राम्राे सम्भावना भएर पनि १३औँ आइपिएलमा बेन्चमै सीमित पाँच खेलाडी

इन्डियन प्रिमियर लिग (आइपिएल)को तेह्रौँ संस्करण संयुक्त अरब इमिरेट्स (युएई)मा जारी छ । सेप्टेम्बर १९ देखि सुरु भएको लिग नोभेम्बर १० मा समाप्त हुनेछ । लिगको रोमाञ्चकता दिन–प्रतिदिन बढिरहँदा आइपिएलका अघिल्ला सिजनमा उत्कृष्ट प्रदर्शन गरेका तथा यो सिजन उच्च प्रदर्शन गर्ने सम्भावना बोकेका धेरै खेलाडीले मैदान उत्रिने मौका पाएका छैनन् । लिगको लगभग आधा खेल सकिँदासम्म उनीहरु बेन्चमै सीमित छन् । 
 
लिगका २७ खेल भइसक्दा अवसर नपाउने केही खेलाडी  

क्रिस गेल
युनिभर्सल बोसको नामले परिचित विस्फोटक ब्याट्सम्यान क्रिस गेलले यो सिजन खेल्ने अवसर पाएका छैनन् । 

पन्जाबले लगातार खराब प्रदर्शन गर्दा पनि गेल बेन्चमै सीमित छन् । खराब प्रदर्शन गरिरहेका अलराउन्डर ग्लेन म्याक्सबेललाई मौका दिइरहँदा पन्जाबले गेललाई भने विश्वास गरिरहेको छैन । लिगको अन्तिम स्थानमा रहेको पन्जाबले ७ खेलमा मात्र १ खेल जित्न सकेको छ । 

आइपिएलको नियमअनुसार एउटा टिमले एक खेलमा ४ भन्दा बढी विदेशी खेलाडीलाई खेलाउन नपाउने प्रावधान छ । पन्जाबले आफ्ना विदेशी खेलाडीमध्ये ग्लेन म्याक्सबेल, निकोलस पुरन, सोल्डन कोट्रेल, क्रिस जोर्डन, मुजिव उर रहमान र जेम्स निसमलाई मौका दिइसकेको छ । पन्जाबका विदेशी खेलाडीमा क्रिस गेल र हर्दुस भिलजोइनले मात्र मौका पाएका छैनन् ।

गेलले पन्जाबका लागि गत सिजन १३ खेलमा ४ अर्धशतक सहित ४९० रन प्रहार गरेका थिए । पन्जाबले आगामी खेलमा म्यासबेलको स्थानमा गेललाई मौका दिन सक्छ । 

क्रिस लिन
लिनले पनि गत वर्ष कोलकाता नाइटराइडर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सिजन मुम्बई इन्डियन्स पुगेका उनले बेन्चमा नै बस्नुपरेको छ । लिनले गत सिजन १३ खेलमा ४ अर्धशतकसहित ४०५ रन प्रहार गरेका थिए । 



मुम्बईले विदेशी कोटामा क्विनटन डी कक, ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन र काइरन पोलार्डलाई नियमित रुपमा खेलाइरहेको छ र उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेकाले अन्य खेलाडीलाई मौका दिने सम्भावना पनि कम छ । मुम्बई ७ खेलबाट ५ जित र २ हारको नतिजासहित अंक तालिकाको शीर्ष स्थानमा छ । 

इम्रान ताहिर
ताहिर गत सिजन सर्वाधिक विकेट लिने खेलाडी हुन् । तर, यो सिजन चेन्नईले खराब प्रदर्शलाई निरन्तरता दिइरहँदा पनि उनले मौका पाउन सकिरहेका छैनन् । चेन्नई ७ खेलमा २ जित र ५ हारको नतिजासहित अंक तालिकाको सातौँ स्थानमा छ । 



चेन्नईले यो सिजन विदेशी कोटामा सेन वाटसन, फाफ डुप्लेसिस, साम करन ड्वेन व्राभोलाई खेलाइरहेको छ । चेन्नईले आगामी खेलमा साम करनको स्थानमा ताहिरलाई खेलाउन सक्छ । ताहिरले गत सिजनमा १७ खेलबाट २६ विकेट हात पारेका थिए । 

पार्थिव पटेल
विकेटकिपर ब्याट्म्यान पटेलले गत सिजन रोयल च्यालेन्जर्स बैंग्लोरका लागि राम्रो प्रदर्शन गरेका थिए । ओपनिङमा आउने उनको स्थान यो सिजन युवा ब्याट्म्यान देवदत्त पडिक्कलले लिएका छन् । पडिक्कलले उत्कृष्ट प्रदर्शन गर्दै यो सिजन ३ अर्धशतकसहित २११ रन बनाएका छन् ।

पडिक्कलले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहँदा पटेलको टिममा पर्ने सम्भावना कम हुँदै गएको छ । उनले गत सिजन १४ खेलमा २ अर्धशतकसहित ३७३ रन प्रहार गरेका थिए । बैंग्लोर ६ खेलबाट ४ जित र २ हारको नतिजासहित अंकतालिकाको चौथो स्थानमा छ । 
 
सन्दीप लामिछाने 
हुन त नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अघिल्ला सिजनमा पनि धेरै खेल खेल्ने मौका पाएका थिएनन् । दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न युएई पुगेका सन्दीपले यसअघिका दुई सिजनमा मात्र ९ खेल खेल्ने अवसर पाएका थिए । सन्दीपले आफूले पाएको अवसरमा राम्रो प्रदर्शन गरेका छन् । उनले गत सिजन ६ खेल खेल्ने मौका पाउँदा ८ विकेट हात पारेका थिए । 

युएई पुग्नुअघि क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यो सिजनमा बढी मौका पाउने अनुमान गरिएको थियो । तर, दिल्लीले हालसम्म सन्दीपलाई मैदानमा उतारेको छैन । दिल्लीले विदेशी कोटामा मार्कस स्टोेनिस, कागिसो रावडा, एनरिच नोर्टजेलाई निरन्तर खेलाइरहँदा अबको केही खेलमा सिम्रन हेटमायरको स्थान विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले लिनेछन् ।
 
दिल्लीले विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएका कारण केरीलाई मौका दिएको हो । यी विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले सन्दीपले मौका पाउने सम्भावना निकै कम छ । यो सिजन उत्कृष्ट लयमा देखिएको दिल्ली ७ खेलबाट ५ जित र २ हारको नतिजासहित अंक तालिकाको दोस्रो स्थानमा छ । 

यीबाहेक मिचेल म्याकलेघन, नाथन कुल्टर नाइल, ओसेन थोमस, मिचेल सांटनर, टोम बेनटनलगायत विश्व क्रिकेटमा नाम चलेका खेलाडी पनि यो सिजनको आइपिएलमा मैदान उत्रिनबाट वञ्चित छन् । 

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १८:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया