‘बुटवल त प्रदेश ५ को राजधानी नहुँदा पनि राजधानी नै हो’

प्रदेश ५ को स्थायी राजधानी कहाँ बनाउने ? अहिले प्रदेश ५ मा मात्र होइन, देशभर यो विषयमा बहस र छलफल हुन थालेको छ । झन्, सोमबार प्रदेश सभामा जुन दृश्य देखियो, यसले यो मुद्दालाई पेचिलो बनाएको छ । 

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव पेश गरेको छ । प्रदेशसभामा यो विषयमा छलफल सुरु भएको छ । 

तर, यसअघि तोकिएको अस्थायी राजधानी बुटवल र त्यस क्षेत्रका सत्तारुढ दलकै सांसद, प्रतिपक्षी दल नेपाली कांग्रेसले यसको विरोध गरेका छन् । सडकमा पनि प्रदेश सरकारले गरेको सिफारिसको विरोधमा आवाजहरु उठ्न थालेका छन् । 

सोमबार प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले छलफलका लागि प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । २०७४ सालको निर्वाचनपश्चात् २०७४ साल माघ ३ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो । त्यसयता प्रदेशसभाले स्थायी राजधानी र नाम तोक्न सकेको थिएन । 

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश नम्बर ५ का इञ्चार्ज समेत रहेका शंकर पोख्रेलले दाङको देउखुरी उपत्यकालाई प्रदेशको राजधानी र लुम्बिनी नाम राख्ने प्रस्ताव अगाडी बढाएका थिए । गत शुक्रबार प्रदेश सरकारले निर्णय गरेपछि सरकारका तर्फबाट आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सोही दिन प्रदेशसभाको बैठकले उक्त प्रस्ताव पेश गरेका थिए । 

दाङ राजधानी लैजाने प्रस्ताव संसदमा पेश भएसँगै एक पक्षले त्यसको विरोधमा उत्रिएका छन् भने एक पक्षले त्यसको स्वागत गरेका छन् । खासगरी पाल्पा, रुपन्देही र कपिलवस्तुका नेकपाकै सांसदहरुले उक्त प्रस्तावको विरोध गरेका छन् भने बाँकी जिल्लाका सांसदहरुले उक्त प्रस्तावलाई उपयुक्त भन्दै समर्थन गरेका छन् । 



यही विषयमा हामीले दाङ क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभामा निर्वाचित सांसद रेवतीरमण शर्मा सँग कुराकानी गरेका छौँ ।  शर्माले प्रदेश संरचनालाई सफल पारेमा मात्र संघीयता सफल हुने बताए । उनले जनतालाई संघीयताको अनुभूति गराउन दाङ राजधानी उपयुक्त भएको बताए । प्रदेशको स्थायी राजधानी तोक्ने विषय लामो समयदेखि अड्किरहेको स्मरण गर्दै शर्माले विज्ञहरुको सुझाव, पार्टीको निर्देशन र प्रदेशका जनतासँगको परामर्शमा अहिले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने विषय अगाडि सारिएको बताए ।

प्रदेशसभाले प्रदेशको नामाकरण तथा स्थायी राजधानी तोक्ने सन्दर्भमा सांसदहरु सम्मिलित अध्ययन समिति र समाजशास्त्री, अर्थशास्त्री सम्मिलित विज्ञ समिति बनाएको थियो । दुवै समितिले विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएका थिए । समितिका प्रतिवेदन, पार्टी निर्णय सबै हिसाबले भौगोलिक हिसाबले पनि सबैलाई पायक पर्नेगरी राजधानी तोकिएको दाबी शर्माको छ ।



‘भौगोलिक हिसाबले पनि मध्यमागमा परोस । सबैलाई पायक पर्ने होस । बाँके र बर्दियाले बरु हामी कर्णाली प्रदेशमा मिसिन्छौ भनिरहेका बेला सबैलाई पायक पर्नेगरी दाङ राजधानी तोकिएको हो,’ उनले भने । 

बुटवल त्यसैपनि औद्योगिक, पर्यटकीय क्षेत्र, गौतमबुद्धको जन्मस्थान भएका कारण विकसित क्षेत्र भएकाले राजधानी नहुँदा पनि त्यस क्षेत्रको विकासमा कुनै असर नपर्ने उनी तर्क गर्छन् । 

‘बुटवल राजधानी नभएपनि कमजोर हुँदै हँुदैन । यो क्षेत्र पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र हो । बुटवल यसैपनि विकसित क्षेत्र हो । लुम्बिनीले बुटवलको मात्र विकास होइन समग्र प्रदेशको विकास गर्नुपर्छ । पूर्वाधारहरु सबै बुटवलमा त छन्,’ शर्माले भने, ‘बुटवल त राजधानी नहुँदा पनि राजधानी नै हो ।’

सन्तुलित विकासको अवधारणा अनुसार नै दाङ राजधानी उपयुक्त हुने ठहर आफ्नो र पार्टीको रहेको पनि उनले बताए । 

‘अहिले प्रायः प्रदेशहरुले पुराना शहरहरुमा राजधानी राखेका छन् ।  पुराना शहरहरु त यसैपनि विकसित छँदै छन् । नयाँ शहर बन्यो भने त ५०÷१०० वर्षपछी पनि नयाँ शहर रहन्छ । राजधानी त यस्तो पो हो भन्ने बनाउन सकिन्छ,’ शर्माले भने, ‘लुम्बिनी प्रदेशको राजधानी सबैभन्दा राम्रो छ भनेर देशभर स्थापित गराउन पनि अहिले दाङमा राजधानी बनाउँदा राम्रो हुन्छ ।’

प्रदेशको स्थायी राजधानी तोक्दा सबैलाई पायक पर्नेगरी तत्कालिन लुम्बिनी र राप्तीको सिमानामा तोकिएको पनि उनको तर्क छ ।

प्रदेश ५ मा राजधानी कहाँ बनाउनेबारे भएकाे विवादबारे फरकधारले यसअघि गरेका स्टाेरी:

जनताका लागि के फाइदा हुन्छ र प्रदेश राजधानीबारे भइरहेको छ यो रडाको ?

‘प्रदेश सभाको कुर्ची फोडेकोमा कुनै पश्चाताप छैन’

‘दाङ राजधानी भयो भनेर मैले प्रदेश सभामा कुर्सी उचालेको होइन’

प्रदेश ५ को प्रदेश सभामा देखिएको विद्रुप रुप

प्रदेश ५ राजधानी विवादः दिनभर बालुवाटारमा गर्मागर्मी बहस

तोडफोडका उस्तै दृश्य : त्यो संविधानसभा र यो प्रदेशसभा

बुटवलको बर्बरताः के विष्णु पौडेलले देलान् स्कुटी जलाइनुको जवाफ ? 

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २१:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया