विश्व नेता को कोलाई भयो कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएसँगै उनी पनि कोरोना सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।

यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाबाट सङ्क्रमित भएका थिए । को को थिए उनीहरु ? 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा सङ्क्रमण भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर, भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्ना काम गरेका थिए । 

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो



ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना सङ्क्रमण भएको थियो । उनले सङ्क्रमित भएका बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए । त्यो अहिले पनि अप्रमाणित नै छ । उनले सामाजिक दूरी कम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गरेका थिए । उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन् । उनकी श्रीमती पनि सङ्क्रमित भएकी थिइन् । 



होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना संक्रमण भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर, उनमा लक्षण भने सामान्य मात्रै देखिएको उनले बताए । उनले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए ।

ग्वाटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

कोरोनाबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा ग्वाटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुन् । उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण भएको थियो । आफूलाई कोरोना सङ्क्रमण भएपछि टेलिभिजन सम्बोधनमार्फत् उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको बताएका थिए । उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए ।   

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोनाबाट सङ्क्रमित भएका थिए । उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेसनमा बसेका थिए । उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेनन् । कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुन् । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टि भएको थियो । अनेजको कार्यालयका केही सदस्यहरूमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा उनमा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरूमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर 

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोनाबाट सङ्क्रमित भएका थिए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भइ सङ्क्रमणमुक्त भएको समाचारमा जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनु अगाडि नै साता लामो आइसोलेसनमा पनि बस्नुपरेको थियो ।  

इरानका उपराष्ट्रपति र मन्त्रीहरु 

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरी र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसबाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए । 

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोनाबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म विश्वभरी १० लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट संसारभरि कुल ३ करोड ४५ लाख १७ हजार ४४६ जना सङ्क्रमित भएका छन् भने तीमध्ये २ करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन् ।  सङ्क्रमित भएकाहरुको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा २ लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितहरुको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन् ।

  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार २०:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया