नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए । ‘कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष ढुङ्गानाले पिसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसिआर परीक्षणलाई सहज बनाउन आग्रहसमेत गरे ।
नेविसंघले डा. गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा. केसीको जीवनरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ । यस्तै, बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।