प्रहरीलाई पदक, 'बेखबर' आइजिपी: आइजिपीले बनाए नयाँ आचारसंहिता, उल्लंघन गरेर पदक लिनेको लर्को

नेपाल प्रहरीलाई अहिले नेतृत्व गरिरहेका शैलेश थापा क्षेत्रीको प्रहरी संगठनमा कति पकड छ भन्ने कुराहरुका प्रमाण विस्तारै खुल्दै आएका छन् । पछिल्लो समय नेपाल सरकारले संविधान दिवसमा दिने निर्णय गरेको सूचीमा प्रहरी संगठनबाट पनि यथेष्ठ अधिकारीहरु छन् । 

तर, यीमध्ये अधिकांश अधिकारीहरु प्रहरी कार्यालयबाट वा आइजिपीबाट सिफारिसमा परेका होइनन् । विभिन्न राजनीतिक दलका नेतालाई भेट्न पुगेका प्रहरी अधिकारीहरुले पदक पाएको खुलासा भएको हो । प्रहरी मुख्यालयले पदकका लागि सिफारिस गरेकाभन्दा धेरै ‘घुमाउरो’ बाटोबाट प्रधानमन्त्रीसम्म पुग्नेहरुले पदक पाएको खुलासा भएको हो ।

२८ भदौमा आइजिपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा एउटा आचारसंहिता जारी गरे । त्यो थियो, कार्यादेश २०७७ । 

यसको आचारसंहितामा प्रष्ट भनिएको छ– नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा लबिइङ गर्न पाउने छैनन् ।

प्रहरीको आन्तरिक संगठन बलियो बनाउन ल्याइएको आचारसंहिता थियो, यो ।

विडम्बना ! आचारसंहिता जारी भएको सात दिन नबित्दै प्रहरी अधिकारीहरुले पदकका लागि गरेको दौडधूपको खुलासा भयो । प्रहरी अधिकारीहरुबाट यो आचारसंहिता जारी भएपछि पनि प्रहरी अधिकारीहरुले ‘चोर बाटो’बाट पदक पाएपछि अहिले प्रहरी संगठनभित्र नै आइजिपी क्षेत्रीको प्रभावबारे प्रश्न उठ्न थालेको हो ।



नेपाल सरकारले ५ सय ९४ जनालाई पदक दिने गरेको यो निर्णयमा प्रहरी संगठनका छन्, ७० जना ।

प्रहरी उच्च स्रोतका अनुसार प्रहरीमा पदक पाउनेको संख्या प्रहरी हेडक्वार्टरले सिफारिस गरेको भन्दा दोब्बरभन्दा पनि बढी हो । पदक पाउनेको सूची सार्वजनिक भएपछि प्रहरी कार्यालयमा पनि खैलाबैला मच्चिएको छ । 



‘प्रहरी हेडक्वार्टरले ३३ जना प्रहरी कर्मचारीको नाम पदक पाउनका लागि सिफारिस गरेको थियो,’ स्रोतले फरकधारलाई बतायो, ‘तर, अन्तिममा पदक पाउने प्रहरीको संख्या त ७० पो पुगेछ ।’ 

विभुषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्डमा सुरक्षा निकायका राष्ट्रसेवकहरु पाउने पदकका संगठन प्रमुखले नै सिफारिस गर्नुपर्ने उल्लेख छ । तर, यो पटक प्रहरीमा संगठन प्रमुखबिनै शक्तिकेन्द्रको सिफारिसमा प्रहरी गरेको सिफारिस भन्दा बढीले पदक पाएका छन् । 

स्रोतका अनुसार यसरी विभुषण र पदक पाउनेहरु प्रधानमन्त्री र गृहमन्त्री निकट प्रहरीहरु छन् ।

तर, यसमा आइजिपी क्षेत्रीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाउन सकेका छैनन् । ‘उहाँले नै आचारसंहिता ल्याएपछि यो घटनामा उहाँबाट एक्सन भइसकेको हुनुपथ्र्यो,’ स्रोत बताउँछ, ‘तर, यस विषयमा अहिलेसम्म केही हुन सकेको छैन । केही नहुनु भनेको उहाँले प्रहरी संगठनलाई कस्तो नेतृत्व दिनु भएको छ भन्ने पनि हो ।’ 

स्रोतले भन्यो, ‘प्रहरीको सिफारिस भन्दा बाहिरका सिफारिसमा पदक पाएकालाई नयाँ अचारसंहिता अनुसार कारबाही हुनुपर्ने हो, तर अहिलेसम्म भएको छैन । भन्ने मात्र हो कि हाइप्रोफाइका घटनामा प्रहरीबाट केही कारबाही पनि हुन्छ, यहीबाट पुष्टि हुन्छ ।’ 

तर, प्रहरी संगठन यो विषयमा बोल्न चाहँदैन । प्रहरी प्रवक्ता कुबेर कडायतले प्रहरीबाट सिफारिसमा कोको परे र बाहिरबाट कोको परे भन्ने विषयमा आफूले बोल्न पनि नमिल्ने र आफूलाई एकिन पनि नभएको बताउँछन् । उनको दाबी त पदक पाउने सबै प्रहरी अधिकारी हेडक्वार्टरबाटै सिफारिस भएका हुन् । 

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १०:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया