देशभर इन्टरनेट पुर्याउने कार्यको प्रगति ७२ प्रतिशत

देशभर ब्रोेडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेका परियोजनाको ७२ दशमलव ७० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजना अन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ । सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म ७२ प्रतिशतसम्म प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् । 
प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ ।

यो परियोजनाका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँको सम्झौता भए पनि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ मात्र भुक्तान गरिएको प्राधिकरणले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १४:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया