आपराधिक समूहको आडमा उपप्राध्यापकमाथि आक्रमण गरेको भन्दै प्राध्यापकहरुले गरे निन्दा

चार वरिष्ठ प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि असोज २१ गते भएको आक्रमणको निन्दा गरेका छन् । 

प्राध्यापकहरु केदारभक्त माथेमा, पिताम्बर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले शनिबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृसंगठनले आपराधिक व्यक्ति र समूहको आडमा उपप्राध्यापकमाथि आक्रमण गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

प्राज्ञिकतालगायत अन्य सबै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आबद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसम्मानमा घाउ लागेको उनीहरुको ठहर छ । 

प्राध्यापकहरुले जारी गरेको ध्यानाकर्षण 

हाम्रो ध्यानाकर्षण र मत

चार दिन पहिले, असोज २१, २०७७ मा केही उछृङ्खल व्यक्तिहरुले केन्द्रीय समाजशास्त्र विभागका उपप्राध्यापक श्री प्रेम चलाउनेमाथि दिनदहाडै, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडिको सडकमा बिहानै १० बजेको वरपर सांघातिक आक्रमण गरेको घटनाप्रति हाम्रो ध्यान गम्भीररुपले आकर्षित भएको छ । उपप्राध्यापक चलाउनेलाई बाँस र फलामे डण्डीले जिउभरी खास गरेर टाउको र गोडाको माथिल्लो भागमा निर्ममतापूर्वक हानिएको छ र नीजको जिउभरी नीलडाम एवं टाउकोभरी घाउहरु छन् । र उहाँको गोडा भाँचिएको छ । हाल उहाँको उपचार भैरहेको छ । अपरेसन सफल भएछ भने पनि, डाक्टरहरुले ६–८ महिना घरमै आराम गर्न सिफारिस गरेका छन् । हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीहरुलाई तुरुन्त पक्डिएर दण्ड–कारबाही गर्न सुझाउछौं, र यस घटनाका संचालकहरुप्रति घृणा व्यक्त गर्दछौं । साथै श्री चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस र उहाँको चाँडो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछौं ।



मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको हो । यो र अरु यस्तै अनेकन् विकृतिहरुको जिम्मेवारी लिए पनि वा यसबाट उम्के–भागे पनि यसको केन्द्रमा राजनीतिक दलहरु नै बसेका छन् । प्राज्ञिकतालगायत अन्य सबै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसम्मानमा घाउ लागेको छ र उन्नति रोकेको छ ।

राजनीतिक दलहरु यो मुलुकको नेतृत्वकर्ता हुन् । नेतृत्वले मुलुक र यसका नागरिकहरुलाई उत्कृष्टता हासिल गर्न प्रोत्साहित गर्नुपर्छ । तर यस्तो लाग्छ, मुलुकका सबैजसो राजनीतिक दलहरु, मुख्यतया आफ्ना भ्रातृसंगठनहरु मार्फत नागरिकहरुको व्यावसायिक उत्साहलाई गाँज्न र व्यक्ति र समूहरुबीच कलह रोप्न लागिपरेका छन् । त्रिवि, कीर्तिपुरलगायत मुलुकभरिका कार्यालय र संघसंस्थाहरुमा यो स्थिति प्रत्यक्ष अनुभुत हुन्छ ।



हामी राजनीतिक दलहरुलाई यो स्थिति उल्टयाउन निवेदन गर्दछौं । विश्वविद्यालय लगायत सबै कार्यालय र संघसंस्थाहरुमा दल र तिनका भ्रातृसंगठनहरुका गैरराजनीतिक र अपवित्र होडबाजी सदाको लागि अन्त्य होस् भन्ने चाहन्छौं । श्री प्रेम चलाउनेजस्तै अन्य शिक्षक, विद्यार्थी, श्रमिक आदी अब आइन्दा प्रताडित नहुन्, वरु उनीहरुको जोश जाँगर, सीप आदी प्रस्फुटित होओस् र उनिहरुले आ–आफना पेशा–व्यवसाय उत्कृष्ट रुपले संचालन गर्न सकुन् ।

हामी राजनीतिक दलहरुलाई राष्ट्रिय तहको गहन् आपसी छलफल मार्फत व्यापक र गहिरो दलीयकरणले निम्त्याएको विकराल राजनीतिक, शासकीय लगायत सुखशान्ति र उन्नतिसँग जोडिएको समस्याको हल निकाल्न गम्भीरतम् वजनका साथ आह्वान गर्दर्छौं ।

केदारभक्त माथेमा

पिताम्बर शर्मा

कृष्ण खनाल

चैतन्य मिश्र

 

  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया