यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाई हङकङ उडानमा रोक

हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई सातासम्मका लागि उडान भर्न प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्समार्फत हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण देखिएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको बताइएको छ ।

नेपाल एयरलाइन्सको उडानलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको हो । हङकङमा सोमबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीमध्ये चार जना स्थानीय र ६ जना नेपालबाट गएका सहित सातजना विदेशी थिए ।

नेपाल सरकारले नेपालबाट बाहिरिँदा र भित्रिँदा अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको भए पनि हङकङ गएका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाली विमानमा कोरोना संक्रमित भएको भन्दै हङकङले नेपाल एयरलाइन्समाथि कारबाही गरेको हो । नेपालबाट हङकङ पुगेका संक्रमित चार जना महिला र दुईजना पुरुष रहेका छन् । 

उनीहरू सबै अक्टोबर ३ का दिन नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए४०९९’ मा हङकङ गएका थिए । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानले नेपाल एयरलाइन्सले लापरबाही गरेका कारण ‘५९९ एच प्रिभेन्सन् एण्ड कन्ट्रोल अफ डिजिज् रेगुलेसन’ अन्तर्गत कारबाही गरिएको जनाएका समाचारमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १७:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया