देश कोरोनाभाइरसका कारण प्रताडित छ । तर, सत्तारुढ दलका नेता अहिले पनि आफ्नै विषय र स्वार्थमा केन्द्रित छन् । पछिल्लो समय प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाका नेताहरुबीच गर्मागर्मी बहस सुरु भएको छ ।
शुक्रबार प्रदेश ५ को सरकारले प्रदेशको राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लैजाने निर्णय गरेको थियो ।
त्यसपछि प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदर्शन सुरु भएको छ । अब प्रदेशको यही मुद्दाले केन्द्रमा पनि नेकपाका नेताहरुबीच बहस सिर्जना गर्न थालेको छ ।
शनिबार प्रदेश ५ को नेकपाको संसदीय दलको बैठकमा प्रदेशको राजधानी देउखुरी बनाउन मत दिन पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको थियो । पार्टीको यो निर्णय नमान्नेहरुलाई कारवाही गरिने चेतावनीसमेत दिइएको थियो ।
यही विषयमा आइतबार दिनभर बालुवाटारमा पनि चर्को छलफल भएको छ । छलफलमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, जनाद्र्धन शर्मा प्रभाकरलगायत सहभागी थिए ।
स्रोतका अनुसार यो छलफलमा विष्णु पौडेलले अहिले प्रदेश ५ को सरकारले ल्याएको प्रस्तावमाथि पुनर्विचार हुनु पर्ने माग राखेका थिए । उक्त बैठकमा उनको यो माग आएसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसमा असहमति मात्र जनाएनन्, उनले नेकपा अध्यक्षद्वयलाई आफूले यसअघि पत्र लेखेको र यसबारे जानकारी र सहमति लिएर मात्र अगाडि बढेको स्मरणसमेत गरेका थिए ।
‘पोखरेलले पौडेलको पूरै अभिव्यक्ति नसकिँदै आफ्नो अडानमा कायम राखेर अब प्रदेश ५ को राजधानी दाङ नै हुने आशय व्यक्त गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले फरकधारलाई बताए, ‘तर, पौडेल यसमा सहमत हुनुहुँदैन, उहाँ यो विचारमाथि एकपटक पुनर्विचार गर्नु पर्ने मान्यतामा नै हुनुहुन्छ ।’
पौडेल र पोखरेलको यो विषयमा गर्मागर्मी बहस भए पनि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यो विषयमा खासै केही नबोलेको स्रोतको दाबी छ ।
यसअघि यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सहमति भइसकेकाले पनि उनीहरुले आजको बैठकमा यस विषयमा पौडेल र पोखरेलका तर्कलाई मात्र सुनेको हुनसक्ने अनुमान छ ।
अर्कोतिर, नेकपाका केही नेताहरुले प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने विषयमा नेकपाका नेताहरुबीच पदको बाँडफाँड भएर यो विषय टुङ्गिएको पनि बताएका छन् ।
आइतबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका नेताहरुसँगको छलफल सकिएपछि पोखरेल बुटवल फर्किएका छन् ।
बुटवलमा प्रदेशको राजधानी दाङ लैजाने प्रस्तावको विरोधमा पछिल्ला दिन दैनिक प्रदर्शन हुन थालेका छन् । आइतबार साँझ पनि बुटवलको चौराहा चोकमा मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा हानिएको छ । मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार भएपछि त्यहाँ प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइफायरसमेत गरेको थियो । प्रहरीले यो घटनामा ६ जनालाई पक्राउ पनि गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।