कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ सांसदद्वारा अविश्वासको प्रस्ताव
बैठक बोलाएर छलफल गराउँछु : प्रमुख सचेतक शाह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन । 

नेकपाका १८ जना सांसदहरूले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सांसद यमलाल कँडेलसहितका १८ जना सांसदले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई हस्ताक्षर बुझाएका छन् । 

‘सरकारप्रति विश्वास छैन भनेर हाम्रै पार्टीका १८ जना सांसद साथीले मलाई अविश्वासको प्रस्ताव बुझाउनुभएको छ’, प्रमुख सचेतक शाहले भने, ‘निवेदन आएको छ । अब यसबारेमा म सांसद सदस्यहरूलाई बोलाएर छलफल गर्छु ।’

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए । 

हस्ताक्षर गर्नेहरूमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । नेकपा प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । 

नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगरले उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छन् । 



संविधान अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । 

कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सदस्य रहेका छन् । 



  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १५:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया