अमित मिश्राले आइपिएल गुमाउने, सन्दीपको सम्भावना बढ्यो

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्राले बाँकी खेल गुमाउने भएका छन् । औँलाको चोटका कारण मिश्राले आइपिएल गुमाउने भएपछि यसको प्रत्यक्ष फाइदा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई पुग्ने देखिन्छ ।

मिश्रालाई कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा औँलामा चोट लागेको थियो । उनले उक्त खेलमा २ ओभर बलिङ गर्दा १४ रन दिएर १ विकेट हात पारेका थिए । मिश्राले यो सिजन दिल्लीका लागि ३ खेल खेल्दा तीनै विकेट हात पारेका छन् ।

मिश्राले आइपिएल गुमाउने भएपछि अब दिल्लीका लागि स्पिनरका रुपमा रवीचन्द्र आश्विन, अक्सर पटेल र सन्दीप लामिछाने मात्र छन् ।

दिल्लीले अक्सर पटेललाई अलराउन्डरका रुपमा नियमित खेलाउँदा, आश्विनलाई मुख्य स्पिनरको रुपमा खेलाउनेछ । तर, आश्विनले कुनै खेलमा खराब प्रदर्शन गरेमा सन्दीप विकल्पको रुपमा रहनेछन् । त्यस्तै, दिल्लीलाई थप स्पिनरको आवश्यकता परेको खण्डमा पनि सन्दीपले मौका पाउनेछन् । 

यदि सन्दीपले खेल्ने मौका पाएमा विदेशी कोटाबाट खेलिरहेका सिम्रन हिटमायर, एनरिच नोर्टजे र मार्कस स्टोनिसमध्ये एक बेन्चमा बस्नुपर्नेछ ।

दिल्लीबाट लगातार तेस्रो सिजन आइपिएल खेल्न लागेका सन्दीपले यो सिजन भने मौका पाएका छैनन् । ४ खेलमा ३ खेलमा जित र १ खेलमा हारको नतिजा निकाल्दै दिल्ली ६ अंकका साथ दोस्रो स्थानमा छ । उसले आज रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्दै छ । 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १८:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया