यी पाँच बानी : जसबाट हुन्छ छालालाई हानि

एजेन्सी– मानिसहरू छालाको हेरचाहलाई लिएर हैरान हुने गर्छन् । छाला राम्रो बनाउन भन्दै महँगो ब्युटी प्रोडक्ट्सको प्रयोग र विभिन्न घरेलु उपाय अपनाउने गर्छन् । यति गर्दागर्दै पनि छाला सुक्खा र फुस्रो हुने समस्या रहिरहन्छ  । यस्तो हुनुमा हाम्रो बानीले पनि प्रभाव पार्छ । हाम्रा केही गलत बानीका कारण छालामा विभिन्न असर परिरहेको हुन्छ । तर, त्यस्ता बानीले छालामा कत्तिको असर गरिरहेको छ भन्ने कुरा थाहा नै हुँदैन । त्यसैले यसबारे थाहा पाउन जरुरी छ । छालालाई हानि गर्ने पाँच बानी यस्ता छन् :

१. धेरै स्विमिङ गर्ने बानी

अहिले गर्मी मौसम सुरु भइसकेको छ । धेरैले यो समयमा स्विमिङ गर्ने गर्छन् । स्विमिङ शरीरको फिटनेसको लागि अति उपयोगी व्यायाम हो । तर, स्विमिङ पुलको पानीमा क्लोरिन मिसिएको हुन्छ । जुन छालाका लागि हानिकारक हुन्छ । स्विमिङपछि सफा पानीमा नुहाए पनि क्लोरिन राम्ररी पखालिएको हुँदैन र यसले छालाको स–साना छिद्र वा प्वाललाई बन्द गरिदिन्छ । त्यसैले धेरै पौडी खेल्ने गर्नाले छालालाई ड्यामेज गर्न सक्छ ।

२. कोल्टे फर्केर सुत्ने बानी

यदि दायाँ र बायाँतिर कोल्टे फर्केर सुत्ने बानी छ भने यो बानीलाई हटाएर सीधा उत्तानो परेर सुत्ने बानी बसाल्नुपर्छ । किनभने दायाँ वा बायाँ कोल्टे फेरेर सुत्दा अनुहार सिरानीमा रगडिने हुन्छ । यसले कम उमेरमै अनुहारमा चाउरी वा धर्सा बस्ने खतरा बढ्छ । 

३. तातो पानीले नुहाउने बानी



अधिकांश मानिसले चिसो पानीले नुहाउँदा ज्वरो आउने डरले तातो पानीले नुहाउने गर्छन् । आनन्द महसुसका लागि भए पनि कतिपयले तातो पानीले नुहाउने गर्छन् । त्यसमाथि पनि ‘हट सावर’ लिन मन पराउँछन् । तर, ज्यादा तातो पानीले नुहाउनु छालाका लागि हानिकारक हुन सक्छ । तातो पानीले हाम्रो छालालाई सुक्खा बनाउनुका साथै छालामा रहेको ‘नेचुरल मोइस्चर’मा पनि असर गर्छ । त्यसैले धेरै चिसो र धेरै तातो पानीको प्रयोग गर्नुहुँदैन ।

४. नुन या चिनी धेरै खाने बानी



नुनमा पाइने सोडियम शरीरका लागि अत्यावश्यक तत्व हो । तर यसको मात्रा बढी भएमा छालाको मोइस्चरलाई यसले सोस्ने गर्छ । यसले गर्दा छाला सुक्खा, फुस्रो हुने हुन्छ । चिनीको अत्यधिक प्रयोग पनि छालाका लागि हानिकारक छ । चिनीले छालाको ‘कोलाजन लेभल’मा प्रभाव पार्छ । यसले गर्दा छाला झोलिन्छ र नराम्रो देखिन्छ । 

५. अरूले धूम्रपान गर्दा नजिकै बसेमा 

आफूले स्मोकिङ नगरे पनि यदि कुनै साथी वा आफन्तले  चुरोट खाँदै गर्दा उनीहरूसँगै बस्दा प्यासिभ रूपमा स्मोकिङ भइरहेको हुन्छ । यो स्वास्थ्य (छाती)को साथसाथै छालाका लागि पनि हानिकारक हुन्छ । चुरोटको धुवाँमा रहेको हानिकारक निकोटिन र टारले छालामा चाउरीपन ल्याइदिन्छ । यसले गर्दा उमेर नपुग्दै बुढ्यौलीको निशाना देखिन थाल्छ । त्यसैले यो बानीलाई हटाउनुपर्छ । 

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार २१:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया