साझा पार्टीले थप्यो ३७ केन्द्रीय सदस्य, समान उद्देश्य भएका अभियानसँग एकीकरण आह्वान

साझा पार्टीले ३७ जना केन्द्रीय सदस्य थप गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले यसबारे जानकारी दिएको छ । 

गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सदस्य थप गरिएको साझाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बिहीबार थपिएका सदस्यहरु अधिकांश युवा छन् । 

पछिल्लो पुनर्गठनले साझालाई जनतामाझ विश्वासिलो बनाउन सहयोग गर्ने विश्वास साझा पार्टीले लिएको छ । संयोजक रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। ‘यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरि नै विश्वासिलो विकल्पका रुपमा जनतामाझ जानेछ ।’ 

नयाँ थपिएका ३७ जनामध्ये १० जना सदस्य महिला छन् ।  तर, अझै अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिलालगायत विभिन्न समूहका सदस्यको अभाव महसुस गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

महिला तथा समावेशी नेतृत्वलाई व्यापक रुपमा प्रवद्र्धन गर्न साझा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी महिलालगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको हाम्रो अभियानमा संलग्न हुन हार्दिक आह्वान गर्दछाैँ ।’

साझा पार्टीले केन्द्रीय समिति पुनर्गठनसँगै विचार मिल्ने दल तथा समूहसँग एकताका लागि आह्वान गरेको छ ।  पार्टीलाई वैकल्पिक राजनीतिको गुरुत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानसँग एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेको साझाले जनाएको छ । 
 
देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र समृद्धि सुनिश्चित गर्न फरक धारबाट अघि बढेका पछिल्ला राजनीतिक प्रयत्नलाई एकीकृत गर्नुपर्ने साझा पार्टीको ठहर छ ।



‘नयाँ र वैकल्पिक राजनीतिक शक्तिको एकता आजको आवश्यकता हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसका लागि देश–विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरु, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुक सबैलाई एकजुट हुन हामी हार्दिक अनुरोध गर्दर्छौं ।’



  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १८:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया