अनिश्चित बन्दै मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रीमा विष्णु पौडेल पक्का
फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित बन्दै गएको छ । सत्तारुढ नेकपाको २६ भदौमा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने म्याण्डेड सरकारलाई दिएको थियो । 

सोहीअनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड केही हप्तायता मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा छलफलमा छन् । तर, यस विषयमा अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । 

मंगलबार नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको थियो । तर, उक्त बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुनै कुरा नै भएन । 

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् कहिले पुनर्गठन हुन्छ भनेर बैठकलाई प्रधानमन्त्रीले कुनै जानकारी नगराएको बताए । ‘बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै उठेन,’ बैठकपछि उनले भनेका थिए, ‘त्यसबारे बैठकमा कुनै छलफल भएन । कहिले पुनर्गठन हुन्छ भनेर बैठकलाई कुनै जानकारी पनि दिइएन ।’

पार्टी स्थायी कमिटी बैठकको निर्णय मन्त्रिपरिषद् पुनर्गठन भएको र यसअघि बसेको ६८औँ सचिवालय बैठकमा केही नीतिगत र सैद्धान्तिक छलफल भए पनि मंगलबार बसेको बैठकमा कुनै छलफल नभएको प्रवक्ताले बताएका थिए । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच यस विषयमा सहमति जुट्न नसकेका कारण मन्त्रिपरिषद् पुनर्गठन अन्यौल बन्दै गएको छ । त्यसैकारण मंगलबार पनि यस विषयमा छलफल हुन सकेन । 



गत असोज ४ र ६ गते बसेको नेकपा सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, सरकारले गर्ने संवैधानिक तथा राजनैतिक नियुक्ति एवं पार्टी एकताको बाँकी कामबारे टुंगो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । 

ओली–प्रचण्डबीच यसबीचमा विभिन्न चरणमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन । ओली–प्रचण्डबीच नै सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठन अन्यौल बन्दै गएको नेकपाका एक नेता बताउँछन् । ‘अब यो विषयमा दुई अध्यक्षबीच नै सहमति हुन सकेको छैन,’ उनी भन्छन्,  ‘त्यसकारण ढिलो भइरहेको छ । सहमति भयो भने तत्कालै पनि हुन सक्छ ।’



कोभिड संक्रमण तिब्र रुपमा फैलदो क्रममा छ । संक्रमणकै बीचमा नेपलीहरुको मुख्य चाडबाड पनि नजिकिँदै छ । यस्तो अवस्थाका कारण सरकारले गर्ने मन्त्रिपरिषद् दसैँंपछि जान पनि सक्ने नेकपाका एक केन्द्रीय सदस्यले बताए । ‘अहिलेसम्म सहमति जुट्न सकेको छैन । मुख्यरुपमा कसरी पुनर्गठन गर्ने ? रिक्त ठाउँमा नयाँ ल्याउने वा केही मन्त्रालय फुटाएर त्यसमा मन्त्री थप्ने कि पुरै मन्त्री फेर्ने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन,’ ती सदस्यले भने, ‘हुन त नयाँ ल्याएर पनि के नै हुन्छ र । नयाँले गर्ने पनि के नै नयाँ हो र । काम गर्ने मन्त्रीले गरे कै छन् ।’

प्रधानमन्त्री केपी ओलीले तीन मन्त्री अहिले र अरु मन्त्री दसैँपछि पुनर्गठन गर्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार ओलीले यस विषयमा पार्टीका कार्यकारी अध्यक्षसँग पनि सहमति गरिसकेका छन् । उपाध्यक्ष वामदेव गौतमको सर्वोच्च अदालतमा मुद्दा हेर्दाहेदैंमा रहेको र त्यही बेला अदालतमा मुद्दा हेर्ने न्यायधीशलाई नै कोभिडको संक्रमण देखा परेपछि मुद्दा केहीपछि धकेलिने भएको छ ।

विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का

मन्त्रिपरिषद् पुनर्गठन कसरी गर्ने भन्ने सन्दर्भमा ओली–प्रचण्डबीच सहमति जुट्न सकेको छैन । तर, प्रधानमन्त्री ओलीले मापदण्ड टुंगिनसकेका कारण हालका लागि रिक्त तीन मन्त्रालयमा भने मन्त्री नियुक्त गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ । 
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनका बाँकी काम दसैँपछि गर्ने गरी रिक्त तनि मन्त्रालयमा भने तत्काल मन्त्री नियुक्त गरिहाल्ने तयारीमा छन् । यस विषयमा दुई अध्यक्षबीच करिब सहमतिसमेत भइसकेको बालुवाटार स्रोतले बतायो । 

अहिले अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय रिक्त छ । सोही मन्त्रालयमा मन्त्री थप्ने तयारी छ, जसमध्ये नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का छ । 

बाँकी दुई मन्त्रालयमा भने प्रधानमन्त्री ओलीले जर्नादन शर्मा र सुरेन्द्र पाण्डेलाई लान खोजेका छन् । पाण्डेले भने सहरीमा नजाने अर्थ पाएमा मात्र जाने अडान लिइसकेका छन् । अन्तिमसम्म पाण्डेले यही अडान लिइरहेका प्रधानमन्त्रीले सहरी विकासमा प्रभु शाहलाई लैजाने सम्भावना देखिएको स्रोतको भनाइ छ । सञ्चार मन्त्रालयमा भने ओलीले आफ्नो समूहका विश्वास पात्रलाई दिन सक्ने सम्भावना छ । यद्यपि, सञ्चारमा नेता जनार्दन शर्माको पनि चर्चा छ । 

दसैँपछि मन्त्रालय टुक्र्याउने, केही मन्त्रीलाई फिर्ता बोलाउने अनि मन्त्रिपरिषद् पुनर्गठनको सन्देश दिने ओली–प्रचण्डबीच सहमति भएको उच्च स्रोतको भनाइ छ । 

पार्टीको सांगठनिक एकता पनि अन्यौलमै

​तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता भएको २८ महिना पुगेको छ । दुई पार्टी एकता भएर नेकपा बनेको लामो समय भइसक्दा पनि पूववर्ती पार्टीका संरचनाबीच सांगठनिक रुपमा पूर्ण एकता हुन सकेको छैन । 

पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपा सचिवालयले दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । तर, यस विषयमा मंगलबार बसेको सचिवालयले कुनै टुंगो लगाउन सकेन । 

बैठकमा छलफल मात्रै भएको नेकपा सचिवालयका एक नेताले बताए । ‘बैठकमा छलफल मात्र भयो,’ उनले भने, कुनै पनि विषयमा निर्णय भएन ।’ 

यसअघि नै तय भएका विषयमा सामान्य छलफल मात्र भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘यसअघि नै तय भएका कतिपय विषयहरूमा सामान्य छलफल भयो । छिट्टै ती एजेन्डामा निष्कर्ष निकाल्ने गरी अध्यक्षद्वय ओली र प्रचण्डले बैठक बोलाउनु हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । 

गत असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र साङ्गठनिक एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । 

  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १५:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया