जसपा गठनका ६ महिनाः एक पटक मात्रै बैठक, आलटालमा रोकियो समायोजन
जसपा घाेषणा १० वैशाखकाे मध्यरातमा भएकाे थियाे । फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा पार्टी फुट्न सजिलो हुनेगरि अध्यादेश ल्याएका हुँदनथे भने सम्भवतः अहिले नेपालको सबैभन्दा कान्छो पार्टी जनता समाजवादी पार्टी (जसपा) अस्तित्वमा नै हुँदैनथ्यो ।

पहिले आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी फुटाउन यो अध्यादेश ल्याएको आरोप लागेपछि प्रधानमन्त्री ओलीले त्यति बेला राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी फुटाउन यो अध्यादेश ल्याएको नेकपा सचिवालय सदस्यहरुलाई स्पष्टिकरण दिए । तर, ओलीको चाहनाअनुसार राजपा र सपा फुटेनन्, उल्टै एक भए । 

१० वैशाखको मध्यरातमा सपा र राजपा एक भएर नेपालमा नयाँ दल बन्यो– जसपा । 

अब यो दल बनेको ६ महिनाभन्दा बढी भइसकेको छ । तर, त्यति बेला नफुटोस् भनेर दुई दल एक भएपछि बनेको यो दलको न बैठक बस्न सकेको छ, न सांगठनिक निर्माणमा ठोस प्रगति हुन सकेको छ ।

त्यति बेला थप फुटबाट मधेश केन्द्रित दल कमजोर नबनुन् भन्ने हेतुले बनेको जसपाले ६ महिनासम्म केन्द्रीय समिति बैठक त परको कुरा समिति नै गठन गर्न पनि सकेको छैन । मंसिर मसान्तसम्म पार्टी समायोजनको पूर्ण काम सक्ने लक्ष्य लिए पनि यो दलले अहिलेसम्म समायोजनको प्रक्रिया सुरु गरेको छैन । बरु उल्टै पार्टीभित्र दुईदेखि तीन गुटमा नेताहरु एकआपसका पदको बार्गेनिङमा लिप्त भएका छन् ।

जसपाका केही नेताहरु केन्द्रीय समिति गठन गर्न छलफल गर्नु पर्ने भए पनि शीर्ष नेताहरु आफ्नो भागवण्डा र पदको विषयमा ठोस निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो समय गुनासो गर्न थालेका छन् । 



‘तत्कालीन समाजवादी पार्टीमा खासै समस्या अब देखिएको छैन,’ जसपाका एक नेताले भने, ‘तर, राजपाका ६ नेताहरुबीच अहिलेसम्म पनि भागवण्डाको विषयमा कुराकानी मिलेको छैन ।’

अर्कोतिर, जसपा नेतामा पहिलो नम्बरमा रहेका महन्थ ठाकुर पछिल्ला केही दिन अस्वस्थ बनेका छन् । मुटुमा राखिएको ‘पेसमेकर’ परिवर्तन गर्न उनी अहिले आराम गरिरहेका छन् ।



‘राजपाका नेताहरुको भागवण्डा नमिल्दा यो काम अगाडि बढेको छैन,’ जसपा नेता मनिष सुमन बताउँछन् ।

‘ठाकुरजी बिरामी भएकाले काम द्रुत गतिमा अगाडि बढ्न नसकेको हो,’ जसपाका अर्का नेता राजेन्द्र महतोले फरकधारलाई बताए, ‘उहाँको स्वास्थ्य ठिक भएपछि केन्द्रीय समिति तत्काल बनिहाल्छ ।’

जसपाको ७५१ केन्द्रीय समितिमा ३२५ जनालाई केन्द्रीय सदस्यमा तत्कालीन राजपाबाट नाम पठाउने तयारी छ । यसैलाई आधार मानेर केही तलमाथि गरेर अगाडि बढ्ने तयारीमा जसपा अध्यक्ष ठाकुर रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार तत्कालीन तमलोपा÷सदभावना ९५÷९५ केन्द्र्रीय सदस्य लिएर सहमति गर्ने तयारीमा छन् । 

यसैगरी महेन्द्र राय र शरदसिंह भण्डारीलाई ४४÷४४ र अनिल झा र राजकिशोर यादवलाई ३०÷३० दिने तयारी छ । तर यसमा अनिल झा र राजकिशोर यादवको विमती छ । झाले ४४ र यादवले ४४ जनाको माग गरिरहेकोले भागबण्डमा सहमति जुट्न नसकेको जसपाका एक नेताले बताए । 

यसरी केन्द्रीय समिति बन्न नै ढिलाइ हुँदा पार्टीका कामकारवाही सबै ढिलासुस्ती भएको जसपा नेता सुमनको तर्क छ । ‘अहिलेसम्म न त राजनीतिक समिति बनेको छ, न केन्द्रीय समिति नै,’ उनले भने, ‘यो तत्काल बन्नुपर्छ ।’

राजनीतिक समिति र केन्द्रीय समिति गठन नहुँदा पार्टीका सबै गतिविधि ठप्प भएको जसपाका पर्सा अध्यक्ष रामनरेश यादव बताउँछन् । उनका अनुसार दैनिक कार्य सम्पादनदेखि लिएर पार्टीका सबै गतिविधिमा असर परेको छ । 

केन्द्रीय समिति ७ सय १ सदस्यीय र राजनीतिक समिति १ सय ५१ सदस्यीय र केन्द्री कार्यकारिणी समितिमा ५३ जना रहने व्यवस्था यसअघि जसपाले बनाइसकेको छ । तर, यसमा कुनै ठोस काम हुन सकेको छैन ।

पार्टी एक भएको ६ महिनामा अहिलेसम्म जसपाले एक पटकमात्रै केन्द्रीय समितिको बैठक गरेको छ । यसैगरी यो बीचमा समायोजन निर्देशिका तयार गरेको छ । जसअनुरुप अहिलेसम्म ३ वटा जिल्लामा मात्रै समायोजनको काम फत्ते भएको जसपा नेता सुमनको दाबी छ । यसको अलावा अन्य जिल्लाको हकमा भने अहिलेसम्म खासै प्रगती नभएको उनको धारणा छ । 

तत्कालीन राजपाको अध्यक्ष मण्डल संयोजक रहिसकेका नेता राजेन्द्र महतोले चाँडै केन्द्रीय समिति गठन हुने बताए । ‘होमवर्क हुँदैछ,’ उनले भने, ‘सम्भवतः दशैं अगाडि नै संगठनहरु गठन हुनेछन् ।’

  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १८:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया