प्रदेश राजधानीका विषयमा प्रदेश ५ को प्रदेशसभामा सोमबार लफडा भयो । प्रदेश सांसदहरुले कुर्सी तोडफोड गरेको भिडियो अहिले सामाजिक सञ्चालमा छाएको छ । भिडियोमा दुई सांसदले जोडजोडका साथ कुर्सीलाई टेबलमा बजारेका छन्। उनीहरुले कुर्सीले हानेर सांसदलाई बोल्नका लागि टेबलमा राखिएको माइकसमेत भाँचेका छन् ।
यो घटनापछि धेरैले केही वर्षअघि संविधानसभा भएको तोडफोडलाई सम्झिएका छन् । त्यतिबेला पनि तत्कालीन प्रतिपक्षी दल माओवादी र मधेसवादी दलका सांसदले कुर्सी तोडफोड गरेका थिए ।
२०७७ असोज १९ गते प्रदेश ५ प्रदेशसभामा जे भयो
प्रदेश सरकारकातर्फबाट गत शुक्रबार प्रदेशको राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिएको थियो । साथै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पेस भएको थियो । नामका विषयमा खासै विवाद देखिएन । तर राजधानीको विषयमा भने तनाव सिर्जना भएको छ।
प्रस्ताव आएदेखि नै रुपन्देही, नवलपरासीका कांग्रेसले यसको विरोध गरिरहेका थिए । शुक्रबार बेलुकादेखि नै बुटवलका सडकमा आगजनीसहित प्रदर्शन भएका थिए । शनिबार पनि प्रदर्शन भएपछि प्रशासनले निषेधाज्ञा लगायो । निषेधाज्ञा तोडेरै प्रदर्शन भए ।
विरोध र असन्तुष्टिकाबीच सोमबार प्रदेशसभा बैठका राजधानी र प्रदेशको नामका विषयमा छलफल हुने तयारी थियो । बैठक सुरु हुनेवित्तिकै आफ्ना भनाइ राखेर कांग्रेस सांसले बैठकमा नाराबाजी गरे ।
त्यसपछि केही घण्टा रोकिएको बैठक पुनः सञ्चालन भयो । कांग्रेस सांसदको विरोधका बाबजुद सभामुखले प्रस्तावमाथि छलफल अघि बढाए । नाराबाजी भइरहँदा पनि बैठक नरोकिएपछि कांग्रेस सांसदहरु तोडफोडमा उत्रिए ।
२०७१ माघ ५ गते संविधान सभामा जे भयो
दोस्रो संविधानसभा संविधान बनाउने प्रक्रियामा जुटेको थियो । त्यसबेलाको सरकारमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइराला प्रधानमन्त्री थिए । तत्कालीन नेकपा एमाले सत्ता साझेदार दल थियो ।
प्रमुख प्रतिपक्षी दल थियो तत्कालीन नेकपा(एमाओवादी) । मधेस केन्द्रीत केही दल सकारमा थिए र केही दल प्रतिक्षमा । सरकारमा रहेका दुई पार्टीले पलेर आफू अनुकुल संविधान बनाउन लागेको भन्दै माओवादी लगयत प्रतिपक्षमा रहेका दलहरुले त्यसविरुद्ध संघर्ष गर्न मोर्चा पनि बनाएका थिए ।
सकड आन्दोलन पनि गरिरहेका थिए । माओवादी लगायतका दलको सहमति नभएपनि वहुमतका आधारमा निर्णय गर्दै संविधान निर्माणको काम अगाडी बढाउने तयारी सत्तारुढ दलको थियो ।
यसै क्रममा २०७१ साल माघ ५ राति संविधान सभाको बैठकमा तोडफोडको घटना भएको थियो ।
अघिल्ला बैठकहरुमा विपक्षीको अवरोधका कारण प्रस्तुत हुन नसकेको प्रश्नावली निर्माणको लागि प्रस्ताव समितिको प्रस्ताव संविधानसभामा अध्यक्ष सुवास नेम्बाङ आफैँले प्रस्तुत गरे । प्रस्ताव पारित गर्ने तयारी भयो । त्यसपछि माओवादी सभासद्हरु आक्रोशित हुँदै रोस्टम घेराउ गर्न पुगे । कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्न रोस्ट्रममा जान लाग्दा माओवादी सभासद्हरु उनलाई रोक्न गए । मर्दायापालक र सभासद्हरुबीच धलेला–धकेल भयो । केही मर्यादापालक र केही सभासद् घाइते पनि भए ।
तत्कालीन माओवादीका सभासद्हरु जनार्दन शर्मा, अमनलाल मोदी, उमेश यावद लयागत उग्ररुपमा प्रस्तुत भएका थिए । ठूलो संख्यामा टेबल कुर्सीहरु तोडफोड भएका थिए।
उमेश यादवले कुर्सी पछारिरहेको भिडियो र फोटो निकै भाइरल बनेको थियो त्यति बेला । यस घटनापछि सभाध्यक्ष नेम्बाङले बैठक स्थगित गरेका थिए । संविधान सभामा भएको यस घटनाको निकै आलोचना भएको थियो ।
घटनाको छानबिन गर्न संसद् सचिवालयले महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
सोमबार प्रदेश ५ को प्रदेशसभामा भएको घटनाको पनि निन्दा भइरहेको छ । राजधानीको विषयमा भने प्रतिक्षका सबै सांसदहरु विरोधमा उत्रिएका छैनन् । दाङ क्षेत्रका कांग्रेस जसपा लगायतका विपक्षी सांसदहरुले निर्णयको स्वागत नै गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।