महामारीकै बीच मालपोत कार्यालयमा सेवाग्राहीको भिड

कोरोना भाइरस संक्रमणको जोखिमबीच कैलालीस्थित मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । बिहानैदेखि कार्यालयको गेटभन्दा बाहिरसम्म सेवाग्राहीको लाम लागेको छ । 

यसअघि कर्मचारीमा कोरोना देखिएपछि दुई दिन सेवा बन्द गरिएको थियो । बन्दपछि कार्यालय खुलेसँगै मंगलबार सेवाग्राहीको भीडभाड बढेको हो । सेवाग्राहीले सामाजिक दूरीसमेत पालना गरेका छैनन् । 

मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन् । असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भने पनि कैलाली मालपोत त्यसको पालना हुन नसकेको सेवाग्रहीको गुनासो छ । 

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आँकलन भइरहे पनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, न त स्यानिटाइजर कै व्यवस्था गरेको छ ।

सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् । 

कार्यालयका एक जनामा संक्रमण देखिएपछि तीन दिन कार्यालय शिल गरेका कारण पनि सेवाग्राहीको भिडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए । भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख केसीले जानकारी दिए । 
 
 





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १३:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया