नेपालमा नेगेटिभ, हङकङमा पोजेटिभ, स्टार हस्पिटलको पिसिआर परीक्षणमा शंका
फाइल तस्बिर

हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्समा गएका यात्रुमा कोरोना देखिएका कारण उडानमै प्रतिबन्ध लगाएको छ । यसले नेपाली प्रयोगशालाको विश्वसनीयतामाथि अन्तराष्ट्रिय रुपमै आशंका उत्पन्न भएको छ । कोरोना भाइरस परीक्षण गरेको करिब ८० घण्टाकै अवधिमा कोरोनाको नतिजा उल्टो देखिएपछि नेपाली प्रयोगशालाको विश्वनीयतामा थप प्रश्नचिह्न खडा भएको हो । 

गत सोमबार मात्रै नेपाल एयरलाइन्समार्फत हङकङ गएका ६ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ देखिएको नेपाल वायु सेवा निगमले जनाएको छ । तर, त्यसको करिब साढे चार घण्टामा हङकङको एयरपोर्ट पुगेर परीक्षण गर्दा उनीहरुमा कोरोना ‘पोजेटिभ’ देखिएपछि हङकङले उडानमै प्रतिबन्ध लगाएको हो । 

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका क्रममा बढीमा ७२ घण्टाअघिको कोरोना भाइरस परीक्षण रिपोर्ट मात्रै लिने गरेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

नेपालबाट हङकङका लागि उडेको विमानले साढे ४ घण्टा समय लगाउने गर्छ । यसरी ७२ घण्टा र साढे चार घण्टा गरी साढे ७६ घण्टामै लिएको स्वाब परीक्षणको नतिजा उल्टो देखिएपछि विज्ञहरुले नेपाली प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित यो घटनाले नेपाली प्रयोगशालाको बदमासी सरासर देखिएको बताउँछन् । फरकधारसँग कुरा गर्दै उनले भने, ‘यो सरासर प्रयोगशालाको गल्ती हो । कुनै हालतमा ८० घण्टा नपुग्दै कोरोना भाइरसले रुप फेर्दैन । म दावाका साथ भन्छु ।’

सुरुदेखि नै नेपाली प्रयोगशाला र परीक्षणको तरिकामा प्रश्न उठाउँदै आएका डा. दीक्षितले यो घटनाले नेपाली प्रयोगशालामाथि अन्तर्राष्ट्रिय रुपमै प्रश्न उठेको बताए ।



‘मैले पहिलादेखि यहाँका प्रयोगशाला टेष्टिङमा समस्या देखेको हुँ । यस्ता प्रमाण थुप्रै छन् । तर, यसपालि अन्तर्राष्ट्रिय रुपमै प्रश्न उठ्ने भयो ।’ उनले भने, ‘हाम्रोमा कतिपय स्वास्थ्यकर्मीले तालिम अभावमा स्वाब लिँदै गल्ती गर्छन् । त्यसपछि टेष्ट किटमा गल्ती हुन सक्छ । अर्को महत्वपूर्ण कुरा प्राइभेट प्रयोगशालाले पैसा कमाउनका लागि जानाजान बदमासी गरिरहेका छन् ।’ 

अन्तर्राष्ट्रिय उडानका क्रममा कहाँ गरिन्छ परीक्षण ?



सरकारले अहिले नेपालभर ५० वटा प्रयोगशालालाई कोरोना परीक्षणका लागि पिसिआर टेष्ट गर्ने अनुमति दिएको छ । त्यसमध्ये ३५ वटा सरकारी प्रयोगशाला छन् भने १५ वटा निजी प्रयोगशाला छन् । यी प्रयोगशालामध्ये २६ वटा जति काठमाडौं उपत्यकामै छन् । 

अन्तर्राष्ट्रिय उडानका क्रममा अधिकांशले काठमाडौंमै कोरोना परीक्षण गराउने गर्छन् । नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएका कारण पनि अधिकांश यात्रु काठमाडौंमै परीक्षण गराउन बाध्य छन् ।

कोरोना परीक्षणको रिपोर्ट एकै दिनमा दिने भनिए पनि सरकारी अस्पतालका प्रयोगशालाले गर्ने ढिलासुस्तीका कारण हतारमा रहेका यात्रु निजी प्रयोगशालामै परीक्षण गराउने थप बाध्यतामा छन् ।

यसमा पनि नेपाल एयरलाइन्सले अघोषित रुपमा केही निजी प्रयोगशालाको रिपोर्ट नै मान्ने हुँदा त्यही मात्रै गराउन बाध्य हुने गरेको स्रोतले दाबी गरेको छ । 

कोरोना भाइरस नियन्त्रणमा निकै सक्रिय एक चिकित्सकले भने, ‘अहिले एनएले काठमाडौंको स्टार हस्पिटलको प्रयोगशालामा गरेको रिपोर्टलाई मात्रै मान्यता दिने गरेको छ । यसको देखाउने प्रमाण त मसँग छैन । तर, अघोषित रुपमा स्टारमा परीक्षण गरेर आउनुस् भनेर पठाउने गरेको यात्रुको गुनासो छ ।’ 

यो विषयमा स्टार हस्पिटल सानेपाका निर्देशक गोविन्द अकेला भन्छन्, ‘को कहाँ जाने कुरा हामीलाई थाहा हुँदैन । एयरलाइन्सका कर्मचारीले हामीकहाँ मात्रै पठाउने कुरा पनि थाहा छैन । हामीकहाँ आएका सेवाग्राहीको परीक्षण गरेर पठाउँछौँ, कुरा यत्ति हो ।’ 

यस विषयमा नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्कासँग फरकधारको जिज्ञासामा उनले सरकारले अनुमति दिएका सबै प्रयोगशालाको रिपोर्ट मान्य हुने बताइन् । उनले भनिन्, ‘उडानको समयसम्ममा ७२ घण्टाको रिपोर्ट ल्याएमा नेपाल सरकारले अनुमति दिएका सबै प्रयोगशालाको रिपोर्ट मान्य हुने गर्छ ।’

यसअघि सोमबार मात्रै नेपाल एयरलाइन्सको उडानबाट गएका ५ जना नेपालीसहित ६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएपछि हङकङ सरकारले अक्टोबर ४ देखि १७ सम्म का लागि उडानमा प्रतिबन्ध लगाएको थियो ।

नेपालबाट हङकङ पुगेका संक्रमित चारजना महिला र दुईजना पुरुष छन् । उनीहरु अक्टोबर ३ का दिन नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए४०९९’मार्फत हङकङ गएका थिए । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेबल डिजिज ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानले नेपाल एयरलाइन्सले लापरबाही गरेका कारण उसलाई ‘५९९ एच प्रिभेन्सन एण्ड कन्ट्रोल अफ डिजिज रेगुलेसन’अन्तर्गत कारबाही गरिएको जनाएको समाचारमा उल्लेख छ ।

  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १८:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया