जनताका लागि के फाइदा हुन्छ र प्रदेश राजधानीबारे भइरहेको छ यो रडाको ?

प्रदेश ५ अहिले आन्दोलनमा उत्रिएको छ । प्रदेशको सडकमात्र होइन, अब संसदमा पनि तोडफोड सुरु भएको छ । 

प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशको सडक र संसदमा यतिबिघ्न ठूलो आन्दोलनले अहिले सामाजिक सन्जाललाई नतताउने कुरै भएन । 

सोमबार प्रदेश ५ को संसदमा जे भयो, त्यसको अहिले सर्वत्र आलोचना भइसकेको छ । 

तर, सरकारमा रहेको दलभित्र असन्तुष्टि हुँदाहुँदै, प्रतिपक्ष विपक्षमा हुँदाहुँदै किन कुनै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा यति ठूलो विवाद भइरहेको छ त ?

संसद र सडकमा देखिएको यो ‘रडाको’ के साँच्चिकै जनताका लागि पनि उपयुक्त हो ?

हामीले यही प्रश्न नेपाल कम्युनिस्ट पार्टीको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका राष्ट्रिय सभाका सदस्य तथा कानुनविद् रामनारायण बिडारीलाई राख्यौँ । 



उनले यसबारे आफ्नो दलको बचाउ गर्दै केही घुमाउरो पारामा जवाफ दिए । 

उनले भने, ‘आफैंले बनाएको संविधान कुल्चने निच अभ्यास हो यो, यस्तो हुनु हुँदैनथ्यो ।’



त्यसपछि उनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने विषयबारे संविधानमा प्रष्टसँग लेखिएको पनि उल्लेख गरे । ‘बहुमतको कदर गर्नुपर्छ भनेर पनि हामीले संविधानमा लेखेका छौँ,’ उनले भने, ‘तर, यस्तो अवस्थामा प्रक्रियामा नगई किन प्रदेश सभामा तोडफोड भयो, के यो ठिक हो ?’

उनले यो प्रश्न राखेसँगै आफैंले सम्झिए, हिजो प्रतिनिधिसभामा भएको यस्तै तोडफोडको घटना पनि । 

‘२०७१ साल माघमा संविधानसभामा पनि यस्तै भएको थियो, तर त्यति बेला सिस्टम बन्ने क्रममा थियो नि त,’ उनले भने, ‘अहिले सिस्टम बनिसकेको छ तर त्यसलाई हामी किन मिच्न खोजिरहेका छौँ ?’

त्यसपछि बल्ल उनी हाम्रो प्रश्नमा आइपुगे । अनि भने, ‘प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने कुरा भावानात्मक विषय मात्र हो । यसले आम जनताको काममा कुनै असर नै गर्दैन ।’

उनले थपे, ‘अहिले सबै कामहरु स्थानीय तहबाट नै हुने गरेका छन् । यस्तो समयमा प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन ।’

प्राध्यापक लोकराज बराल पनि यही कुरा मान्छन् । फरकधारसँगको कुराकानीमा उनले पनि प्रदेशको राजधानी कहाँ हुने भन्ने विषय भावानात्मक विषय भएको बताए ।

‘राजधानी कहाँ हुुन्छ भन्ने विषयले आम सर्वसाधरणको जीवनमा खासै अर्थ राख्दैन,’ उनले भने, ‘उही मेरो ठाउँमा भए हुन्थ्यो भन्ने मात्र हो, यो त भावानात्मक विषय मात्र हो ।’

तर, अहिले जनता मात्र होइन, प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेश तथा केन्द्रका नेताहरुले पनि आआफ्नो अभिव्यक्ति दिइरहेका छन् । 

आखिर किन ? 

‘यो त आगामि निर्वाचन जित्ने तिकडम मात्र हो,’ प्राध्यापक बरालले भने, ‘खासमा कुरो के हो भने राजधानी पायक पर्ने ठाउँमा हुनुपर्छ । तर, अहिले यसै यता र उता हुनुपर्छ भनिएको छ ।’

अनि प्रदेश ५ मा बुटवलमा नै राजधानी हुनुपर्छ भनेर तर्क गरिरहेकाहरुसँग बरालको प्रश्न छ– अब बुटवलमा राजधानी बनाउनु र २ घण्टा टाढा दाङमा बनाउँदा जनतालाई के प्रभाव पर्छ ?

 

प्रदेश ५ मा राजधानी कहाँ बनाउनेबारे भएकाे विवादबारे फरकधारले यसअघि गरेका स्टाेरी:

‘प्रदेश सभाको कुर्ची फोडेकोमा कुनै पश्चाताप छैन’

‘दाङ राजधानी भयो भनेर मैले प्रदेश सभामा कुर्सी उचालेको होइन’

प्रदेश ५ को प्रदेश सभामा देखिएको विद्रुप रुप

प्रदेश ५ राजधानी विवादः दिनभर बालुवाटारमा गर्मागर्मी बहस

तोडफोडका उस्तै दृश्य : त्यो संविधानसभा र यो प्रदेशसभा

बुटवलको बर्बरताः के विष्णु पौडेलले देलान् स्कुटी जलाइनुको जवाफ ? 

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २१:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया