कोरोना महामारीकै बीच केही विद्यालय खुले
विद्यार्थी तथा अभिभावक खुसी, सिकाइस्तर खस्किएको शिक्षकको गुनासो

कोरोनाका कारण शिक्षा क्षेत्र धेरै प्रभावित बनेको छ । करिब छ महिनापछि शैक्षिक संस्थाहरु आंशिक रुपमा सञ्चालनमा आएका छन् । सहरी क्षेत्रमा विद्यालय सञ्चालनको अनुमति नपाए पनि कतिपय ग्रामीण इलाकामा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । सहरी क्षेत्रका विद्यालयहरूले अनलाइनमार्फत् कक्षा चलाए पनि सिन्धुपाल्चोक, लमजुङ लगायत जिल्लाका ग्रामीण इलाकामा कक्षा सञ्चालन भएका छन् । 

काठमाडौं उपत्यकाका केही नगरपालिकाले निर्णय नै गरेर विद्यालय सञ्चालनमा ल्याउने प्रयत्न गरेका छन् । 

लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर, अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको शिक्षकहरुको गुनासो छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाउँका सन्तोष नेपाली श्री पञ्चकन्या आधारभूत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएका सन्तोष छ महिनापछि मात्रै छ कक्षामा पढ्न पाउँदा पनि खुसी छन् ।

घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका नेपाली आफूलाई पढ्नुपर्छ भन्ने लागे पनि विद्यालय आएर नियमित पढेजस्तो नभएको अनुभव सुनाउँछन् । कोरोना त्रासका बीचमा विद्यालय आउनुपर्दा उनी माक्स लगाएर आउने गर्छन् । घरबाट निस्कने बेला स्यानिटाइजर लगाएर आउने उनी विद्यालयमा भने पटक–पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाउँदा आफू खुसी भएको उनको भनाइ छ ।

सोही ठाउँका सुस्मिता भण्डारी पनि कक्षा ६ मा नै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकाले दुःखी भए पनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।



कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दूरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाइ छ । पटक-पटक साबुनपानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसी लागेको बताउँछिन् ।

सुस्मिताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकोमा आफू धेरै खुसी भएको बताउँछिन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाइ छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उनको अपेक्षा छ ।



पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पूरा गर्न नसकेको उनको भनाइ छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उनले बताए ।

अझै पनि देशभरिका सबै शैक्षिक संस्था खुल्न सकेका छैनन् । कतिपय विद्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भने पनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन् ।

 

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १६:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया