जानकी मेडिकल कलेजका कर्मचारी तलब माग्दै धर्नामा​

जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी तलब माग्दै धर्नामा बसेका छन् । ६ वर्षदेखि बाँकी रहेको सञ्चय कोष, दसैं खर्च, नियमित तलब भत्तालगायत माग राख्दै कर्मचारीहरू विगत १५ दिनदेखि कलेज परिसरमा धर्ना बसेका हुन् । पटक पटक तलब उपलब्ध गराउन भने पनि व्यवस्थापन पक्षले बेवास्ता गरेकाले बाध्य भएर धर्ना बस्नुपरेको कर्मचारी बताउँछन् । 

यसअघि भदौ १५ मा कर्मचारीले अस्पतालमा तालाबन्दीसमेत गरेका थिए । तलब नदिएसम्म ताला नखोल्ने अडान कर्मचारीले राखेपछि अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी कार्यालयमै कलेजका तर्फबाट प्रशासन प्रमुख दयानन्द गोइत र कर्मचारीबीच तीन बुँदे सम्झौता भएको थियो ।

सम्झौतामा असोज ४ गतेसम्म कर्मचारी र कलेज दुवै पक्षले लेखापाल राखेर हिसाब निकाल्ने, असोज १ गते तालाबन्दी खोल्ने र असोज ३० गतेसम्म कलेजका अध्यक्ष आएर कर्मचारीको समस्या समाधान गर्ने उल्लेख भए पनि पालना नभएको कर्मचारीको भनाइ छ ।

कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष उमेश यादब भन्छन्, ‘कलेज अध्यक्ष ओपी पाण्डे आएर कर्मचारीको समस्या समाधान गर्नु त परको कुरा हो । यतिसम्म कि सम्झौता अनुसार कर्मचारीको हरहिसाब समेत निकाल्न मानेनन् । अनी बाध्य भएर फेरि आन्दोलन गर्नुपरेको छ ।’

तलब माग्दा कारबाहीको धम्की

कर्मचारी हकहितका लागि आन्दोलनको नेतृत्व गर्दा एमएसडब्लु विभागका प्रमुखसमेत रहेका उमेश यादबललाई कारबाही गरेर जागिरबाट निकाल्ने अस्पताल प्रशासनले धम्की दिएको छ ।



उनलाई कलेज प्रशासन प्रमुख दयानन्द झाले आफूलाई पटकपटक कारबाही गर्ने धम्की दिन थालेका हुन् । प्रमुख झाले पछिल्लो समय उनलाई स्पष्टीकरण समेत सोधेका छन् । 

समस्या समाधान गर्न तीन बुँदे सम्झौतामा प्रमुख झाले नै हस्ताक्षर गरेका हुन् । तर, उनले आन्दोलन किन भइरहेको विषय नै थाहा नभए जस्तो गरेर स्पष्टीकरण सोधका छन् । 



तलब माग्दा आफूलाई हालसम्म तीन पटक स्पष्टीकरण पत्र थमाइसकेको पीडित कर्मचारी यादवले गुनासो गरे । ‘कर्मचारीको समस्या समाधान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्ने उहाँ नै हो,’ उनले भने, ‘आन्दोलन गरेर कलेजलाई समस्या किन पारेको भनेर प्रश्न सोधेछन्, यसबाट के बुझ्ने ?’

हरेक साल आन्दोलन

तलबको लफडा यो वर्ष मात्र भएको होइन । हरेक वर्ष तलबका लागि कर्मचारी आन्दोलन गर्नुपरेको इतिहास यो कलेजको छ । 

गत वर्ष करिब ३ महिनासम्म निरन्तर आन्दोलन गर्दा कर्मचारीले केही महिनाको तलब पाएका थिए । त्यसपछि कलेज सुचारु भयो । तर, अहिले त्यही समस्या दोहोरिएको छ ।

कलेजका अध्यक्ष ओपी पाण्डे यहाँ बस्दैनन् । उनी काठमाडौं बस्दा र कर्मचारीको पीडा नबुझ्दा पटकपटक समस्या सृजना हुने गरेको कर्मचारी बताउँछन् । पाण्डेले कलेजलाई कमाइ खाने भाँडो मात्र बनाएको कर्मचारीहरूको आरोप छ ।

पटकपटक आन्दोलन गर्दा विद्यार्थीसमेत समस्यामा पर्ने गरेका छन् । महिनौंसम्म विद्यार्थी पढ्न पाउँदैनन् । विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेकोमा कलेज व्यवस्थापन पक्ष जिम्मेवार रहेको संघर्ष समितिका अध्यक्ष यादवको भनाइ छ ।

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १४:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया