व्यवसाय सन्तुलन गर्ने कसरतमा बैंक, ‘नाफाबारे सोच्ने बेला होइन’

६ महिनादेखि लकडाउनका कारण अधिकांश ठूला लगानीका परियोजना ठप्प छ, जसका कारण बैंकमा २ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ । 

अहिले बैंकहरू कर्जा विस्तारकै कसरतमा छन्, जसका कारण बैंकहरूले सकेसम्म कर्जामा कम ब्याज दिने गरी लगानीकर्तालाई आह्वान गरिरहेका छन् । तर, अहिले कुनै पनि किसिमको लगानी सम्भावना नै नरहेको बैंकरहरू बताउँछन् ।

‘कोरोनाको त्रास नहट्दसम्म लगानीको कुरा त टाढै छ,’ नबिल बैंकका सिइओ अनिल केशरी शाह भन्छन्, ‘पुरानो कर्जाको ब्याज पनि उठाउन सकिन्न, अहिले बैंकहरूले ब्यालेन्स सिटलाई सन्तुलन राख्नतिर मात्रै लाग्नुपर्छ ।’ 

बैंकहरू अधिक तरलताको संकट देखापरेपछि नेपाल राष्ट्र बैंकले भर्खरै ३० अर्ब रुपैयाँ खिच्न बोलकबोल जारी गरेको थियो । बजारमा अधिक तरलता भएपछि गत साउनमा पनि ‘रिभर्स रिपो’मार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो ।

 पैसा थुप्रिएर बस्दा त्यसको ब्याज दिन बैंकहरूलाई ‘सकस’ परेको छ । सामान्यतया नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदरलाई आधार बनाएर बैंकहरूले निक्षेप र कर्जाको ब्याज निर्धारण गर्ने गर्छन् । 

ब्याजकै आधारमा निक्षेपकर्ताले बैंक रोज्ने गर्छन् । अर्थात् जुन बैंकमा आफ्नो रकम राख्दा ब्याज बढी आउँछ उही बैंकमा रकम जम्मा गर्छन् । यसरी निक्षेपमा बढी ब्याज दिने बैंकले कर्जामा पनि ब्याज बढी लिने गर्छन् । 



कर्जाको ब्याजबाट नै निक्षेपको ब्याज दिई बैंकहरूले नाफा कमाउने गर्छन् । अहिले निक्षेप बढेको र कर्जा लगानीचाहिँ शून्यप्राय हुँदा बैंकहरू कसरी ‘ब्यालेन्ससिट’ ब्यवस्थापन गर्ने सकसमा छन् । 

निक्षेप र कर्जाको सन्तुलन बिग्रँदै गएपछि अहिले बैंकहरूले पुरानो कर्जालाई एक अर्को बैंकमा सार्दै सन्तुलन मिलाउन खोजिरहेका छन् । अहिले बैंकहरूबीच कर्जा खोसाखोसको अवस्था समेत देखिएको छ ।



नेपाल बैंकर्स एसोसिएसनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक चलिरहँदा वाणिज्य बैंकहरूले २५ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको तथ्यांक देखिन्छ । 

तथ्यांकअनुसार गत असारसम्ममा २८ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले असोज पहिलो सातासम्ममा २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक देखिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । पर्याप्त पैसा हुँदा र केन्द्रीय बैंकले स्वाप गर्दा लाग्ने शुल्क घटाएपछि कर्जा स्वाप बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसअघि बैंकहरूले कर्जा स्वाप गर्दा ऋणीसँग ३ देखि ४ प्रतिशतसम्म शुल्क लिने लिन पाउथे । गत साउनको दोस्रो साता राष्ट्र बैंकले एकीकृत निर्देशिका–२०७६ लाई संशोधन, परिमार्जन गर्दै अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप हुँदा लिने स्वाप शुल्कको हकमा बैंकहरूले शुन्य १५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ ।

यति मात्रै होइन अहिले बैंकहरूमा लामो समयदेखिको कर्जाको ब्याज पनि उठ्न सकेको छैन । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत वर्ष असारसम्ममा बजारमा ११ अर्ब रुपैयाँको हाराहारीमा ब्याज उठ्न बाँकी रहेकामा चालू वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा ५१ अर्ब भन्दा बढी ब्याज बजारमै अड्किएको छ । 

कतिपय बैंकका सिइओ तथा बैंकर्स संघका पदाधिकारी भने अझै केही समयसम्म बैंक घाटामा नजाने प्रतिक्रिया दिइरहेका छन् । नबिल बैंकका सिइओ एवं बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष अनिल केशरी शाहले अहिले बैंकहरूले नाफा कमाउने कुरा भन्दा पनि ब्यालेन्स सिटमा सन्तुलन कायम गर्नु ठूलो विषय भएको बताए । 

फरकधारसँग कुरा गर्दै शाहले भने, ‘तत्कालै बैंकहरू घाटामा जाने अवस्था नै त होइन । तर अवस्था जटिल बनेको छ । अहिले ग्राहक र बैंक दुवैलाई सहज हुने ढंगले जानुपर्छ । राष्ट्र बैंकको नीति पनि यही नै हो । अब अहिलेको लागि नाफा कमाउने प्रयास भन्दा पनि हाम्रो ब्यालेन्स सिटमा सन्तुलन राख्ने प्रयास गर्नुपर्छ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरूमा तरलता थुप्रिँदा ब्याजदर घटाउनुपर्ने बाध्यतामा बैंक रहेको बताए ।

अहिले बैंकहरूले बाध्य भएर निक्षेपको ब्याज घटाउनुपर्ने अवस्था सृजना भएको बताउँदै उनले बैंकहरूमा पहिलाको तुलनामा निक्षेप पनि घटेको बताए । ‘अहिले कर्जाको तुलनामा निक्षेप बढे पनि पहिलाको तुलनामा केही घटेको छ,’ उनले भने, ‘उता बजारबाट धेरै कर्जाको ब्याज समेत उठ्न सकेको छैन ।

चालू आर्थिक वर्ष सुरु भएपछि त झनै ब्याज समेत उठ्न सकेको छैन । हाल बैंकहरूको प्रमुख चुनौती भनेको निष्क्रिय कर्जालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो ।’

  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया