किन बढिरहेछ लुम्बिनी प्रदेशमा कोरोना ?

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । संक्रमणसँगै मृत्युदर पनि बढेको छ । संक्रमितको उपचारका लागि सरकारले विशेष अस्पतालहरू समेत स्थापना गरी सञ्चालनमा ल्याएको छ । तर, न संक्रमित घटेका छन् । न मृत्युदर रोकिएको छ । दिनैपिच्छे संक्रमति थपिरहेका छन् । कोरोनाका कारण लुम्बिनी प्रदेशमा मात्रै हालसम्म ८४ जनाले ज्यान गुमाइसकेका छन् । २ हजार ५३१ जना उपचारमा छन् । भने बुधबार मात्रै लुम्बिनी प्रदेशमा १९१ जना नयाँ संक्रमित थपिएका छन् । 

परीक्षण दायरा र स्वास्थ्य सुरक्षा असावधानीले संक्रमितको दर बढ्दै गइरहेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद गिरीले भने, ‘कोरोना संक्रमण मन्द गतिमा बढिरहेको छ । जसको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक योजना र बजेट व्यवस्थापन गरी काम गरिरहेको छ ।’ 

लुम्बिनी प्रदेशका तीन जिल्लामा कोरोना उपचारका लागि सरकारले २३० बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा सय, बुटवल धाँगो कारखानामा ५० र भीम अस्पताल रुपन्देहीमा ३० र क्यान्सर अस्पताल बाँकेमा ५० बेड रहेका छन् । 

लुम्बिनी प्रदेशमा हालसम्म १३ हजार ९९९ जनाको कोरोना संक्रमणको परीक्षणका लागि नमुना  संकलन गरिएको छ । जसमध्ये १३ हजार ५१३ जनाको परीक्षण गरिएकोमा १२ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भेटिएकामध्ये ९ हजार ३३१ जना निको भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ । २०७६ चैत १२ गतेदेखि प्रदेशको तीन जिल्लामा उपचार थालनी गरे  विशेष सेवाका रूपमा प्रदेश सरकारले विशेष अस्पताल सञ्चालनमा ल्याएको निर्देशक डा. गिरीले बताए ।

तराईमा महामारी

लुम्बिनी प्रदेशमा १२ जिल्लामा रहेका छन् । जसमध्ये रुकुम पूर्व हिमाली जिल्लाका रूपमा चिनिन्छ भने पाल्पा, अर्घाखाँची, रोल्पा, गुल्मी प्यूठान पहाडी जिल्ला हुुन् । हिमाली र पहाडी जिल्लामा संक्रमणको दर त्यति फस्टाउन सकेको छैन । प्रदेशको तराईका पाँच जिल्ला संक्रमितको दर बढ्दै गइरहेको छ । किनबेच, सरकारी कामकाज, रोजीरोटी लगायतका थुप्रै काम पहाडमा भन्दा तराईमा धेरै हुुने सर्वसाधारणहरूको भीड पनि अन्य जिल्लामा भन्दा प्रदेशका पाँच जिल्लामा बढी हुुने भएकाले पनि संक्रमणको संख्या बढी देखिएको निर्देशक डा. गिरीले बताए । उनले भने, ‘हावापानी र भीडभाडले पनि संक्रमण फैलिने रहेछ ।



कोरोना चपेटामा समुदाय

‘समुदाय स्तरमा गई जाँच गर्न व्यवस्था अहिले सरकारले हटाइसकेको छ । स्वइच्छाले कसैले गर्न चाहेमा परीक्षण गरिन्छ । तर, लक्षणबिनाको कोरोना संक्रमण दर बढेको छ । जसले समुदायलाई चपेटामा परेको छ । कोरोना महामारीका रुपमा समुदायमा भित्रभित्र फैलिरहेको छ ।’ जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले भने, ‘कोरोना भुसको आगो जस्तै समुदायमा फैलिरहेको छ भित्र, भित्रै ।’ सबै क्षेत्र खुला हुनु, स्वास्थ्य सुरक्षा र सचेतनाको अभाव, सरकारको योजना र कार्यान्वयनमा फेरबदल लगायतका कारणले कोरोना महामारी समुदायस्तर तिव्र रूपमा फैलिरहेको उनको भनाइ छ ।



  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १४:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया