कोरोना संक्रमितमध्ये ६० प्रतिशत उपत्यकामा

देशभर देखिएको कोरोना संक्रमणको अवस्थालाई हेर्दा  काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । लकडाउन खुला भएपछि गाउँघरका मानिस उपत्यका फर्किएसँगै यहाँ संक्रमणदर बढेको हो ।

पछिल्ला दिनहरूमा देरभरमा सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । संक्रमण फैलिएको सुरुवाति चरणमा वीरगञ्जलाई कोरोनाको हटस्पटका रुपमा लिइए पनि पछिल्लो समय भने तराईका जिल्लामा संक्रमितको संख्या कम हुँदै गएको छ तर उपत्यकामा भने संक्रमणको ग्राफ निरन्तर उकालो लागेको छ ।

पछिल्लो साताको तथ्यांकअनुसार कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकामै रहेका छन् । संक्रमण दर औसतमा करिब १४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उपत्यकामा संक्रमणको जोखिम अत्यधिक रहेको र राज्यले नियन्त्रणको नयाँ नीति नलिने हो भने संक्रमण दर मात्र नभएर मृत्युदर पनि बढ्ने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय उपत्यकामा जसरी कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ त्यही रफ्तारमा संक्रमित बढ्दै जाने र सरकारले नियन्त्रणको नयाँ नीति नलिए यहाँ मृत्युदर पनि बढ्नेछ ।’

यहाँ दैनिक थपिने संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेहरुको सङ्ख्या कम छ । यसले कोरोना महामारी लामो समय जाने संकेत दिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नभएको र भीडभाड बढी भएको ठाउँमा संक्रमणदर घटाउन गाह्रो पर्ने उनीहरुको तर्क छ । आम नागरिक आफैंले अनुसाशन पालना नगरेकाले महामारी लामो समय रहने देखिएको सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ तथा जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनले बताए ।

देशभरको तथ्यांक केलाउँदा मृत्युको सङ्ख्या पनि काठमाडौं उपत्यकामा नै बढी छ । सरकारी तथ्यांकअनुसार देशभर ५२० संक्रमितको मृत्यु हुँदा १३७ भन्दाबढी  उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कोरोना संक्रमण समुदायमा गइसकेको भनेर औपचारिक रुपमा स्वीकार गरेको छैन ।

सरकारले बारम्बार जनचेतनाका लागि भन्दै स्वास्थ्य सन्देशहरू जारी गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिँदै आएको छ ।



उपत्यका देशभरका मानिसहरुको आवतजावत गर्ने प्रमुख थलो हो । यहाँ मानिस विभिन्न प्रयोजनका लागि आउने गर्दछन् । उपत्यकामा मानिसको चहलपहल बढी भएकै कारण संक्रमण बढेको हो । यसरी संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भएर भयावह स्थितिमा पुग्नै लाग्दासमेत महामारी नियन्त्रणमा भरपर्दो नीति अवलम्बन गर्न नसकिएको गुनासो छ ।



  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १४:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया