बालुवाटार छिर्‍यो कोरोना, प्रधानमन्त्रीको पिसिआर भने नेगेटिभ

देशभर कोरोना संक्रमण बढ्दो क्रममा छ । शुक्रबार र शनिबारको रिपोर्ट हेर्दा यहाँ अत्यधिक मात्रामा संक्रमण फैलिएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार देशभर २ हजार ७ सय २२ जना संक्रमित फेला भएका थिए भने, उपत्यकामा मात्र १ हजार ६३८ जनामा संक्रमित थिए । 

त्यस्तै शनिबार २ हजार १२० जना संक्रमित भएका छन् भने उपत्यकामा मात्र १ हजार १७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै बालुवाटारमा कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको नतिजाअनुसार बालुवाटारमा कोरोना प्रवेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत ६ जनामा कोरोना संक्रमण देखिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रधानमन्त्री सचिवालयमा कार्यरत ६ जनाको रिपोर्ट पोजेटिभ आउँदा प्रधानमन्त्री ओलीको रिपोर्ट भने, नेगेटिभ आएको हो । 

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश वज्राचार्य, दिपेन्द्र दाहालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।

शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, फोटोग्राफर राजन काफ्ले र प्रेस विज्ञका एकजना चालकको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंको रिपोर्ट भने आउन बाँकी रहे पनि उनका चालकको रिपोर्ट भने पोजेटिभ आएको छ । ‘मेरो रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म आएको छैन । मेरो चालकलाई भने पोजेटिभ देखिएको छ । बाँकी साथीहरूको पनि व्यक्तिगत रूपमा रिपोर्ट आउने भएकाले सबैको जानकारी हुन सकेन’, बजगाईंले भने ।



पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढ्दै जाँदा प्रधानमन्त्री ओली सहित सचिवालयका सदस्यहरूले शुक्रबार परीक्षणका लागि स्वाब दिएका थिए ।



  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १७:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया