नेपाल-भारत सम्बन्धलाई समझदारी र सुझबुझका साथ अघि लैजानु महात्मा गान्धीप्रति सच्चा सम्मान हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् ।
गान्धीको १५१ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा सिंहले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्तिका रुपमा विश्वले गान्धीको स्मरण गरेको बताए ।
अत्यन्त चमत्कारिक, असल र ठूलो नेताका रुपमा विश्वले गान्धीलाई चिन्ने गरेको भन्दै उनले कार्यक्रममा गान्धीको वैश्विक आयामबारे चर्चा गरेका थिए ।
नेता सिंहले २०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान्धीबारे बोल्न पाउनुलाई अवसरका रुपमा लिएको पनि बताए । चरित्र र नैतिकताले ठूलो शक्तिलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण गान्धी भएको भन्दै उनले तुलसीमेहर श्रेष्ठकै माध्यमबाट नेपालीबारे गान्धीले जानकारी लिएको बताए ।
भारतमा स्वतन्त्रता संग्राम आन्दोलनमा लागेका नेताहरुलाई मनको भय हटाउन सक्नुपर्छ भनेर गान्धीले भनेको कुरा आफ्ना पिता गणेशमान सिंहले स्मरण गरेको पनि उनले सुनाए । कांग्रेसका संस्थापक नेताहरु गणेशमान सिंह र किसुनजीले १९४७ मा कलकत्ताको विरला धर्मशालामा गान्धीलाई भेटेको पनि सिंहले स्मरण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।