‘पहिलो कोरोना संक्रमितलाई मास्क, पञ्जाबिना सुम्सुम्याएँ’
फरकधार / १२ असोज, २०७७

चीनकाे वुहानबाट फर्किएका नेपाली युवामा  २३ जनवरीमा काेराेना संक्रमण पुष्टि भयाे । यी युवा नै नेपालका पहिलो काेराेना संक्रमित  थिए । १३ जनवरीमा टेकु अस्पताल भर्ना भएका उनकाे स्वाब परीक्षणका लागि हङकङ पठाइएकाे थियाे ।  

त्याे स्वाब हङकङ पठाउन र काेराेनाभाइरस संक्रमण भएकाे पुष्टि भएपछि पनि उपचारमा संलग्न थिए ​शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ ​डा.अनुप बास्तोला। तिनै बाँस्ताेलासँग नेपालमा कोरोना संक्रमणको पहिलो केस फेला पर्दाको अवस्था, त्यसपछिका संक्रमितको उपचारका अनुभव, कोरोनाको भ्रम र यथार्थताबारे फरक धारका केदार गौतमले गरेको कुराकानी :

नेपालमा कोभिड संक्रमणको पहिलो केसदेखि नै तपाईं यससँग जोडिनु भयाे । नेपालमा यो भाइरस प्रवेशको सुरुवाती अवस्था अहिले कसरी सम्झनुहुन्छ ?

चीनमा कोरोना संक्रमण बढिरहेका बेला त्यहाँबाट आउनु भएका एकजना बिरामीलाई हामीले १३ जनवरीमा अस्पताल भर्ना गर्‍यौँ। यसअघि टेकु अस्पतालमा अन्य संक्रामक रोगहरूको उपचार हुँदै आएको थियो।

पहिलो संक्रमित आएपछि सुरुमा उहाँलाई कसरी आइसोलेट गर्ने र अन्य बिरामीको उपचार कसरी गर्ने भन्ने व्यवस्थापनमा लाग्यौँ। अस्पतालमा आइसोलेसनका लागि केही छुट्टै कोठाको व्यवस्थापन गर्‍यौं। कोरोना संक्रमण फैलिइसकेका विभिन्न मुलुकबाट आउने शंकास्पदहरूलाई पनि राखेर परीक्षण गर्न थाल्यौँ। सुरुमा क्वारेन्टिन केन्द्रकै रूपमा पनि एउटा कोठालाई प्रयोग पनि गर्‍यौं। यो हाम्रा लागि पहिलो अनुभव थियो। यसैबीच दोस्रो संक्रमित फेला पर्नुभयो।

सुरुवातका संक्रमित बिरामी र अहिले के फरक पाउनु भएकाे छ ? 

पहिलो बिरामीमा सुख्खा खोकी लागेको थियो। ज्वरो आउने र श्वास–प्रश्वासमा समस्या थियो। दोस्रो बिरामीमा पनि उही र उस्तै समस्या थिए। त्यसैगरी तेस्रो बिरामीमा ज्वरो पनि आएको थियो।

त्यसपछिका दिनमा तराईका विभिन्न जिल्लाबाट आउनुभएका संक्रमितको उपचार गर्‍यौँ। लकडाउन खोलिसकेपछि काठमाडौँकै केही वृद्ध दीर्घरोगीहरू संक्रमित भएर गम्भीर अवस्थामा आउनु भएको थियो। उहाँहरूको पनि उपचार गर्‍यौँ। पछिल्ला दिन समुदायसम्म संक्रमण पुगेपछि सिकिस्त भएर आउनेहरूको संख्या बढिरहेको छ।

पहिलो संक्रमितको परीक्षण गर्ने व्यवस्था नेपालमा नभएका कारण स्वाब हङकङ पठाइएको थियाे नि, हाेइन ?

हाम्रो अध्ययनअनुसार उहाँलाई हामीले शंकाको घेरामा राख्यौँ ।

प्रारम्भिक चरण भएकाले हामीकहाँ किट उपलब्ध थिएन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोभिड ल्याबमा परीक्षणका लागि नमुना पठायौँ । पछि किटको व्यवस्था हुँदै गयो र यहाँ पनि परीक्षण हुनथाल्यो ।

भनेपछि पहिलो केस भेटिनुभन्दा अघि नेपाल कोभिड परीक्षण गर्ने कुनै तयारी थिएन ?

परीक्षण गर्नुपर्छ भन्ने मानसिक तयारीमा थियौं। त्यसैले बिरामी आउँदा हामीले शंका गर्‍यौँ। लक्षण हेर्दा परीक्षण गर्नैपर्छ भन्ने निष्कर्ष निकाल्यौं। नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहकार्यमा हङकङकाे त्याे काेराेना ल्याबमा स्वाब पठाएका हौँ। त्यसपछिका दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको व्यवस्था मिलायौँ।

पहिलो संक्रमित ती युवाले आफूलाई कोरोना पुष्टि हुँदा टेकु अस्पतालका डाक्टरहरू डराए, अनि म घरमै आइसाेलेसनमा बसैँ भनेका थिए नि ?

उहाँलाई उपचार गर्ने टिमको म लिडर हुँ। बिना मास्क उहाँलाई उपचार गर्ने मै हुँ। एक दुई दिन हामीले खुला रूपमै उपचार गर्‍यौँ। वुहानबाट आउनु भएको र लक्षण पनि मिल्दाजुल्दा भएकाले पछि सुरक्षित हुनुपर्छ भनेर मास्क पञ्जा लगाएर जाँच गरेका हौं। उहाँलाई पोजिटिभ रिपोर्ट आउँदा हामी अत्यन्त त्रसित थियो भन्ने कुरा सत्य होइन। 

अहिले टेकु अस्पतालको अवस्था कस्तो छ ? कस्ता–कस्ता बिरामी हुनुहुन्छ ?

यो अस्पतालमा दुईवटा मात्रै आइसियू कक्ष थिए। अहिले २० बेडको आइसियू सञ्चालन गरेको छौँ। २९ वटा कोभिड वार्ड, ५ वटा स्पेसल कोभिड क्याविनको व्यवस्थापन गरेको छौँ। यो अवस्थामा आउन ठूलै चुनौती थियो। सामानहरूको व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी संख्याको व्यवस्थापनजस्ता चुनौती सामना गरेर हामी यहाँसम्म आइपुगेका हौँ। हामीले करिब ४ सय संक्रमितको उपचार गरिसकेका छौँ । डेढ सयभन्दा धेरैलाई सघन उपचार कक्षमा राखेर उपचार गर्‍यौँ। तीमध्ये गम्भीर अवस्थामा पुगेका संक्रमितको संख्या ५० भन्दा धेरै छ।

उहाँहरूको व्यवस्थापनका लागि रातदिन खटिरहेका छौँ। दिनमा तीन पटक डाक्टरको राउन्ड हुन्छ। स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ नियमित रूपमा उपलब्ध हुनुहुन्छ।

देशका विभिन्न ठाउँबाट शंकास्पद लक्षण देखिएर आउनेलाई 'ओपिडी'मार्फत् पिसिआर परीक्षणको व्यवस्था गरेका छौँ।

एचआइभीको ‘भाइल लोड’ गरिरहेको प्रयोगशालालाई हामीले अहिले दैनिक ५ सय पिसिआर परीक्षण गर्न सक्ने क्षमतामा विकास गरेका छौँ।

संक्रमितको उपचार गर्न उच्च तयारीका साथ लागेको छौँ। यसलाई एउटा चुनौतीका रूपमा पनि लिएका छौँ।

कोरोना केही होइन, हल्ला मात्रै हो भन्नेहरु अब धेरै सुनिन थालेका छन् । अर्काेतिर काेभिडकै कारण मानिसहरुले ज्यान गुमाएका छन्, निकाे भएकाहरु बल्लबल्ल बाँचे भनिरहेका छन् । यी दुईमध्ये कुन ठिक हुन् ?

यसमा दुई कुरा हुन्छ, जस्तो संक्रमण भएर कुनै लक्षण नदेखिएकाहरूका यो केही पनि रहेनछ भन्ने लाग्नु स्वाभाविक हो। जो व्यक्ति संक्रमणपछि सिकिस्त भएर अस्पतालमा बस्नुभएको छ, उहाँहरूको अवस्था फरक हो।

म के कुरा स्पष्ट पार्छु भने वृद्ध, दीर्घरोगीलाई मात्रै कोरोनाले सिकिस्त बनाउँछ, भन्ने होइन। सबै दीर्घरोगीलाई सिकिस्त बनाउँछ भन्ने पनि छैन।

यहाँ आउने २५, २९ र ३० वर्षका निमोनियाले ग्रस्त संक्रमित थिए। के हुन्छ भन्नसक्ने अवस्था थिएन। ५० माथिका मधुमेह, दमको समस्या भएका संक्रमितहरू पनि धेरै आउनु भएको छ।

यस्तो बेलामा उहाँहरूका परिवारले भोगेका पीडा, दुःख र कष्ट उपचारकाे क्रममा हामीले देखेका छाैँ । त्यसैले कोभिडलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने हाम्रो निष्कर्ष हो। बच्नका लागि सम्पूर्ण उपाय अपनाउनु पर्छ।

हाम्राे यही अस्पतालमा संक्रमितलाई १५–२० दिन आइसियुमा राख्दा परिवारका सदस्यहरू इमर्जेन्सी बाहिर आएर बस्नुहुन्थ्यो। कस्तो छ भनेर सोध्नुहुन्थ्यो। उहाँहरुले जे भाेग्नु भएकाे छ, उहाँहरुकाे बुझाइ फरक छ।

हामी चिकित्सकहरूले यसलाई जोखिमपूर्ण छ भनेर भन्नुको कारण यो समुदायमा चाँडै फैलन्छ। एकै पटक ठूलो संख्यामा संक्रमण हुँदा अस्पतालमा बेड अभाव हुने, समयमा अक्सिजन दिन नपाउने हुँदा युवा अवस्थाकै व्यक्तिको पनि मृत्यु हुन सक्छ। 

कोरोना संक्रमित बिरामीमा देखिने गम्भीर स्वास्थ्य समस्या के हो ? जसले मृत्युको मुखसम्म पुर्‍याउँछ।

अहिलेसम्म हामीले देखेका बिरामीलाई हेर्ने हो भने संक्रमणले गराउने निमोनिया नै रहेछ। फोक्सो सुन्निने, फोक्सोमा पानी जम्ने यसका कारण श्वास–प्रश्वासमा समस्या आई अक्सिजन कम भएर हाम्रा मुख्य अंगहरूले काम गर्न छाड्ने रहेछन्। केही अध्ययनहरूले साना–ठूला रक्तनलीहरूमा रगत जमेर अंगहरू नचल्ने भन्ने पनि देखाएको छ। श्वास–प्रश्वासमा दीर्घकालीन असर पनि देखिन्छ भन्ने पनि अध्ययनहरूबाट आइरहेको छ।

नेपालमा कोभिड संक्रमणको सुरुवाती चरणदेखि अहिलेसम्म उपचारमा खटिइरहँदा यसप्रति डर, असहज कत्तिको महसुस गर्नुभयो ? 

सुरुवाती दिनमा हामीलाई यस संक्रमणबारे केही पनि थाहा थिएन। पहिलो बिरामी सुरक्षाबिनै जाँच्यौँ। त्यसपछि संक्रमणबाट बच्न सुरक्षाका मापदण्ड पूरा गर्दै गयौँ। सुरुमा जुन त्रास थियो। अहिले त्यो छैन खासमा हामीले सुरक्षित हुन सिकिसकेका छौँ। स्वास्थ्यकर्मीलाई कसरी जोगाउने भन्ने थियो। त्यो पनि हामीले व्यवस्थित बनाइ सक्यौँ। अरु बिरामीलाई जसरी उपचार गरिन्छ। त्यसरी नै ढुक्कका साथ कोभिड संक्रमितलाई पनि उपचार गरिरहेका छौँ। 

कुनै एउटा उदाहरणीय केस भन्नुहोस्। कोही जटिल अवस्थाको बिरामीलाई सफल उपचार गरेर पठाउनु भएको छ। 

त्यस्ता धेरै उदाहरण छन्। अहिले नै एकजना ८६ वर्षकी आमा हुनुहुन्छ। उहाँ सिकिस्त अवस्थामा आउनुभएको थियो। अहिले उपचार गरिरहेका छौँ। सायद उहाँलाई ठीक बनाउन सकियो भने हाम्रा लागि ठूलो सफलता हुन्छ।

३० वर्षको व्यक्ति भक्तपुरबाट आउनुभएको थियो, युवा, ऊर्जावान् मान्छे। आउँदाखेरि नै खोकी ज्वरो, श्वास–प्रश्वासमा समस्या थियो। सिकिस्त बन्दै जानुभयो सिधै एआरडिएमा जानुभयो। निकै मिहिनेत गर्‍यौँ २५ दिनको बसाइपछि ठीक बनाएर पठाउन सफल भयौँ। 

कोरोना संक्रमणको विस्तारमा अन्य मुलुकको भन्दा नेपालमा के कस्तो फरक ट्रेन्ड पाउनु भएको छ ?

सुरुमा हामीले उडेर आउला कि भनेर रोकथामका उपाय अपनाउँथ्यौँ। पछि हिँडेर आउन थाल्यो। विशेष गरी नेपालमा भारतबाट आएर फैलियो। संक्रमितको दर हेर्ने हो भने हाम्रोमा धेरै कम देखिन्छ। इटाली वा युरोपको जस्तो मृत्युदर हाम्रोमा छैन। 

यसका दुई तीनवटा पक्ष हुन सक्छन्। जुन किसिमले जाडो समयमा युरोपमा आउटब्रेक भयो हाम्रोमा गर्मीमा आयो। त्यहाँ वृद्ध र दीर्घ रोगीहरूको संख्या बढी  थियो। हाम्रोमा त्यो समूहको जनसंख्या कम छ। यहाँ संक्रमण फैलिँदै गर्दा हामीले सुरक्षित हुन पनि सिकिसकेका थियौँ। अहिले भारतको मृत्युदर २ देखि ३ प्रतिशतसम्म छ। भारत र यहाँको खानपान रहनसहन मिल्ने भएकाले संक्रमण व्यवस्थित हुँदै जाँदा त्यो दर नेपालमा पनि पुग्न सक्छ।

समुदायमा फैलिँदै जाँदा भाइरसले रूप परिवर्तन गर्दै जान सक्छ। पहाडी जिल्लाका दुर्गम ठाउँसम्म समुदायमा संक्रमण फैलिएमा त्यसपछि मृत्युदर फरक पर्न पनि सक्छ।

भाइरसले रूप परिवर्तन गर्ने भनेको के हो ?

कुनै व्यक्ति, समुदायमा भएको वातावरणीय प्रभाव लगायतका कारणले भाइरसमा रोग लगाउन सक्ने क्षमतामा परिवर्तन हुनसक्छ। सर्न सक्ने क्षमतालाई गुमाउन सक्छ। सिकिस्त बनाउने क्षमता गुमाउन वा वृद्धि हुनसक्छ। त्यसको जिनमा परिवर्तन आउन सक्छ।

कोरोना रोकथाम नियन्त्रणमा नेपालका सबल र दुर्बल पक्ष के–के हुन् ?

मलाई लाग्छ पहिलो कोरोना बिरामी पत्ता लगाउँदा नेपाल दक्षिण एसियामा तेस्रो थियो। हामी त्यति बेलादेखि नै सजक थियौँ। वुहानबाट ल्याइएका १७५ जनालाई व्यवस्थित क्वारेन्टिनमा राखिएको थियो। 

त्यसपछि पनि संक्रमणग्रस्त क्षेत्रबाट ठूलो संख्यामा आएकालाई क्वारेन्टिनमा राखिएको थियो। उनीहरूको उपचार र परीक्षणले घरपरिवार र समुदायमा संक्रमण फैलिनबाट जोखाउने ठूलो प्रयास गरिएकै थियो। यी सबल पक्ष हुन्। 

लकडाउन खुलेपछि संक्रमणग्रस्त क्षेत्रबाट धेरै व्यक्तिहरू नेपाल तथा सहरी क्षेत्रमा प्रवेश गरे। उनीहरूलाई कडाइकासाथ निगरानी गर्न सकिएन। १० देखि १४ दिन क्वारेन्टिनमा राख्नु पर्नेमा त्यो गर्न सकिएन। 

आरडिटी गराउने, पिसिआर गराउने अनि ल हामीलाई छैन भन्दै समुदायमा गएर घुलमिल गर्दा पनि त्यसले संक्रमण फैलिँन मद्दत गर्‍यो। समुदायमा फर्किएर आएका व्यक्तिहरू व्यवस्थित नभइ दिने र गराउनु नसक्नु कमजोरी भयो। 

नेपालमा अहिले संक्रमित र मृत्यु दर बढिरहेको छ। यसलाई कसरी बुझ्ने ?

संक्रमण व्यवस्थापन हुने क्रममा छ। तराईका जिल्लामा व्यवस्थित भइसकेको छ। राजधानीमा पनि सुरुवाती चरण पार गरी संक्रमण समुदायस्तरमा व्यवस्थित हुने तरखरमा छ। दीर्घरोगी तथा बृद्धहरूलाई जाडोमा संक्रमणका कारण सिकिस्त बनाउने र अस्पतालको बेडमा नपाएर मृत्यु हुनसक्ने सम्भावना देखिन्छ। त्यस्तो बेला साँच्चै महामारीको अवस्था पनि हुनसक्छ।

यो अवस्थालाई हेर्दा अहिले जति अस्पतालले कोभिड बिरामीलाई सेवा दिइरहेका छन्। त्यसको गुणस्तर वृद्धि गर्न जरुरी देखिन्छ। 

नेपालमा अब कोभिडले कस्तो रूप लिन्छ होला ? यसको बैठान कसरी होला ?

केहीले ५० औं हजार मर्छन् भनेर प्रक्षेपण गरे पनि त्यस्तो अवस्था भने नेपालमा आउँदैन। आठ महिनामा धेरै नागरिकहरू सचेत भएका छन्। यसले पनि संक्रमणलाई न्यूनीकरण गर्न सहयोग गरेको छ। जाडो सुरु भइसकेको छ, कोरोना संक्रमण हामीसँगै छ।

वृद्ध, दीर्घरोगीहरूलाई जाडोमा अन्य रोगले पनि सताउने अवस्था हुन्छ। जाडोमा संक्रमण बढेर सिकिस्त बनाउन सक्ने अवस्था रहन्छ। संक्रमण एउटा तहमा पुग्न सक्छ अहिलेलाई जाडोमा संक्रमणबाट बच्न चुनौती छ। 

चर्चामा आएजस्तै भारइसविरुद्ध एन्टीबडी बनाएर यससँगै अभ्यस्त हुँदै अघि बढ्नु पर्ने हो वा यसबाट मुक्ति पाउन भ्याक्सिन नै कुर्नुपर्ला ?

कोरोनाको कुरा गर्दा यसका अन्य दाजुभाइ प्रजातिको पनि अध्ययन आवश्यक हुन्छ। ‘सार्स कोरोना भाइरस’ जुन २१ औं शताब्दीको पहिलो महामारी थियो। त्यो २-३ वर्ष बसेर गयो। त्यसका लागि भ्याक्सिन बनाउन गरिएका सबै प्रयत्न विफल भए। मर्स कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्य २०१२ पछि आएर व्यवस्थित भइराखेको छ।


अहिलेको जुन सार्स कोभिड छ। यो एकदमै चाँडै फैलने प्रकृतिको छ। शङ्कै नगरेका व्यक्ति तथा स्थानमा पनि संक्रमण फैलिएको छ। यसलाई हेर्दा पक्कै पनि एक किसिमको इम्युनिटीमै जानुपर्छ जस्तो लाग्छ। यद्यपि यो अध्ययन र अनुसन्धानकै कुरा हो। संक्रमणपछि त्यसको एन्टीबडी दुईदेखि ३ महिनासम्म रहेको पाइएको छ।

समुदायका धेरै व्यक्तिमा संक्रमण हुने देखिन्छ। यसको भ्याक्सिनको कुरा गर्दा त्यति छिटै आइहाल्ला जस्तो लाग्दैन। आइहाले पनि पनि त्यसले दिने इम्युनिटी कति समयसम्म बस्छ वा कति पटक लगाउनुपर्छ भन्ने कुरा हुन्छ। यो २००२ मा आएको सार्सजस्तै एकपटक हावाजसरी आउने अनि हराएर जाने पनि हुनसक्छ। इन्फ्लूएन्जाजस्तो एक पटक संक्रमण भइसकेपछि एक लेभलको इम्युनिटी विकास हुने र केही व्यक्तिहरूलाई सिकिस्त बनाउने अवस्थामा जान पनि सक्छ भनेर हामीले सोच्नुपर्ने हुन्छ।

एकपटक संक्रमण भएर मुक्त भइसकेपछि फेरि संक्रमण हुने सम्भावना कति हो ?  त्यो कति खतरनाक हुन्छ ? 

फेरि संक्रमण हुने र त्यो खतरनाक हुने अवस्था अहिलेसम्म देखिएको छैन। जुन देशमा यसको सुरुवात भएको थियो। त्यहाँ पनि यस्ता खालमा केस फेला परेका छैनन्। केही औँलामा गन्न सकिने व्यक्तिमा पुनः संक्रमण भएको हो कि भन्ने केस बाहिर आएका हुन्। मुख्य कुरा पहिलो संक्रमण नै हो। पछि यसले रूप परिवर्तन गरेर त्यो अवस्थामा पुग्यो भने फरक कुरा हो। अहिलेसम्म देखिए अनुसार दोस्रो संक्रमण हुने सम्भावना एकदमै कम छ र भए पनि त्यसले सिकिस्त बनाउँदैन। 

कस्तो अवस्थामा सर्ने सम्भावना धेरै हुन्छ ?

सबैभन्दा महत्त्वपूर्ण कुरा के भने, लक्षणविहीन संक्रमितबाट ८ दिनपछि ज्युँदो भाइरस अरूमा सार्दैन। लक्षण भएका व्यक्तिमा भाइरसको ‘रियल पेल’ ५० दिनसम्म पनि देखिन्छ। त्यो पीसीआरमा पनि देखिन्छ। पीसीआरमा देखियो भन्दैमा त्यसमा संक्रमण छ भन्न मिल्दैन।
जनमानसमा के कुरा बुझाउन जरुरी छ भने, कोरोना संक्रमण देखियो भन्दैमा त्यो रोग हो भन्ने होइन। रोग भनेको त त्यसको कारणले ज्वरो आउने खोकी लाग्ने, श्वास–प्रश्वासमा समस्या हुने, निमोनिया हुनु हो।

कोरोना भाइरस संक्रमण देखिए रोग लागेजस्तो, पिसिआर नेगेटिभ आयो भने, ल रोगमुक्त भन्ने होइन। यसले शरीरलाई पार्ने दुष्प्रभावको अवस्थालाई मात्रै रोग भन्ने हो।

लक्षण देखिएकाहरूमा पनि १६ दिन भनिएको छ। बढीमा २० दिनपछि भाइरस निष्प्रभाव हुन्छ। परीक्षणमा त्यसको रिपोर्ट पोजेटिभ आए पनि त्यसलाई संक्रमित भन्न मिल्दैन। जस्तो कोभिडबाटै निमोनिया भएको व्यक्तिको स्वाबको नमुना नेगेटिभ आउँदा पनि ऊ रोगले ग्रस्त नै हुन्छ। अक्सिजन दिइरहनु परेको हुन्छ। रिपोर्ट  नेगेटिभ आयो भन्दैमा ऊ निको भयो भन्ने हुन्छ र ? संक्रमणपछि रोग देखिएकाको उपचारलाई फोकस गर्नुपर्छ। यो कुरा सबैलाई बुझाउन जरुरी छ।

कोरोनालाई आम व्यक्तिले कसरी बुझ्ने र कसरी अघि बढ्ने ?

कोरोनासँग रहेका भ्रामक कुरालाई हटाउन जरुरी छ। कोरोना ज्यादै खतरनाक छ  भन्ने त होइन तर यसले कसलाई कतिबेला सिकिस्त बनाउँछ भन्ने थाहा छैन। त्यो हाम्रो परिवारको एक वृद्ध सदस्य पनि हुन सक्छ, युवा सदस्य पनि। त्यस कारण आफू र आफ्नो परिवारलाई जोगाउन विशेष गरी वृद्ध, दीर्घरोगीलाई जोगाउन जरुरी छ। न्यूनतम सावधानीलाई पालन गरिदिनुहोस्। हेलच्याक्र्याइ नगरिदिनुहोस्। अनुशासित भइदिनुहोस्।
 

  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १९:३९:५८,   अन्तिम अपडेट : असोज १२, २०७७ साेमबार २२:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया