सरकारलाई साझा पार्टीको प्रश्न- के डा. केसीलाई मार्नै खोजेको हो ?

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनशन डा. गोविन्द केसीको नाजुक बन्दै गएको स्वास्थ्य अवस्थालाई लिएर साझा पार्टीले चिन्ता व्यक्त गरेको छ । साझाले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै सरकारलाई प्रश्न गरेको छ– के डा. केसीलाई मार्न खोजेको हो ?

विज्ञप्तिमा डा. केसीलाई उठाएका कुनै माग नाजायज भए त्यसको व्याख्या गरेर आम जनतालाई व्याख्या गर्नुपर्ने पनि बताएको छ । ‘होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्यो’, विज्ञप्तिमा उल्लेख छ । 

डा. केसीले अहिलेसम्मका हरेक अनशनमा उठाएका मागहरु देशले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भए तापनि उनले फेरि फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझाले निष्कर्ष निकालेको छ । 

‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन् । यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंदेनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन,’ विज्ञिप्तिमा लेखिएको छ, ‘कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएर लैजाओस् भनेझैं रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

२०७५ साउन १० गते केसीसँग भएका सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई तिनै केसी उही मागसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? विज्ञप्तिमा प्रश्न गरिएको छ । 

साथै सरकारको बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने भन्दै साझाले सरकारलाई विज्ञप्तिमार्फत सचेत गराएको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १४:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया