प्रदेश २ मा मृतक र संक्रमित बढ्दै, जताततै लापरबाही

प्रदेश २ कोरोना भाइरसको सबभन्दा उच्च जोखिममा छ । यस प्रदेशमा कोरोनाले हालसम्म १४४ जनाको ज्यान गइसकेको छ । मृतकको संख्या थपिने क्रम रोकिएको छैन । 

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म यस प्रदेशका १३ हजार ९४३ जनामा कोरोना पुष्टि भइसकेको छ । यस प्रदेशमा मात्रै २ हजार ५२० संक्रिय संक्रमित केस रहेका छन् । संक्रमितमध्ये ७९७ जना आइसोलेसनमा उपचाररत छन् ।

यस प्रदेशमा हालसम्म १ लाख २५ हजार ५७८ जना कोरोनाका शंकास्पद व्यक्तिको स्वाब परीक्षण भएको छ । जसमध्ये १५ सय ८३ जनाको नतिजा मात्र आउन बाँकी छ । विगतमा १५ दिनसम्म रिपोर्ट आउन लाग्थ्यो । तर अब पर्सा, जनकपुर र राजविराजमा समेत परीक्षण भइरहेकाले रिपोर्ट दुई दिनभन्दा बढी लाग्ने गरेका छैन ।

संक्रमितमध्ये बुधबार दिउँसो ४ बजेसम्म ११ हजार २८० जना निको भइसकेका छन् । सप्तरीमा १ हजार ५९, सिरहामा ६३९, धनुषामा १४ सय ८९, महोत्तरीमा १ हजार ६८, सर्लाहीमा १८ सय ६, रौतहटमा १५ सय ४८, बारामा ११ सय ८६ र पर्सामा २४ सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लाको अवस्था कस्तो ?

प्रदेश २ का आठ जिल्लामध्ये सबभन्दा बढी प्रभावित पर्सा बनेको छ । यहाँ सबभन्दा बढीले ज्यान गुमाए । हालसम्म ४५ जनाको कोरोनाले ज्यान लियो । यहाँका २ हजार ६६१ जना कोरोना संक्रमित भए । जसमध्ये २ हजार ४७४ जना कोरोनामुक्त भइसकेका छन् । 



पर्सामा अहिले ५० जना आइसोलेसनमा छन् भने ९२ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पर्साका वीरगन्ज कोरोनाको ‘हट स्पट’ नै बनेको थियो । तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको चिकित्सकहरू बताउँछन् ।

यस प्रदेशमा कोरोनाले दोस्रो बढी प्रभावित भएको जिल्ला हो- धनुषा । यहाँ हालसम्म १८ जनाको कोरोनाले ज्यान लिइसकेको छ । हालसम्म १९ सय ९५ जना संक्रमित भए । जसमध्ये १४ सय ८९ जना कोरोनामुक्त भइसकेका छन् ।



अहिले धनुषाका १२ संक्रमित आइसोलेसनमा छन् भने ४६७ जना होम आइसोलेसनमा छन् । स्वाब संकलन भएकामध्ये ३२० जनाको नतिजा आउन बाँकी छ । स्रोतका अनुसार धनुषाका अधिकांश संक्रमित प्रशासनको सम्पर्कभन्दा बाहिर छन् ।

यस्तै सर्लाही र रौतहटमा संक्रमित बढी देखिए पनि मृत्यु हुनेको संख्या कम छ । सर्लाहीमा १ हजार ९२८ जना संक्रमित भए । तर ९ जनाको मात्र ज्यान गयो । रौतहटमा १ हजार ९३१ जनामा कोरोना पुष्टि भयो र ७ जनाको मात्र ज्यान गयो ।

रौतहट र सर्लाहीमा भन्दा सप्तरी, सिरहा, महोत्तरी र बारामा संक्रमित थोरै भए तर धेरै व्यक्तिले ज्यान गुमाएको देखिन्छ । सप्तरीमा १ हजार ३२७ जना संक्रमित भयो भने १७ जनाको ज्यान गयो । सिरहामा १ हजार ३१६ जना संक्रमित भए र १४ जनाको ज्यान गइसकेको छ ।

यस्तै महोत्तरीमा १ हजार ४४१ जना संक्रमित र १५ जनाको मृत्यु तथा बारामा ११ सय ८६ जना संक्रमित र १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । महोत्तरीमा आइसोलेसनमा ४ जना मात्र छन् भने होम आइसोलेसनमा ३५४ जना छन् । यस्तै बारामा १८ जना आइसोलेसनमा र १११ जना होम आइसोलेसनमा छन् ।

जताततै लापरबाही

काठमाडौंमा एक महिलामा कोरोना पुष्टि भएपछि सरकारले गत चैत ११ मा लकडाउनको घोषणा गरेको थियो । हाल स्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने सर्तमा लकडाउन खोलिसकेको छ । 

तर सरकारले बनाएको मापदण्ड कुनै क्षेत्रमा लागु भएको छैन । जसका कारण कोरोना संक्रमण झन झन बढ्दै गएको देखिन्छ । बिहीबार मात्रै नेपालमा अहिलेसम्मकै सबभन्दा बढी ३ हजार ४३९ संक्रमित भेटिए । देशभर संक्रिय संक्रमितको संख्या पनि २५ हजार नाघिसकेको छ ।

सरकारले जारी गरेको मापदण्ड हरेक क्षेत्रमा लागु नभएमा अवस्था भयावह हुने विज्ञहरू बताउँछन् । सम्बन्धित निकाय र जनता भने सचेत अझै हुन सकेका छैनन् । जिल्ला प्रशासनले मापदण्ड पालना गराउन मुख्य भूमिका खेल्नुपर्ने हो । तर, अधिकांश सिडिओ कार्यालयमा सेवा लिनेहरूको भीड हेर्दा लाग्छ– कोरोनाको अन्त्य भइसकेको छ ।

लामो दूरीका होस् या छोटो दूरीका सवारी, कुनै सवारीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । बजारमा सामाजिक दूरीको धज्जी उडाएको देखिन्छ । गाउँघरमा भीडभाड हुने सभा, सम्मेलन, समारोह, नाचगान रोकिएको छैन । 

नाका नामको लागि मात्र बन्द

प्रदेश २ का आठै जिल्ला भारतीय विहारसँग जोडिएको छ । भारत कोरोनाको उच्च जोखिममा रहेका कारण त्यहाँ आवत–जावत हुँदा कोरोनाले भयावह रुप लिन सक्छ । तर सीमा नाका नामका लागि मात्र बन्द छ ।

सीमा नाकामा आवत–जावत रोक्न सशस्त्र प्रहरी परिचालित छन् । तर, सशस्त्र प्रहरी पैदल यात्रीका लागि मौन देखिन्छ । नाकाबाट सवारी साधन भने आवत–जावत गर्न दिइएको छैन । धनुषाको कमला नगरपालिका ४ का सन्दीप यादव भन्छन्, ‘गाडी मात्र भारतीय बजार लैजान दिँदैन । मानिसहरूलाई पैदल भने निर्वाध रूपमा आवत–जावत गर्न दिन्छन् ।’

सीमानाका खुलेका कारण प्रदेश २ मा कोरोनाको संक्रमण बढ्ने जोखिम बढेको छ । अहिले नेपाली उपभोक्ताको भारतीय बजारमा दैनिक भीड लाग्ने गर्छन् । चाडपर्व नजिकिएका कारण पनि किनमेल गर्न भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको सर्वसाधारण बताउँछन् ।

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १८:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया