कोरोना महामारीका कारण पर्यटन क्षेत्र ओरालो लागिरहेकै बेला प्रदेश १ मा पहिलो पटक पाँच तारे होटल सञ्चालनमा आएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा झापाको मेचीनगरमा प्रदेश १ कै पहिलो पाँचतारे होटल मेची क्राउन सञ्चालनमा आएको हो ।
पूर्व पश्चिम राजमार्गसँगैको मेचीनगर–८ जोरसिमलमा रहेको उक्त होटल आठ बिघा क्षेत्रफलमा छ । भारत, बंगलादेश, भुटानका पाहुनासमेत आउने अपेक्षा सञ्चालकको छ ।
भेगास इन्टरटेन्मेन्ट प्रालिले यो होटल सञ्चालनमा ल्याएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर चार वर्षअघि बाटै होटल निर्माण थालिएको सञ्चालकको भनाइ छ ।
पाँचतारे होटल काठमाडौं, पोखरा केन्द्रित रहेको समयमा पूर्वमा पाँचतारे होटल खोलेको सञ्चालकको भनाइ छ । होटलभित्र पार्क, पानीको फोहोरा, हावा घर, हेलिप्याड, पाँच सयभन्दा बढी सवारी अट्ने पार्किङ, स्विमिङ पुलसमेत रहेको छ ।
विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हासिल गरी फर्किएका ४ युवाको टिमले ‘होटेल मेची क्राउन’ सञ्चालन गरेका हुन् ।
चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोरा विमानस्थलबाट २५ किलोमिटरको यात्रा तय गरेपछि होटल मेची क्राउन पुुग्न सकिन्छ । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, ग्रीन गार्डेनगायत सुविधा छन् ।
पर्यटन क्षेत्रको अवस्था सुधार हुँदै गए भविष्यमा व्यापारिक मलसमेत होटलभित्रै खोल्ने योजना रहेको सञ्चालकहरुले जानकारी दिएका छन् ।
होटलमा क्यासिनो सञ्चालन भएपछि ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालकको दाबी छ ।
सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १ सय ५ वटा सुविधासम्पन्न कोठा छन् । होटलमा पाँच वटा सुइट रुम, १० भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स रुम रहेको होटलका म्यानेजर नितेश पोखरेलले बताए ।
झापाको बिर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।