दसैँकाे मुखमा मुग्लान : छोराछोरीको पालनपोषणभन्दा ठूलो चाडपर्व होइन, ज्यान रहे चाडपर्व कहाँ जालान् र !
भारत जान गौरीफन्टा नाकामा लामबद्ध नेपाली । तस्बिर : कैलाश जोशी ।

नेपालीकाे महान् पर्व दसैँको घटस्थापना आउन ९ दिन बाँकी छ । विगतका वर्षमा यतिबेला दसैँको माहोल तातिसकेको हुन्थ्यो । तर, यस वर्ष मलमासका कारण दसैँपछि धकेलिएपछि सुदूरपश्चिम सुनसान छ ।

विगत वर्षमा दसैँ आउन एक महिना अघिदेखि नै नेपाल–भारत नाकामा घर फर्किनेको लर्को लाग्थ्यो । तर, यसपटक परिस्थिति ठीक उल्टो भएको छ । यतिबेला भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जानेको संख्या बढी छ ।

कोरोना महामारीको संक्रमण फैलिरहेका वेला गत वैशाख– जेठमा घर आएका सुदूरपश्चिम तथा कर्णाली प्रदेशवासी भारत रोजगारीका लागि भारततर्फ गइरहेका हुन् ।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक एक हजारभन्दा बढी नेपाली भारत पस्ने गरेका छन् । ‘विगत वर्षमा यो समयमा सीमानाकामा दसैँ  मनाउन घर आउनेको लर्को देख्न पाइन्थ्यो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘तर, यस वर्ष मजदुरीका लागि भारत जाने क्रम अहिले पनि हरेक दिन उत्तिकै छ ।’ भारत सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए । कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि सुरु भएको हो । लामो समयको घर बसाइले आर्थिक चाप बढ्दै गएको, तर गाउँमा रोजगारी नपाउने अवस्थाका कारण उनीहरु चाडपर्वकै मुखमा बिदेसिन बाध्य भएका हुन् । लालाबालासहित भारतको पन्जाब जाँदै गरेका बाजुरा खप्तड छेडेदह गाउँपालिका–१का रमी रोकाया चाडपर्वका वेला घर आउने समयमा आफूहरु बिदेसिन बाध्य भएको  बताए ।

‘छोरा–छोरीको पालनपोषणभन्दा ठूलो चाडपर्व होइनन्,’ उनले भने, ‘ज्यान रहे त पर्व र खुसीहरु कहाँ जालान् र !’ 



सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण समस्यामा परेका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारीका लागि आवदेन खुलाएको छ । तर, युवामा भारतप्रतिको आकर्षण कत्ति पनि घटेको छैन । 

गौरीफन्टा नाका हुँदै मजदुरीका लागि भारत जाँदै गरेका कञ्चनपुर लालझाँडी गाउँपालिकाका सुमन राना भन्छन्, ‘यो स्याउ टिप्ने मौसम हो, स्याउ टिपेर कमाएको पैसाले हाम्रो घर खर्च चल्छ ।’ लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउनै मुस्किल हुन थालेपछि भारत जान लागेको सुनाए ।



कञ्चनपुर बेलडाँडीका गोरखराम जोशी पनि नेपालमै जीविकोपार्जनको वातावरण नबनेका कारण आफू भारतको जम्मुकस्मिर जान लागेको बताउँछन् । 

‘तरकारी खेती थालेँ, लगातारको वर्षातले सखाप भयो । ब्रोइलर पालन गरियो, मूल्य प्रतिकिलो १५० रुपैयाँ झर्यो । सावाँ पनि फिर्ता आएन,’ उनी भन्छन्, ‘पहिले पनि इन्डियामै काम गर्थें, अब फेरि उतै जान लागेको छु । पोहोर साल दसैँ मनाएकै हो । यो साल यस्तै भयो ।’

विश्वभर कोरोना महामारीले आतंक मच्चाएको छ । कोरोना प्रभावित हुने देशमध्ये भारत दोस्रो स्थानमा छ । जहाँ, ६५ लाखभन्दा बढी संक्रमित छन् भने १ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लकडाउनका बेला भारतबाट फर्किएका नेपाली अहिले जोखिम मोलेरै पुनः रोजगारीका लागि फर्किन लागेका हुन् ।

लामो लकडाउनले बेरोजगार भएका उनीहरूलाई भारत जानबाट न त कोरोना महामारीको जोखिमले रोक्न सकेको छ, न त नजिकिँदै गरेको बडादसैँको माहोलले । उनीहरूका लागि अब एउटै र अन्तिम विकल्प हो, मुग्लान पुगेर घर खर्चको जोहो गर्नु ।

सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको सरकारी तथा गैरसरकारी संस्थाको दाबी छ । 

सुदूरपश्चिम प्रदेश सरकारले ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष ०७७–०७८मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अघि बढाएको छ । तर, नेपालको रोजगारी कार्यक्रमले भारत जानबाट उनीहरुलाई रोक्न सकेको देखिन्न । 

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १७:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया