकोटको सिसडोल वरिपरिका बासिन्दाको दैनिकी कष्टपूर्ण छ । फोहोरको पहाड नै बनिसकेको सिसडोल वरिपरिका बासिन्दाहरू दुर्गन्धमा बस्न बाध्य छन् भने उनीहरूका खेतबारी र पानी मूलहरूमा फोहोर मिसिएको छ । सिसडोलको फोहोरको दुर्गन्ध काठमाडौंको तारकेश्वर छेउछाउदेखि धादिङको धुनिबेशीको वडा नम्बर १ मा पनि पुग्छ ।

२०६२ सालमा दुई वर्षका लागि फोहोर फाल्न लिइएको सिसडोलमा त्यसयता काठमाडौं महानगरपालिकाको अगुवाइमा उपत्यकाको फोहोर निरन्तर गइरहेको छ ।

यतिबेला सिसडोलबाट २ किमि टाढा धादिङ र नुवाकोटको सिमानामा रहेको बञ्चरेडाँडामा लामो समयदेखि योजनामा रहेको ल्यान्डफिल्ड साइडको काम द्रुत गतिमा आगाडि बढ्दै छ ।

तर, सिसडोलबासी भने, फोहोरको उचित व्यवस्थापन नगरी बञ्चरेडाँडामा लैजान नदिने बताइरहेका छन् ।

विगत १५ वर्षदेखि निरन्तर फोहोरसँग जीवन बिताइरहेका सिसडोलबासीका सपना ठूला छैनन् । ‘दुर्गन्ध हटोस् । अकालमा ज्यान गुमाउन नपरोस्,’ यत्ति हुन् ।

सिसडोलबासीले पटक–पटक फोहोरको वैज्ञानिक व्यवस्थापनको माग गर्दै आन्दोलन गरे । युवाहरूले संघर्ष समिति बनाए । केन्द्रसँग वार्ता गर्ने टोली बनाए । तर, १५ वर्षको अवधिमा काठमाडौंबाट ‘अमानवीय व्यवहार’ मात्रै भइरह्यो ।

जसका कारण त्यस क्षेत्रमा कठ्यांग्रिदो जाडोमा पनि भात–भान्सामा झिंगा धपाउँदै बस्नुपर्ने बाध्यता स्थानीय छन् ।

फोहोरको छेउमै घर भएका सन्तराम श्रेष्ठ लामो सुस्केरा हाल्दै भन्छन्, ‘अब सरकारको आश मर्यो ।’ फोहोरको दुर्गन्धले आक्रान्त धादिङको धुनिवेशी १ का सविन कार्की भन्छन्, ‘अब त हाम्रा नाकहरू बिग्रिसके । नाकले सुघ्नै छोडिसक्यो ।’

अर्का स्थानीय राममणि घिमिरेले भने, ‘हाम्रो जीवनमाथि निकै खेलबाड भएको छ । सिसडोलको व्यवस्थापनका लागि कुरेको १५ वर्ष भयो । कुन विश्वासले हामी बञ्चरेमा फोहोर लैजान दिने ?’

गुनासै गुनासा

स्थानीयले गाउँपालिका, वडा कार्यालय, प्रदेश तथा केन्द्रका सांसदसँग पनि पटक–पटक आफ्ना कुरा राखिसके । तर, सबैका आआफ्नै गुनासाका खात छन् । समाधान भने कसैसँगै छैन ।

‘मन्त्रीज्यू निरन्तर आउँछन् रे । तर, हामीसँग कहिल्यै सम्पर्क भएको छैन ।’ ककनी वडा नम्बर १, २ र ३ का वडा अध्यक्षले फरकधारसँग एकैखाले गुनासो गर्दै भने, ‘राज्यले हाम्रो बाँच्न पाउने अधिकार खोस्यो । हामीले धेरै आवाज उठायौं तर, काठमाडौंले हामी मान्छे नै देखेन, तर अब हामी मर्नुपरे पनि छाड्दैनौं ।’

स्थानीय जनप्रतिनिधिको मात्रै होइन, त्यस क्षेत्रबाट प्रदेशसभामा चयन भएका बद्री मैनालीको गुनासो पनि उस्तै छ । फरकधारसँग उनले भने, ‘समस्या हाम्रो क्षेत्रका जनतालाई परेको छ । केन्द्रले कसैसँग सम्पर्क गर्दैन । समन्वयको आवश्यकता पनि देख्दैन । तर, हामी अब फोहोर कुनै पनि हालतमा लैजान दिँदैनौँ ।’

सोही क्षेत्रबाट प्रदेशसभामा चयन भएका माननीय हितबहादुर तामाङको कुरा पनि फरक छैन । ‘हाम्रो लामो समयदेखिको समस्याका रूपमा रहेको फोहोर मैला व्यवस्थापनको एकीकृत समाधान कसले के गर्ने, कहाँ जवाफ खोज्ने ? हामी अन्योलमा छौं ।’ उनी भन्छन्, ‘समन्वय पनि कसैले कसैसँग गर्दैन । सबैको आआफ्नै ‘इन्ट्रेस्ट’ छ । यसो उसो भन्ने त कुरा मात्रै हो ।’

मन्त्री भन्छन्, ‘रहरले चुनाव लडेकासँग के कुरा गर्नु ?’

जिम्मेवार मन्त्रालय सहरी विकास मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले भने स्थानीयसँग समन्वय गर्न जरुरी नभएको गैरजिम्मेवार जवाफ दिए । फरकधारसँग कुरा गर्दै मानन्धरले भने, ‘वडा अध्यक्ष रहरले भएका हुन् । उनीहरूसँग कुरा गर्न जरुरी छैन । मैले जनतासँग समन्वय गरिरहेको छु ।’ 

राज्यमन्त्री मानन्धरको दाबीलाई स्थानीय भने अस्वीकार गर्छन् । मानन्धर सातामा दुईदेखि तीनपटकसम्म सिसडोललाई नाघेर बञ्चरेडाँडा पुग्छन् । त्यहाँ पुगेर उनी ठेकेदार र इन्जिनियरसँग तीन÷चार घण्टा बिताएर फर्कन्छन्, तर अहिलेसम्म बोलचाल नभएको स्थानीयको गुनासो छ । मन्त्रालय स्रोत भन्छ, ‘राज्यमन्त्री मानन्धर आफ्नो पालामा काम सकेर ‘जस’ लिने दौडमा छन् । त्यसैले उनले कसैको कुरै सुन्दैनन् ।’

मानन्धरको दौडधूप किन ?

लामो समयदेखि विवादित बन्दै आएको सिसडोल क्षेत्रको समस्या समाधानका लागि फोहोर व्यवस्थापनको कोसेढुंगा मानिएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माणाधीन छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि एकीकृत निकाय नभए पनि साइड निर्माणको जिम्मा भने सहरी विकास मन्त्रालयसँग छ । जसका कारण ककनीसँगै जोडिएको काठमाडौंको तारकेश्वर नगरपालिकासहितको निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सहरी विकास मन्त्री रामवीर मानन्धरको ध्यान पनि बञ्चरेतिरै देखिन्छ । उनी राज्यमन्त्रीमा नियुक्त भएसँगै बञ्चरेडाँडा ल्यान्डफिल साइडको निर्माणमा केन्द्रित छन् ।

मन्त्री मानन्धरले बञ्चरेको निर्माण सम्पन्न गर्नका लागि जुनसुकै ‘हतकन्डा’ अपाउन पनि तयार छन् । अर्थात् उनी स्थानीय जनप्रतिनिधि तथा जनतालाई पेलेरै भए पनि आफूलाई सफल देखाउन लागिपरेका छन् ।  

उनी निकट स्रोतका अनुसार आफ्नो क्षेत्रसँग पनि जोडिने र आफ्नो कार्यकालको सफल ‘प्रोजेक्ट’ देखाउन बीचमा आउने अवरोधलाई पेल्न खोजिरहेका छन् ।

यति मात्रै होइन, मन्त्री मानन्धरले चुनावताका सिसडोलको दुर्गन्ध आउने तारकेश्वरका केही क्षेत्रमा गएर आफ्नो कार्यकालमा सल्टाउने वाचा पनि गरेका थिए । सो वाचा पूरा गर्न पनि उनले कम्मर कसेका छन् । 

मानन्धरले दसैं अगाडि नै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने गरी काम सक्न ठेकेदारलाई दबाब दिइरहेको सचिवालय स्रोत बताउँछ ।

उनले केही महिनाअघि सिसडोलको फोहोर व्यवस्थापन गरेर मात्रै बञ्चरेडाँडाको उद्घाटन गर्ने बताए पनि अहिले कोही कसैसँग समन्वय गरेका छैनन् ।

सिसडोलमा फोहोरको इतिहास

सिसडोलबासीले फोहोरसँग जीवन बिताउन थालेको इतिहास लामै छ । फोहोरसँगै विकासको लहर गाउँ जाने स्वर्णिम सपना बोकेका सिसडोलबासीले पहिलो फोहोरको गाडीलाई २०६२ सालको विश्व वातावरण दिवसका दिन माला लगाएर स्वागत गरेका थिए ।

तत्कालीन फोहोर मैला व्यवस्थापन समितिका अध्यक्ष राममणि घिमिरे भन्छन्, ‘त्यतिबेला हामीले फोहोरमा विकास देखेका थियौं । स्थानीयको अगुवाइ गर्दै फोहोरमा माला लगाउने मै हुँ । अहिले हाम्रा सपना लुटिए । हामी निरीह बन्यौँ ।’

२०६२ सालअघि काठमाडौंको मूलपानी र यहाँ विभिन्न खोला वरिपरि फोहोर विसर्जन गरिन्थ्यो । पछि यहाँ दुर्गन्धित बन्न थालेपछि काठमाडौं महानगरकै अगुवाइमा विकल्प खोजियो । स्थानीयको सहमतिमा तत्कालीन सिसडोलमा २ वर्षको क्षमता रहने गरी अस्थायी स्यानिटरी ल्यान्डफिल साइडका रूपमा सञ्चालनमा ल्याइएको थियो ।

उक्त ल्यान्डफिल्डको क्षमता ६ दशमलव ५ लाख मेट्रिक टन मात्र थियो । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्यान्डफिल्डमा काठमाडौँ उपत्यकाबाट अहिलेसम्म निरन्तर फोहोर फालिँदै आएपछि फोहोरको पहाड नै बनेको छ ।

त्यतिबेला काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको मात्रै फोहोर व्यवस्थापन हुँदै आए थियाे । हाल काठमाडौं, ललितपुर र भक्तपुरका १७ वटै नगरपालिकामा करिब ११ सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये ७५ प्रतिशत फोहर सिसडोलमै बिसर्जन हुने गरेको छ ।

नयाँ ल्यान्डफिल्ड साइड ‘बञ्चरेडाँडा’

काठमाडौंको फोहोर व्यवस्थापनका लागि करिब २६ वर्ष पहिले २०५१ सालमा नै डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माणको निर्णय भएको थियो । त्यसपछि बञ्चरेडाँडा ल्यान्डफिल साइडको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष २०५८/०५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका) ले १ अर्ब ८६ करोड लागतमा ल्यान्डफिल साइड निर्माण सक्ने अनुमान गरेको थियो । त्यसपछि सहरी विकास मन्त्रालयले भने जम्मा १ अर्ब ६५ करोडमा यसको काम अगाडि बढाएको छ । त्यसपछि लामो समयदेखि अगाडि बढ्न नसकिरहेको ल्यान्डफिल साइटको काम अघि बढाउन २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयलाई पूर्वाधार निर्माणको जिम्मेवारी दिने निर्णय गयो । त्यसपछि २०७६ वैशाख १२ गते साइडको शिलान्यास गरिएको थियो ।

उक्त ल्यान्डफिल्ड साइट निर्माण क्षेत्रको क्षेत्रफल १ हजार ७ सय १९ रोपनी छ । धादिङ र नुवाकोटका स्थानीयले थप ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने माग गर्दै आएका छन् । हाल अधिग्रहण भएको क्षेत्रभन्दा तीन किमि वरपर अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ । यो ल्यान्डफिल्ड साइटले उपत्यकाको फोहोर ५० वर्षसम्म धान्न सक्ने बताइएको छ ।

  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार २०:१७:५,   अन्तिम अपडेट : असोज १२, २०७७ साेमबार ११:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया