आइजिपी शैलेश थापाको ‘थापा मोह’

असारको अन्तिमतिर जब प्रहरी प्रमुखमा शैलेश थापा क्षेत्री नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्‍यो, तब प्रहरी प्रशासनमा एउटा खुसी छायो– स्वच्छ छविका थापाले अब प्रहरी प्रशासनमा आमूल परिवर्तन ल्याउने छन् । 

तर, आइजिपी भएको केही महिनामा नै आइजिपी थापाको अकर्मण्यता र उनले गरिरहेका ‘तिकडम’को खुलासा हुँदै गएको छ ।

यसैको सिलसिला हो, उनी प्रहरी प्रमुख भएर आएपछि प्रहरीका विभिन्न नेतृत्वमा पुगेका ‘थापा’हरुको समूह ।

प्रहरी महानिरीक्षकको पद सम्हालेपछि आइजिपी थापाले आफूसँग थर मिल्नेहरुलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘त्यति मात्र होइन, आफूलाई आइजिपी बनाउन भूमिका खेल्नेहरुलाई पनि उहाँले प्राथमिकतामा राख्न थालेको देखिएको छ,’ थापासँगै निकट एक प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय प्रहरी हेडक्वार्टरमा समेत थापाले थापाहरुलाई प्राथमिकता दिन थालेको गाइँगुइँ चल्न थालेको छ । 

यसका केही उदाहरणहरु हेरौँ  ।



असारको अन्तिम साता आइजिपी भएलगत्तै शैलेश थापाले आफ्नो सचिवालयमा नियुक्ति गरे, रमेश थापा । एसपी रमेश थापा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन् । ओलीनिकट भक्तपुरका सांसद महेश बस्नेतसँग राम्रो सम्बन्ध भएका एसपी थापाले बस्नेतकै च्यानलबाट ओलीसँग सम्बन्ध बढाएका हुन् ।

प्रधानमन्त्री ओली र सांसद महेश बस्नेतसँग नजिक आइजिपी थापाले यही कारण पनि एसपी रमेश थापालाई आफ्नो सचिवालयमा नियुक्त गरेका हुन् ।



महानगरीय अपराध महाशाखामा दीपक थापा, नेपाल प्रहरीको अनुसन्धान ब्यूरोमा सिआइबीमा सहकुल थापा तथा भक्तपुरमा प्रहरी प्रमुखको जिम्मेवारीमा तारा थापा पुग्नु एउटा संयोग मात्रै हो भन्न सकिने अवस्था छैन ।

अझ अचम्मको नेक्सस त के भने तारा थापा आइजिपी शैलेश थापाको सचिवालयका एसपी रमेश थापाकी श्रीमती हुन् । 

‘आइजिपी साब इमान्दार व्यक्ति हो, उहाँको इमान्दार छवि त छँदै छ,’ नेपाल प्रहरीकै एक उच्च तहका अधिकारी बताउँछन्, ‘तर, पछिल्लो समय उहाँबाट निर्देशित नियुक्तिहरुमा थापाहरुको वर्चश्व देखिँदा उहाँको नेतृत्वमाथि प्रश्न उठेको छ ।’

तर, यो दाबी र तथ्यलाई स्वीकार गर्न तयार छैनन् प्रहरी प्रवक्ता कुबेर कडायत । फरकधारले आइजिपी थापाले त जताततै थापा नै ल्याउनु भएको रहेछ भन्ने प्रश्न गर्दा प्रवक्ता कडायतले भने, ‘त्यस्तो होइन, प्रहरीमा थर हेरेर त्यस्तो गरिँदैन । जो सबल र सक्षम हुनुहुन्छ, मापदण्डको आधारमा नै उहाँहरुलाई जिम्मेवारी दिइएको हो ।’ 

त्यसो त पछिल्लो समय आइजिपी थापाको नेतृत्वमाथि प्रहरी संगठनभित्रै प्रश्न उठ्न थालेको छ । फरकधारमा यसअघि थापा र प्रधानमन्त्रीबीच ३ महिनाभन्दा कम समयमा नै ४० पटकभन्दा बढी भेटघाट भएको समाचार प्रकाशित भइसकेको छ । त्यस्तै, सरकारले संविधान दिवसका दिनमा दिएको पदकमा प्रहरी संगठनबाट आइजिपीले सिफारिस गरेभन्दा धेरैलाई पदक दिइएको छ । यस्ता प्रसंगले आइजिपी शैलेश थापा क्षेत्रीमाथि प्रहरी मुख्यालयमा नै प्रश्न उठ्न थालेको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १४:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया