प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पछिल्लो समय सुरु भएको प्रदर्शनलाई रुपन्देही कांग्रेसले समर्थन गरेपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले बारम्बार कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने प्रदेश सरकारको निर्णयलाई समर्थन गरिदिन अनुरोध गर्दै देउवालाई ओली र प्रचण्डले सम्पर्क गरेको फरकधारलाई स्रोतले जनाएको छ ।
यही विषयमा विवाद बढ्दै जाँदा आइतबार दिनभर बालुवाटारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेललगायतले अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेका थिए ।
देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार ओली र प्रचण्डले देउवालाई प्रदेशको राजधानी दाङ लैजाने निर्णयमा सहमति जनाउन अनुरोध गरेका छन् ।
अहिले बुटवलमा नेपाली कांग्रेसले प्रदेश सरकारको यो निर्णयविरुद्ध आन्दोलन मात्र चर्काएको छैन, चार दिनका लागि रुपन्देही बन्दको आह्वानसमेत गरेको छ ।
आइतबारमात्र काठमाडौंबाट फर्किएका मुख्यमन्त्री पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । ढुंगा हानेको आरोपमा कांग्रेसका पाँच जना नेता तथा कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।